कवि रसुवाली कवि बिशेष कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । प्रगतिशील साहित्य र कवितामा रुचि राख्ने उनका कविताहरुले असमानता र अन्यायको बिरोधमा प्रतिकार गरेका हुन्छन् । बिरोधको अभिव्यक्तीलाई सटिक र शसक्तरुपमा लेखनमा राख्न सक्नु उनको कविताको शक्ती हो प्रस्तुत छ साताको तीन कविता ।
मोहन वैद्यको हाँसो र तत् सम्बन्धी सौन्दर्य चिन्तन
बैरागलाग्दो बैरागी मौसमविरुद्ध
एउटा आशालाग्दो सम्भावनाका निम्ति
वैद्य हाँसेका छ्न् दशकौँदेखि
अक्सर वैद्य गम्भीर छ्न्
इतिहासमा गम्भीरताको मूल्य अवश्य हुन्छ
यो विरक्तताको आँधी र टुकुचाको दुर्गन्धमा
हाँस्नुको पनि के अर्थ हुन्छ र यात्रीवर ?
हाँस्ने हसाउँने काम मनोज गजुरेलहरूको हो । उनको पेसालाई सम्मान गरिरहन मन छ यतिखेर
क्रान्तिलाई जोगाउन र प्रतिक्रान्तिलाई टार्न
चेलाहरूको करामत मात्र कहाँ काफी थियो र मित्र ?
टाँसेर भित्तामा लेनिनलाई
कहाँ ढल्थ्यो र नेपालको जारशाही ?
इच्छुकझैँ प्रतिबद्ध नभई
कसरी जोगाउन सकिन्थ्यो र सकिन्छ सौन्दर्यशास्त्रको इज्जत ?
यस्तो गम्भीर दार्शनिक विषयलाई हाँसेर कहाँ टार्न मिल्छ र मोहन बैद्यले ?
जतिसुकै उदास गजल गाए पनि
जतिसुकै उदासीले भरिएका कविता लेखे पनि
जतिसुकै मदिराको गिलास ठोके पनि
जतिसुकै बल्खु दरबार धाए पनि
जतिसुकै विचारमाथि घन र दर्शनमाथि किला ठोके पनि
मित्र १
सानो आशा पनि काफी छ परिवर्तनका निम्ति
सानो प्रतिबद्धता पनि आगो हुन सक्छ क्रान्तिका निम्ति
जो हाँस्नु र रुनुको दोसाँधमा छ्न्
जो हार्नु र हराइनुको पर्खालमा खडा छन्
जो लालझण्डालाई साधारण र
राष्ट्रिय झण्डालाई असाधारण ठानिरहेका छ्न्
जो क्रान्तिमा बगेको रगतलाई अपमान गरेर
पुरस्कार जित्नका लागि
किताब लेखिरहेका छ्न्
जो कोभिडभन्दा डरलाग्दो सङ्क्रमण बोकेर
शहर बजारमा रगरगाइरहेका छ्न्
जो साङ्लाहरूलाई क्रान्ति जिम्मा लगाएर
आफू चाहिँ लामखुट्टे मारेर बसेका छ्न्
जो रातो चन्दन र पँहेलो सुनको कारोबारी भएर
टिसर्टमा चे ग्वेभारा टाँसेर हिँडेका छ्न्
जो सत्तामा छ्न् र सत्ताको भजन गाइरहेका छ्न्
उनीहरू हाँस्नु र नहाँस्नुको के अर्थ छ र मित्र ?
भोल्गा नदीको माछालाई
जसै बागमतीको जलमा बचाउन सकिँदैन
चुनावको गाँजा र भाङमा लट्ठिएर
जसै क्रान्ति विजय हुने दिनहरू ल्याउन सकिन्न
प्रिय सौन्दर्यशास्त्री !
सुदखोरी व्यवस्थालाई अनुमोदन गरेपछि
वैद्यलाई प्रश्न गर्नुको अर्थ कहाँ बाँकी रहन्छ र ?
प्रश्नहरू !
कृपया, आफ्नो ओज जोगाऊ
कविताहरू !
