न्युयोर्क । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका युक्रा ( UKROA) को विभिन्न च्याप्टरहरुले सदा झैं यस वर्ष पनि बत्ती र फूलहरुको रंगीन साँस्कृतिक चाड तिहार तथा बलिहाङ्गको अवसरमा आ-आफ्नो क्षेत्रमा सामुहिक देउसी भैलो खेल्दै भव्य रुपमा चाड मनाएका छन ।
व्यस्त अमेरिकन जिवनशैलीका कारण क्यालेण्डरमा उल्लिखित तिथीमिती भन्दा अगावै सबैको अनुकुलतालाई हेरी एक/दुई दिन पहिला देखी नै चाडवाडहरु मनाउने यहाँको चलनअनुरुप युक्रा (UKROA) को यस वर्षको देउसी-भैलो यमपञ्चक प्रारम्भ हुनुभन्दा केही दिन पहिले अर्थात २५ अक्टोवरबाट शुरु गरिएको केन्द्रिय महासचिव मुक्ति नारायण राईले जानकारी दिनु भयो। महासचिव राईकानुसार २५ अक्टोबर (शुक्रवार) न्यूयोर्क च्याप्टरले ज्याक्सन हाईट, न्युयोर्कमा, २६ अक्टोबर (शनिवार), न्यू ईङ्गल्याण्ड च्याप्टरले रोचेष्टर न्यू ह्याप्सायरमा र नोभेम्बर १, शुक्रवारका दिन क्यालिफोर्निया च्याप्टरले रिचमण्ड, क्यालिफोर्नियामा भव्य रुपमा सामुहिक देउसी-भैलो खेली आपसमा शुभकामना साट्दै चाड मनाएको बताउनु भयो । संस्थाले बिगत ४ वर्षदेखी आफ्नै साकेलाथान निर्माणको निम्ति संचालन गरिरहेको “अमेरिकामा युक्राको साकेलाथान अभियान” परियोजनामा यस वर्षको देउसी मार्फत उल्लेख्य चन्दा उठेको बताउनु हुदै, आजका मितीसम्ममा परियोजनाको बैंक खातामा एक लाख पचहत्तर हजार डलर रकम जम्मा भईसकेको समेत केन्द्रिय महासचिव राईले जानकारी गराउनु भएको छ।
१. युक्रा न्युयोर्क (NY) च्याप्टरः (२५ अक्टोवर, २०२४ शुक्रवार- ज्याक्सन हाईट, न्युयोर्क।)
युक्रा(UKROA) न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा जनजाति महासंघ अमेरिका(फिप्ना) का सल्लाहकार डण्डु ढ्योक्पा शेर्पाको प्रमूख आतिथ्य, युक्रा केन्द्रिय अध्यक्ष जय थुलुङ राईको विशेष अतिथ्य र अतिथीहरु मेयर कार्यालयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघुनन्दन (सुखरानी), जनजाति महासंघ अमेरिका (फिप्ना)का वरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङ, एनआरएनए न्युयोर्क च्याप्टर कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, अन्तराष्ट्रिय मार्शल आर्ट्स् एशोसियसनका संचालक तथा अन्तराष्ट्रिय कराते रेफ्री पर्खी खालिङ राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, युक्रा केन्द्रिय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रिय बोर्ड सदस्य गणेश किरात, नेपाली कलाकार संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिमल डाँगी, कुइन्स् कम्युनिटी बोरिड-३ का सदस्य तथा माईनोरिटी इम्पावरमेन्ट नेटवर्कको अध्यक्ष श्याम कार्की, कुइन्स काउन्टी डिस्ट्रिक लिडर तथा कुईन्स कम्युनिटी बोर्ड-२ का सदस्य छेमाङ लामा, कुईन्स काउन्टी डिस्ट्रिक लिडर विष्णु राना मगर, शेर्पा किदुकका महासचिव साङदोर्जे शेर्पा, पत्रकार जस कुमार राई, पत्रकार सम्राट कार्की, किरात राई यायोक्खा जापानका निवर्तमान अध्यक्ष बिनोद राई र जनजातिको महासंघ अमेरिकाका महासचिव नारद राईको उपस्थितीमा भव्यरुपमा सम्पन्न भएको थियो।
युक्रा NY च्याप्टरका बरिष्ठ उपाध्यक्ष वसन्ती राईको स्वागत मन्तब्यबाट प्रारम्भ गरिएको उक्त देउसी-भैलो कार्यक्रममा प्रमूख आतिथी, विषेष अतिथी र अतिथीहरुको शुभकामना संगसंगै केन्द्रिय अध्यक्ष जय थुलुङ, कलाकारहरू बिमल डाँगी र यशोदा राईको मिठो देउसी भाकाको आषिशसंगै मनोरन्जन गरिएको च्याप्टर महासचिव संन्तोष राईले जानकारी गराउनु भयो।
२. युक्रा न्यू ईङ्गल्याण्ड च्याप्टरः (२६ अक्टोवर,२०२४ (शनिवार), रोचेस्टर न्युह्याम्पसायर।)
युक्रा(UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरका कोषाध्यक्ष चन्द्र कुमार राईको निजी निवास रोचेस्टर न्युह्याम्पसायरमा, यस कार्यसमितीका अध्यक्ष कर्ण ब. राईको अध्यक्षता र साकेलाथान परियोजना संयोजक विष्णु राईको प्रमुख अतिथ्यमा सम्पन्न न्यू ईङ्गल्याण्ड च्याप्टरको देउसी-भैलो कर्यक्रमका अतिथीहरुमा NHNC न्यूह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, युक्रा केन्द्रिय महासचिव मुक्ति नारायण राई, पुर्व केन्द्रीय अध्यक्ष शिव कुमार राई, संस्थाका कानुनी सल्लाहाकार सुरेश चाम्लिङ्ग राई, साँस्कृतिक कार्यक्रम संयोजक गुलशन राई र च्याप्टर सल्लाहकार खडिमान राई हुनुहुन्थ्यो। बोस्टन, म्यानचेस्टर, कंकर्ड र सिकोष्ट क्षेत्रबाट देउसी-भैलो कार्यक्रममा उल्लेख्य रुपमा सहभागी UKROA का सदस्यहरुलाई अग्रज महिला सदस्य मिङगमा राईले शुभकामना मन्तव्य सहित स्वागत गर्नुभएको थियो।
तिहारको मौलिक देउसी-भैलोका गितहरुमा रमाउदै र अतिथीहरूबाट शुभकामना ग्रहण गर्दै भब्यरुपमा वलिहाङ्ग चाड मनाईएको जानकारी कार्यक्रम समेत संचालन गर्नुहुने च्याप्टर महासचिव राकेश कुमार राईले गराउनुभयो।
कार्यक्रमका प्रमुख अतिथी तथा साकेलाथान परियोजनाका संयोजक बिष्णु राईले यस परियोजनाको निम्ती पच्चीस सय डलर दान गर्नुहुने (NHNC) न्यूह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पालाई संस्थाको तर्फबाट सम्मान गर्नुहुदै, साकेलाथानको निम्ति उपयुक्त जग्गाको खोजी तिब्र स्तरमा भईरहेको जानकारी पनि गराउनुभएको थियो। साथै उक्त देउसीबाट साकेलाथान परियोजनाको निम्ती तेह्र हजार डलर दान/दक्षिणा उठेको जानकारी प्राप्त भएको छ।
३. युक्रा क्यालिफोर्निया च्याप्टरः (१ नोभेम्वर,२०२४ शनिवार, रिचमण्ड।)
पार्कसाइड ड्राईभ, रिचमण्ड क्यालिफोर्नियाको हलमा च्याप्टर अध्यक्ष जोरवीर राईको अध्यक्षतामा सम्पन्न क्यालिफोर्निया च्याप्टरको यस वर्षको युक्रा देउसी-भैलोमा संस्थापक सदस्य तेज राई, युक्रा (UKROA) का पूर्व उपाध्यक्ष घनश्याम राई लगायत थुप्रै अग्रज तथा साधरण सदस्यहरू र आमन्त्रित अतिथीहरुको बाक्लो उपस्थिती रहेको जानकारी त्यस च्याप्टर कार्यसमितीका महासचिव टक्सन राईले जानकारी गराउनु भयो।
तिहार तथा वलिहाङ्ग चाडको पावन उपलक्ष्यमा आयोजित उक्त देउसी-भैलो कार्यक्रम संस्थाको सालवसाली परम्पराकै निरन्तरता रहेको बताउनुहुँदै अध्यक्ष जोरवीर राईले यस वर्षको देउसी-भैलो अझ रोचक र रमाईलो पुर्बक विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम सहित आपसमा शुभकामना आदानप्रदान गर्दै हर्सोलासपुर्वक मनाईएको बताउनु भयो।