नारायण श्रेष्ठ पचासको दशकमा नेपाली साहित्यको कविता लेखन पत्रकारिता क्षेत्रमा आएका एक शक्तीशाली व्यक्तीत्व हुनुहुन्छ । पछिल्लो समय बष्टन म्यासाचुसेट्समा बस्दै आउनु भएका श्रेष्ठको लेखनमा मानवीय सम्वेग  र  बिचारको एक अलग्गै आयामहरुलाई अनुभूति गर्न पाइन्छ । अघ्यनन लेखनमा पनि त्यत्तिकै शसक्त उहाँको रुचीको बिषय राजनीति र समसामयिक विश्व मामला पनि हो। प्रस्तुत छ साताको तीन कविता ।

मृत्युहारमा थपिने एउटा नाम 

हावामा पर्खला उभ्याउनु छ
बन्द गरेर व्यापार हामीबीचको, मलाई
मेरो मात्र संसार बचाउनु छ
मुखमा मोहोला बाँधेर
बन्द ढोकाभित्र
बन्द कोठाभित्र
मलाई, मेरो मात्रै हावा चाहिएको छ
आजलाई सास फेर्न
मेरो, मात्रै आयतन – ६ फिटको
मात्रै, आजको दिन चाहिएको छ –
मरेकाहरुको हारमा थपिने अर्को नाम हुनबाट बच्नु छ
नजाने भोलि, दैनिक गन्ति हुने नम्बरमा नाम थपिन सक्छ

मान्छेहरुका सागर उर्लने सुपरमार्केट
नदीजस्तै हाईवे
पार्कमा डुलिहिंड्ने कुकुर गोठाला र जम्परोपमा उफ्रिहिंड्ने भुराभुरी
सुनसान छ, फलैंचा, मंकीबार, जीमहल, र सडकपेटी।
मान्छेहरु छन, र अहिले मान्छेहरु छैनन्
घाम उदाउँछ – उज्यालो हुन्न
रात पर्छ – चैनको निद आउन्न
संक्रमणको साउती भरेको हावा बहन्छ जोड जोडले
सत्ता छ, सुस्ताएको छ
त्रास छ, डरको महल छ –
आफैसित
छिमेकीसित
साथीभाईसित
आफन्तसित ….
बार र होटलको टेवल ढलेको छ
स्कूलको हलवे, प्रोफेरसको भिजिटिङ क्लास
बन्द छ –
भेन्टिलेटरको ढोका
भेटेर बात मार्ने क्षण, र सास फर्ने हावा ।

खुला छ – त भर्चुअल संसार, जुम मिटिङ र मेटाभर्स
सडकको साईरन, खोपकेन्द्रको ढोका
मृत्युशैया र चिहानघारी !

आज छु, भोलि नहुन सक्छु
सास फेर्दै छु, केहिबेरमा रोकिन सक्छु !
आईसियुका कोठाहरुमा
ईमेर्जेन्सीरुम जस्ता अपार्टमेन्टहरुमा
ढलि हालें भने नि, कोही हुनेछैन संझना गर्नलाई
एकमुठी माटोले पुर्नुअघि, सेतो फूल चढाउनलाई
देख्दै नदेखिने ख्याकहरुले घेरेको छ,
किटाणुहरुले बेरेको छ –  बन्दी जस्तो,
ईतिहासको सबसे कुख्यात नार्कोटिक

एउटा कारागारको अपराधी जस्तो।
प्वांख उखेलिएको घामजस्तो
अंधकारको घुम्तिमा बन्द छ घर
उभिएका छौं आफ्नो समयलाई रोकेर, सायद मृत्युलाई रोकेर !

जुम ईन

स्क्रिनमा बज्छ नोटिफिकेसनको  घण्टी
तयार हुनु छ अब
क्यामेरा कनेक्ट
ब्याकराउण्टको पर्दा, व्याण्डविथ
माईक्रोफोन, लाईट – अन।
यो, मिटिङको समय हो।

आँखाहरु जोडिएका छन, तस्वीरहरु गाँसिएका छन – बिजुलीको तारमा
मोनिटरमा, टेलिभिजनको पर्दामा
गाँसिएका छौं जुम ईन मिटिङमा –
बोष्टन, बेलायत
प्यारिस, पोखरा
डिसी, डमास्कस,
केपटाउन, काठमाण्डौ
केपकड, कपन
गाँसिएक छौं, कम्प्याटिबल भएका छौं
एक हौं हामीहरु स्क्रिनमास हामीहरु एक होईनौं
हामीहरु जोडिएका छौं, र एकैचोटी बाँडिएका

