दीपा मग्राती पछिल्लो समयमा पिँधमा पारिएका नागरिकको सरोकारको बिषयमा सचेत भएर कविता लेखीरहेकी एक शानदार कवि हुन् । उनका कविताहरुले जवरजस्त रुपमा अन्याय , अत्याचार , अनुराग र प्रेमको बिषयमा जिकिर गरिरहेका हुन्छन् ।प्रस्तुत छ साताको तीन कविता ।

देशमा मेरो अनुहार

मैले टेकेको यो माटो
मलाई सबैभन्दा प्रिय लाग्छ
बिहानीको लालिले छपक्कै छोपेको
हिमालहरुको सुन्दरता मेरै पेवा झैँ लाग्छ
चार कुने रुमाल जस्तै ।

मिलेको फुलबुट्टे देश त झन्
मैले फेर्ने सासभन्दा माथि लाग्छ ।
यो बेला देशसँगै सम्झन्छु आदिम पुर्खाहरु
उनीहरुको साहस
उनीहरुको विरता
आफ्नो माटोप्रति खाएको कसम
उनिहरुले भोगेको सास्ती
देशकै निम्ति भनेर बगाएको रगत
अनि यो देशकै माटोको निम्ति चढाएको बलिदान ।

सम्झनाका साँघुहरु
विर योद्वाहरुले चलाएको खोडा र तरबारसम्म पुग्छ
अंग्रेजहरुलाई पराजित पार्ने खुकुरीको गाथा
लडाइँ जानुअघि गोर्खाली बहादुरले भुइँमा बजार्ने छालाको बुटजुत्ता
उति खेरको सादा लडाकुको पोशाक
कन्त बिजोगसरी भए नी
जसै तसै यो देशले मुर्तरुप लियो
र नै इन्द्रेणी समाज निर्माण भयो
विम्ब र रिदमको सुन्दर संजोग झैं
जसलाई यो पुस्ताले बारम्बार पाठ गरिरहेका छौँ प्रेमले ।

हतियार भन्ने बित्तिकै नेपाल एकिकरणको निम्ति हिडेका
पृथ्वीनारायण साहसंगै
तरवार र ढालका निर्माताहरुलाई
सत्तासिन गणतन्त्र र उनका पुजारीले सम्झनुपर्दो हो
त्यो बेलाको कर्म गर्ने कामीहरु इतिहासमा दर्ज हुनुपर्ने हो
राजा महाराजाको महिमा गाउने गिताङ्गे गन्दर्वहरुलाई भुल्न नहुने हो

संयोग हो या त नियत
पाठशालाका पाठ्यक्रम भन्दा पर छ यी इतिहासहरु
र नै प्रत्येक व्यवस्थामा म खोजिरहेको छु यी अनुहार…..
कुन तगारोले छेकिएको छ?
भेट्दिन कुनै व्यवस्थाको चोक, गल्ली र भित्ताहरुमा
राष्ट्र निर्मातालाई-
चौक र गल्लीहरुमा यत्रतत्र भेटिँदा
उनकै दाहिने हात मानिएको बिसे नगर्चीको अनुहार
किन देखिदैन राज दरवार र संसद भवनहरुमा?
किन भुल्छ राष्ट्रिय विभूतिको पोष्डकार्डले रामशरण दर्नालले बजाएका बाजागाजाका धुनहरु।।।।?
खुकुरी नाचलाई वाहिनी पिञ्जडामा कोचेर
किन उफारिन्छ पाश्चात्य संस्कृतिलाई दशरथ रङ्गशालामा?

म सँग छन् अनगिन्ती प्रश्नका चाङहरु…..
आदिम हतियार खुकुरीलाई
मेसिन गनले भटट भुटेको छ
बालीघरे दमाईको हाते कल
काजी ,छोटे मालिकहरुले बरामद गरिदिएको छ
खाप्सियो र छालालाई प्लाष्टिकको जुत्ताले निलिदिएको छ।
यसरी मेरो आदिम अनुहारलाई कुरुप बनाउन तल्लीन छ टाठाबाठाहरु।।।
आफ्नो अनुहार मधुरिने डरले
सेते दमाईहरुको प्रेमलाई अपवित्र मानिन्छ
नवराज बि कको अनुहारलाई
खेदी खेदी भेरी खोलामा सेलाईन्छ
माया वि कको चोली झाडीमा सिउरेर
दानवी पञ्जाले छोपेर अनुहार गरिन्छ खुनी बलात्कार

उफ्…….
लाग्छ नि
पूर्व मेचीदेखि कालीसम्म भेटियोस् बिसे नगर्चीको अनुहार
गुन्जियोस् रामशरण दर्नालले भरेको धुन
पुरा होस् नवराज वि कहरुको प्रेमील सपना
गौरवशाली सेते दमाईहरुको शालिक बन्न नलागोस् आजसम्मका वर्षौँ दिनहरु…….

