न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ ।

सो अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोलम्बिया युनिभर्सिटीका अन्तराष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रो.डा. प्रेम फ्याकले बलिहाङ तङ्नाम जस्ता मौलिक पर्वहरु रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिसँग जोडिएका नेपाली समुदायबिच अन्तरकृया गर्ने अवसर समेत हुने गरेको बताए । यस्ता कार्यक्रमले हामी को हौं भनेर आफ्नो परिचय स्थापित गराउन थप सहयोग पुग्ने बताउदै डा. फ्याकले बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गरेको तर्क प्रस्तुत गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु भेषभुषामा लिम्बू जातिहरुको मौलिक बाजा च्याब्रुङ बजाएर केलाङ् प्रस्तुत गरेका थिए भने तुतुहाङ तुम्याहाङ (बुद्धिजिवी)हरुलाई तोङबा खुवाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रेम मेयाङवाले हाक्पारे साङलो गाएका थिए । उनको हाक्पारेमा अन्य स्थानीय कलाकारहरुले साथ दिएका थिए । त्यस्तै कार्यक्रममा लारिङ्गेत् (देउसी भैलो) तथा यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लिम्बू संस्कृति झल्किने साँस्कृतिक शो मा ४ बर्षदेखि माथिका बालबालिकाहरुले लिम्बू भेषभुषा तागा र मेख्ली (लिम्बू मौलिक पहिरन) लगाएर स्टेजमा क्याटवाक गरेका थिए ।

नयाँ आउने पुस्तालाई आफ्नो भाषा संस्कार र संस्कृतिको ज्ञान होस भनेर यस्ता कार्यक्रम वर्षेनी चुम्लुङ अमेरिकाले आयोजना गर्दै आएको बताउँदै चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले भावी पुस्तालाई आफ्नो संस्कृति प्रति ज्ञान र लगाव बढाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा बालकालिकाहरु आफैले भट्याएर देउसी खेलेका थिए । कार्यक्रममा नव आगन्तुक सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यकमका साथै डिजे पनि आयोजना गरिएको थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष श्याम मेयाङवो, अधिकारका सह–निर्देशक नर्वदा क्षेत्रीले बलिहाङ तङनामको अवसरमा शुभकामना व्यक्त गरे ।

लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा भाविपुस्तालाई हस्तान्तरण गर्न र जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा रहेको लिम्बु समुदायले यो पर्व वर्षेनी मनाउँदै आएको बलिहाङ् तङ्नाम कार्यक्रम संयोजक राम लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया