न्युयोर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्त्री , पूर्व श्रम तथा रोजगार राज्यमन्त्री केन्द्रीय सरकार तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय डिल्ली बहादुर चौधरीसँग मीट एन्ड ग्रीट ( Meet & Greet ) शिर्षकमा एक साक्षात्कार कार्यक्रम एल्महर्स्ट स्थित फिप्नाको कार्यलय कक्षमा सम्पन्न गरेको छ ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन फिप्नाका महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले गर्नु भएको थियो भने सम्पूर्ण अतिथि एवं आमणंत्रितहरूलाई फिप्नाका वरिष्ठ उपाअध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिल्ली बहादुर चौधरीसंगै थारू कल्यानकारिणी सभाका केन्द्रिय कोषाअध्यक्ष चुर्ण बहादुर चौधरीको पनि उपस्थिति रहेको थियो । अन्य उपस्थित महानुभावहरुमा फिप्नाका सल्लाहकार तथा संघीय परिषदका सभामुख , सदस्य संस्थाका प्रतीनिधी, नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दुत केशव राम राई ,जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ, नेपाली डटकमका प्रमुख सम्पादक प्रदीप परीयार थापा रहनु भएको थियो ।
फिप्नाका सचिव दाजिमा शेर्पाले प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले समाजमा दिनु भएको योगदान र वहाँले गर्नु भएको संघर्षलाई प्रकाश पार्दै कार्यक्रमको शुरुआत गर्नुभएको थियोे । यस क्रममा करिब २ लाख कमैयालाई मुक्त गराएपछि प्राप्त गर्नु भएको सम्मानबारे पनि संक्षिप्तमा उल्लेख गर्नु भयो ।
प्रदीप परीयार थापाले नेपालमा भर्खरै आदिवासीहरु पुनः जुर्मुराउन थालेको बेला अर्थात सन १९९४ मा अमेरिकाको रिबोक कम्पनीले युथ ह्युमन राइटस अवार्ड (The Reebok International Human RIghts Award, USA 1994) डिल्ली बहादुर चौधरीले पाउनु भएको बताउनु भयो । एउटा जनजातीको छोराले यति ठुलो पुरस्कार पाएकोमा ठुलो हलचल मच्चिएको थियो त्यसबेला । उहाँले अगाडि भन्नु भयो- जनजाती त के नेपाल देश कै अन्तर्राष्ट्रिय पहिचान कतिपय सन्दर्भमा स्पष्ट भैसकेको थिएन। अनुराधा कोइराला, इन्दिरा राना मगर , महावीर पुन, सन्दुक रुइत आदि विशिष्ट क्षेत्रमा स्थापित व्यक्तित्वहरु त्यसबेला संघर्षरत हुनुहुन्थ्यो। वहाँहरुको कुनै नाम निसाना थिएन, अवार्ड पाउनु त कल्पना बाहिरको कुरा थियो । जुन बेला डिल्ली बहादुर चौधरीले थारु समाजमा गर्नु भएको उल्लेखनीय योगदान स्वरुप पुरस्कृत हुनु भयो ।
यसैगरी अतिथि चुर्ण बहादुर चौधरीले आफुले पनि नेपाल आदिवासी जनजाती संस्थाको सदस्य संस्था थारू कल्यानकारिणी सभामा रहेर काम गर्दै आइरहेको र कमैया मुक्तीको लागी हातेमालो गरेर अघि बढ्दै आएको कुरा उल्लेख गर्नु भएको थियो
प्रमूख अतिथि डिल्ली बहादुर चौधरीले आफ्नै बाजे र बाबाहरूको प्रेरणाले कमैया मुक्तीको लागी लड्ने र शिक्षाको ज्योती बाड्न पर्छ भन्ने ज्ञान पाएको कुरा बताउनु भयो । आफ्नो थात थलो बचाउन त्यसबेला बाउबाजेहरुले आन्दोलन गरेका थिए । त्यसबेला गाउँका जमिनदारहरुलाई रातरात मार्न आउने गर्थे र अकालमा कतिपयले ज्यान गुमाउनु पर्दथ्यो। गाउँमा व्याप्त यस्तो विकराल अवस्था देखेर अन्ततः आफु मुक्ति आन्दोलनको बाहक बन्न बाध्यता भएको कुरा बताउनु भएको थियो ।
वहाँले बिस्तार भन्नु भयो- त्यो बेला शिक्षाको कमीका कारण त्यहाँका जमिनदारहरुले खाली कागजमा औंलाछाप हान्न लगाउथे । अशिक्षित गाउलेहरुमा आफ्नो सम्पत्तिको सुरक्षा गर्ने क्षमता थिएन र फोकटमा आफ्नो जमिनहरु गुमाउनु परेको थियोे । शोषणको यस्तो चक्रलाई तोड्न शिक्षा आवश्यकता थियो र २०४० सालमा सबैलाई शिक्षा दिने अभियान शुरु गरियो । त्यो वर्ष ६२ जनालाई लेखपढ गराउन सफल भयौं ।
यसरी उहाँले आफूले नेतृत्व गरेको आन्दोलनलाई स्मरण गर्दै हामीले आफ्नोलाई चिनेर एक अर्कालाई सपोर्ट गर्नु पर्छ र एक जुट हुन सके कसैले पनि केही गर्न नसक्ने बताउनु भयो । बिबिध भाषाभाषी ,संस्कार संस्कृति भएका हामी आदिवासीहरु एक अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ भन्ने कुरामा जोड़ दिनु भयो।
हरेक गाउँ गाउँमा पैदल यात्रा गरेर पिछडिएका थारुहरुलाई संगठित गर्दै शिक्षा तर्फ आकर्षित गराउदै आफ्नो अस्तित्व र पहिचानको महत्त्व बुझाउदै, आफ्नो जमिनहरु गुमाउनुको कारणहरु बुझाउदै, आर्थिक संकलन गर्दै, ६ हजार भन्दा बढी क्लासहरु सन्चालन गरेको कुरा बताउदै हामीले केही पाउन मेहनत नै गर्ने हो र आदीवासीहरु मेहनत गरेर आफ्नै परिश्रममा विश्वास गरेर खाने जाती हो । हामीले निरन्तर मेहनत गरीरहन पर्ने र अमेरीकाका आदिवासीहरुले पनि यूनियन लगायत सबै तिर आफ्नो पहुँच पुर्याउन एकजुट भएर बढ्न सुझाब दिनु भयो ।
वहाँले नेपालमा कमैया आन्दोलनको कारण सम्पूर्ण आदिवासीले सहुलियत पाएको पनि बताउनु भयो। हामीसंग चुनौतीहरु धेरै छन तर अपर्च्युनिटी पनि छ भन्दै “सेभ द कल्चर, सेल द कल्चर ” भन्ने नारालाई अनुसरण गर्दै आफ्नो संस्कार, संस्कृतिलाई बचाउदै आफ्नो संस्कृति अनुरुपका खानपान र लुगाफाटा बेचेर आय आर्जन गर्न तिर अग्रसर हुन पर्ने कुरा पनि बताउनु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तोरण गुरुङले हामी आदिवासी, मुलवासी भएको यथार्थ नै भुल्दै आएका थियौं, राज्यसत्ताले पनि हामीलाई आफ्नो संस्कार र संस्कृति प्रति घृणा गर्ने मानसिकता उत्पन्न गराइदिएको थियो, तर जब आदीवासी जनजाती आन्दोलनहरु सुरु भए तब हाम्रो आँखा खुल्दै गयो र हामीले आफ्नो पहिचान र मौलीकतालाई पुनः माया गर्न थाल्यौं भन्ने कुरा बताउनु भयो ।
उहाले अगाडि थप्दै भन्नु भयो- हामीलाई मतवाली उपनाम दिइयो जसलाई हामीले स्विकारिदियौं, जनजाती उपनाम दिइयो जसलाई पनि स्विकारिदियौं। हुँदा हुँदा हामी वास्तवमा आदीवासी हौं भन्ने अवस्था सिर्जना भएको छ। हामी नेपालको मुलवासी भूमिपुत्र हौं भन्ने तथ्यलाई पुनः प्रमाणित गर्नुपर्ने चुनौती हामीलाई आइपरेको छ जसको लागी हामीले राजनैतिक चिन्तन र क्षमतालाई अभिवृद्वी गर्न सक्नु परेको छ।