आफ्नो स्वतन्त्रता बचाऊ ।
माफ गर प्यालेस्टाइनका फूलहरू
भाषाको तागतमाथि शंका लाग्न थालेको छ
शब्दहरूको अर्थप्रती खेद लाग्न थालेको छ
मानिसको फेरिदो सौन्दर्यप्रति बिश्वास लाग्न छोडेको छ
जब शासकहरूले रगतमाथि होली खेल्न थाले
मलाई देश र सिमाहरूको बिभाजन वाहियात लाग्न थालेको छ
शासनहरू फुटाउन माहिर हुन्छन
जात
भूगोल
धर्म
सम्प्रदाय
सरकार
देश
बिचार
जब मान्छे खुच्चिएर सिमाना बन्छ
जब मान्छे मैलिएर सम्प्रदाय बन्छ
जब मान्छे ध्वस्त भएर जात बन्छ
शासकहरू फुटाउन आउँछ्न
रगतमाथि त्यिनीहरूको राजनीति सुरु हुन्छ
यो असाध्यै घिनलाग्दो कुरा हो
यो घिन विरुद्ध उभिनु
मानिसको कर्तव्य हो
म तिम्रै लागी उभिनेछु प्यालेस्टाइनका फूलहरू
घर , परिवार अनि देश समेत गुमाएर
रोइरहेकाछ्न प्यालेस्टाइनका प्रीय बालबालिकाहरू
मलाई तपाईंहरूका आँशुहरूको बलले आक्रोशित बनाएको छ
म मुरिमुरिरहेको छु
म अधैर्य भएको छु
म पनि रोइरहेको छु तपाईहरूसँगै
म पनि रोइरहेको छु प्यालेस्टाइनका तपाईं अभागी बच्चाहरूसँगै
एउटा अन्तर्राष्ट्रिय मान्छे हुन नसकेकोमा
आफैंप्रति खेद प्रकट गरिरहेको छु
कहिलेकाही मलाई शब्दशक्तिमा धिर्कारिन मन लाग्छ
जब भावमा बन्दैनन शब्दहरू
जब आँसुमा रुपान्तरण हुदैनन् शबंदका अर्थहरू
कागती झैँ निचोरिन्छु मेरो म
मलाई छट्पटी हुन्छ
संसार जुनसुकै कुनामा जलेपनि
मान्छेको स्वाधीनताको अभिलाषा
यो घिनलाग्दो कुरा हुन्छ
जहाँसुकै भएपनि मानवता र सह अस्तित्वको बध
यो घिनलाग्दो कुरा हुन्छ
मानिसहरू संकटमा पर्दा उम्लिदैन भने मेरो रगत
मलाई खेद हुनेछ आफैं प्रति पनि
सधैं सम्बोधन गरिरहनेछु प्यालेस्टाइनका प्रीय बच्चाहरूलाइ
तर यत्तिखेर म
म मुरिमुरिरहेको छु म अधैर्य भएको छु ।
लक्ष्मणपुरको चिसो
चिसो बढेको छ
भित्री मधेस चिसोले नै जमेको छ
शितलहर पनि केही होइन
त्यती जाडो छ
मेरो साथी निस्मा चौधरी
घोकिरहेकी छिन
शिक्षक सेवा आयोगका कठिन प्रश्न उत्तर
जसरी यो पश्चिम देशमा
घामको कलिलो किरण ढिलो गरि आइपुग्छ
उस्तै गरि ढिलो आइपुग्छ यहाँ सरकारका पाइला पनि
एउटा सरकारी मास्टर
ढिलो गरि आइपुग्छ स्कुल
गृहकार्यमा फूललाई फुल लेखेकोमा हर्कार्छ विद्यार्थीलाई
एउटा नर्स छे गाउँको सरकारी स्कुलमा
उ बिरामीहरूलाइ
पोशिलो खाना नखाएकोमा तथानाम हकारीरहेछ
( मानिलिउ यो देशमा नर्स भनेकी त्यही केटी मात्र हो )
तेजावी सुनको बाला लगाएर
थारु गाउँ घुमिरहन्छ पशु सेवा अधिकृत
घाम तापेर दिन कटाइरहेछ हुलाकी
हुलाक घरमा पिउन भएको
मेरो साथी तेजनारायण भाटु
चिया र समोसा खाएर घर फर्किरहेछ
कृषि अधिकृतमा नाम निकालेपछी
सपना कुश्मीले पनि छोडिन गाउँ
बिस्तारै निख्रीएका छ्न
अक्षरको बाटो हिडेकाहरू
मानिलिनु
गाउँ रुपान्तरण भइरहेछ बृद्दालयमा
चिसो छ
शितलहरमा कामिरहेछ थारू गाउँ
थुप्रै कुरा घटित भरहेको छ काठमाडौं र त्यस वरिपरि
मदन पुरस्कार विवरण भयो
भौतिकवादी समाज गठन भयो
विप्लव थवाङ गाउँ उक्लिए
आध्यात्मिक जागरणका लागी
बिश्व हिन्दु महासंघले र्याली निकाल्यो
गगन थापाको लग्न कुण्डलीमा
राहु र केतुको दसा चल्यो
रेशम चौधरी पनि सरकारमा गए
थुप्रै कुरा भए
तर
थारू गाउँमा जाडो बढिरहयो
सिरकहरूले तातो दिन सकेन
लोकसेवा आयोगको समावेशीताले काम गरेन
मेनपावर र सरकार दुबैले ठग्यो युवाहरूलाई
पानी र हावा चिसो भो, हातहरू ठिरिर्याइ रहे
राष्ट्रिय निकुञ्जमा छिर्न पाएनन
रम्मापुरका आमाहरू
आदिवासी अधिकारको कुरा गरेर
सोम शर्माहरूले सातु पचाएको खवर रेडियोले बजाइरहयो
जाडोले लुगलुग काम्दै दाउराको अभावमा
बाचिरहेझै लाग्छ पुरै बस्ती
पुरै गाउँले भनिरहे झै लाग्छ
कत्रा जुर सहना हो हम्र
कालिका ३ रसुवा जन्म । कम्युनिस्ट आन्दोलनमा सक्रिय । प्रगतिशील साहित्य र कवितामा रुचि । हिरासतका दिन नामक अनुभुति प्रकाशन ।