तर
कहाँ हुन्छ र त्यस्तो ?
बरु थुप्रिन्छ म माथि अनगिन्ती डरहरु
बा कतै बलात्कृत माया वि कको चोली झाडीमा अल्झे जस्तै
कतै।।।।।यो अनुहार पनि त्यतै कतै सेलाइने त होइन ?
मन एक तमास गर्छ मनसँग मनोवाद
यो देशमा आफ्नो अनुहार गर्वका साथ देखाउन
म कुन वर्ग या कुन खानदानमा जन्मिनुपर्छ ?
अनि के के प्रश्नले झस्काउँछ मलाई
कसरी देखिन्छ देशमा मेरो अनुहार ?
कुनै उपाय भए मर्जी होस् महासय…….?

पर्खाइ

फर्कनेहरू फर्किसके
मेलाबाट खेतालाहरू
चरनबाट चौपायाहरू
चारो खोज्न गएका चराहरू
रात खोज्न हिँडेका दिनहरू
तर –
उज्यालो खोज्दै आएकाहरू अँध्यारोमै फर्किए
जानेहरू पनि केही नलिई गए
र,
अझै पनि
पर्खदाँ– पर्खर्दै बूढो भएको रुख जस्तै छ मलाई तिम्रो पर्खाई।

हुरी

एकाइसौँ शताब्दीको यो गोलो चर्खामा पनि
मगजभरि डर, भय, त्राससँगै
शंङ्का, उपशंङ्काबीच
पिंजडामा कोचिएको चरा जस्तै
मनका अनगिन्ती पीडा र छ्टपटीलाई जबर्जस्ती थुनेर
रङ्गमन्चको अभिनयमा आकाशभन्दा फराकिलो
नदीभन्दा गहिरो प्रेमलाई अँगालेर
दुई मुट्ठी सास फेरिरहेकी छिन् माया वि ककी आमा ।

तर कहाँ भुल्न सक्छिन् ?
छोरी मायाको भित्री वस्त्रहरु बुट्यानमा अल्झिएको
अनि पर एकान्त कुनाको मधुरो आवाज
नाइँ , बचाओ उनको हृदयविदारक चित्कारहरु ।

नारी….
जसले विधुवा भनी माग्नु परेको छ
छोरो खाएको आरोप उनैले खप्नु परेको छ
आफू बाँच्नुको सबैभन्दा ठूलो दसी
आफ्नै सिन्दुर आफै पुछ्ने दुस्साहस कसको हुन्छ ?
जीवनको मीठो सङ्गीत सुसेल्ने हातको चुरा
झर्यामझुरुम फुटाईमाग्ने रहर कसको हुन्छ ?

बलेको आगो ताप्ने दुनियाँ
अरुको पिडामा उत्सव मनाउँछ
भन्छ त्यो बाटोमुनिको फूल हो
अछुतले छुँदा पानी बिटुलो हुन्छ
तर उनको जवानी लोभलाग्दो र चोखो हुन्छ
यस्तै यस्तै कुण्ठित सेहेँ र भ्रम पालेर बाँचेको छ समाज ।

तर पनि-
धौली कान्छीहरु चुपचाप सुन्छिन् तिरस्कार
सहन्छिन् सम्भ्रान्त वर्गको बहिस्कार
भोग्छिन् जवानी माथिको पापी नजर
मानौँ, उनी पत्थर हुन्
घन र छिनोको आक्रमण मानिरहनुपर्छ
उनी निरीह पशु जस्तै हुन्
जो भाकलको नाममा बलीको बोको हुनुपर्छ ।
सर्कीनी कान्छीको
भोगाइले हद नाघेको छ
छानो चुहेर पोखरी बनेको छ
कुवामाथिको एकाधिकारले काकाकुल बनेको छ ज्यान
बालीघरेले बाली नदिएर भोकको गीत गाइरहेका छन् नानीहरू
हेपाई र दलनले सीमारेखा जब पार गर्छ,
दम्भ र शोषणले चुलिन्छ्न महिमत्ता साँढेहरु
त्यस्तालाई वहसमा राख्न
-भुईंचालो आउँछ

– सुनामी आउँछ
-कोभिड आउँछ
– भोकमरी आउँछ
सजिलो छैन यहाँ मान्छे भएर बाँच्न
त्यसैले नै आमाको पाठेघरबाट रुँदै जन्मिएको हुनुपर्छ मान्छे ।

वर्षौपछि बल्ल
माया बिककि आमा, धौली माइली
र मिजार्नी कान्छीले पनि एक तमास सोंचेको हुनुपर्छ
अर्को जन्ममा म पनि आँधी हुरी भएर जन्मिन पाँउ
ता कि मेरो एक झोँक्काले
यो दुनियाँको जम्मै जम्मै असमानताहरुलाई बढार्न सकोस्
जसरी इन्द्रेणी समाजमा प्रत्येक रङको उत्तिकै महत्व होस् ।

 

तपाईको प्रतिक्रिया