पर्दामा पोतिएको दिन जस्तो – अभिनयको विहान सुरु हुन्छ
छत छतमा मात्रै देखिने छ घाम पनि, एउटा चीसो घाम
कहीं पुग्नु छैन, केही देख्नु छैन
चुम्वकजस्तो स्क्रिनमा टाँसिएका छन फलामका आँखाहरु
रेलिङ समातेर उक्लिनू पर्छ
यो भर्याङ, ठिहिरोले लखेट्छ बाहिर
हिउँको पहाड छिचोल्न, कठिन छ –
करेसावारीको पात टिप्न
एउटै कोठामा वित्छ दिन, पानीमा बितेको दिन जस्तो।
छेउको बेड,
कुनाको आलमारी – किताव र
वेडल्याम्पको आडैमा ठडिएको अफिस टेवल।
माईक्रोचिप्सको बोरामा खाँदिएको मेमोरी लेन पछ्याउँदै हिंड्नु छ
आउटलुकको लोकमार्गमा
कंपनीहरुले सेट गर्ने दैनिक तालिकामा –
अघिल्लो हप्ताभन्दा तिम्रो पर्फर्मेन्स प्रतिशत कम भयो
यो डकुमेन्ट पठाएका छैनौ नि
साथीलाई वर्थडे सुभकामना भन्दैनौ
अघिल्लोवर्ष आजकै दिन क्यासल आइल्याण्डमा खिचेको फोटो सेयर गर्न नभुल्नू

हामी बोल्छौं र सुन्छौं
हामी साटिन्छौं कामहरुमा, रिपोर्टका ठेलिहरुमा
हाम्रा पसिनाका गंधहरु साटिन्नन्
भर्चुअल पार्टीमा टोष्ट गरिन्छन-
हाम्रा केकका वास्नाहरु वाँडिन्नन्
हाँस्छौ तर हाम्रा हाँसोका ध्वनीहरु छालको फिंजजस्तो फोका उठ्नु अघि निभेर झर्छ !
नजाने हाम्रा ईन्द्रियहरुको, कामै छैन –
यो बाटोको, र यो चौरको।
घामको अर्विटमा मडारिएको सोलार फ्लेयरजस्तो
उज्यालो छैन, सांसारिक दिन जस्तो –
म रमाईरहेछु जे गर्दा सबैजाना खुसी हुन्छन !

धर्तीको कुनै कुनामा छन तिनीहरु…
र सायद अर्को कुनामा म
कति विशाल छ आँखाहरु, ज्योतिको गतिले नभ्याउने दौडमा
यसरी कुदेको छु, मानौं कसैले भेट् हुनेछैन यो प्रतिष्पर्धामा
यो धर्तीको आकारभन्दा पर पुग्नु छ हामीलाई
सायद ब्रम्हाण्ड भन्दा पर, अर्को ब्रम्हाण्डमा
बुच्चो अर्को गोलार्धमा !

एउटा दिन मैजारो गरेर सक्दा
फेरी उस्तै अर्को दिनको पर्खाईमा छु !

 

झर्ने सबै आँसु होईन

झर्ने सबै आँसु होईन
मरिलाने जिवन पनि छैन
क्षितिजको आँखामा पोतिने बादल मेरो गीत हैन
तर जितेर हिंड्ने उम्मिद पनि मसंग छैन

सायद म भाग्छु यहाँबाट
उठेर नहिंड्ने पर्खाल समातेर
पातलो शीतको थोपा जस्तै छिनभर बिलाएर
हिउँदको पहेंलो पातमा, चिप्लेकिरा जस्तै घस्रिएर

सोचिबस्छु यो मेरो ठेगाना होईन
यहाँ कसैले मलाई चिठ्ठी पठाउन्न
जब कसैको संझना आउँदैन
सडकको अलकत्राजस्तो, आफैलाई कुल्चिहिंड्ने
हजारौंमा, कसैलाई संझना गर्नै पर्दैन
थाहा छैन के हुनलाई मेरो आकार बनेको छ
कहाँ पुग्नलाई यो संधै हिंडिरहेको छ
पानी छोपिएको बादलको आकाशबाट
हेरिरहन्छ एउटा घाम
जब म आफै कुहिरोसरि कठ्याग्रिएर सुस्ताएको हुन्छु

किन आउँछ अर्को दिन, किन उदाउँछ घाम
बतास र पातको वेमेल कहानी बोकेर किन दौडिहिंड्छ त्यो जून
पर्खी बसेको छु अर्को एउटा गुडुल्किने दिनको लम्बाई समातेर
तर हार्नु मेरो नियती पनि होईन !

 

तपाईको प्रतिक्रिया