नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल नेपाली साहित्यको गीत र कविता लेखनमा पनि निरन्तररुपमा सकृय हुनुहुन्छ । पछिल्लो समय कविताकृतिको तयारीमा रहनु भएका पोखरेलको लेखनीले प्रेम ,करुणा र सामाजिक मुद्वाहरुलाई शसक्त रुपमा उठान गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
मुख

मैले मुख हेरेँ
एउटा अनौठो क्रान्ति देखेँ बिराट शान्ति देखेँ
घनघोर सिर्जनाको मुहान देखेँ
अन्यायको चिहान देखेँ ,लक्ष्य देखेँ ,आन्दोलन देखेँ , योजना देखेँ ।

हो –
मेरो बाबाको अनुहार यस्तै छ
संघर्षको इतिहास छ
समकालिनमा खास छ
भबिष्यलाई सधैं सधैं लाखौ लाख आशिर्बाद छ
अझ गहिरेर हेरें –
पीडाको चाङ छ ,चोटहरूको डाम छ
दुःख भोग्ने पात्र हो मेरो बाबा
मेरा लागि र ‘म’हरूको पुस्ताका लागि
एउटा सुन्दर सपना बोकेर सन्ततीकोे खुशी लक्ष्य ठान्दै
थिति र नीतिलाई अनुकल बनाउन अभियान थाल्ने पात्र हो।

त्यो मुहार –
स्वाभिमानी गंगाको हो त्यो मुहान
आत्मबिश्वासको बलियो पहिचान
गर्वले मेरो छाती फूल्छ त्यो मुहार हेर्दा
अब्बल देख्छु छेउछाउसँग मुल्याङ्कन गर्दा ।

तर-

चिन्ता लाग्न थालेको अचेल
मेरो छोराले मेरो अनुहारमा के देख्ला ?
कान्ति देख्ला कि निरस ?
स्वाभिमान देख्ला कि स्वार्थ ?
आत्मविश्वास देख्ला कि त्रास ?
अभियान देख्ला कि अभिमान ?
यस्तै यस्तै प्रश्नहरूले मन डराउन थालेको छ ।

समयले मलाई कुन स्थानमा उभ्याएको छ आज ?
के बाबुको पहिचान कतै मेटाउँदै त छैन ?
बिलासीताले मलाई खोक्रो बनाउँदै त छैन ?
भावी पुस्ताप्रति पूर्णरूपमा अनुदार त हुँदै छैन ?

मेरो छोराले मेरो मुहार हेर्दा
ऊ सन्तुष्ट कसरी होला ?
महिमागान कसरी गर्ला ?
स्वाभिमानी बाबा कसरी भन्ला ?
फलानाको छोरो भन्ने हिचकिचाउने गरी
म आफूलाई ढाल्दै गर्दा
मैले मेरो बाबाको अनुहारमा देखेको कान्तिको महिमाको के अर्थ अब ?
भावि पुस्ताको लागि उनको क्रान्तिको महिमाको के अर्थ अब ?
छोराले गर्व गर्ने अनुहार बनाउनु पर्दोरहेछ
उसको स्वाभिमानको आधार बनाउनु पर्दो रहेछ
मेरो मुख हेर्दा छोरोले नाक खुम्च्याउँछ कि
यो प्रश्नसँग सधै सावधान हुनु पर्दोरहेछ ।

चिन्ता छ अचेल-
बाबा जस्तो हुन सकेन कि ?
छोराले महिमा गाउने बाबु बन्न सकेन कि ?

माटो

माटो बोल्छ रे
माटोले सुन्छ रे,
द्विबिधामा पर्दा
माटोलाई सोध्नु रे
जे भन्छ त्यही गर्नु रे
माटोको बारेमा यस्तै यस्तै
धेरै सुन्दै आएँ
धेरै पढ्दै आएँ
तर माटोसँग सम्बाद गरेन
माटोको कुरा कहिले सुनेन ।
आज माटो रोएको छ
एक्लो महसुस गरेको छ
असुरक्षीत ठानेको छ
चाहे सिमानाको माटो होस्
चाहे शहरको माटो होस्
वा गाउँबस्तीकै किन नहोस्
क्षिया क्षिया पारिदैछ,
एकोहोरो दोहन गरिदै छ
निर्मम नङ्ग्राहरू व्यस्त छन्
माटो लुक्ष्छ, माटो चुस्न ।
माटो आमा हो
माटो आधार हो
उत्पादनको बहार हो
तर
आजकल माटोलाई निर्जिब बनाइएको छ
संवाद गर्न कोही चाहँदैन
माटोमा कंक्रिट मिसाएर
दूषित बनाउने होडबाजी छ
हिलो अब हेला भएको छ
पत्थर, बञ्जर बनाइदै छ माटो
उत्पादन नासिदैछ
आमाको बिम्ब मान्न छाडिदै छ ।
पसिना पाउँदैन आजकल माटोले
सम्मान पाउन्दैन आजकल माटोले
सत्ताको मोलमोलाइमा
अनी धनको मोहमा
जीवन झिकिएको
फगत निर्जिब बनाइएको छ माटो
सत्ता स्वार्थमा बेचिन्छ माटो
बिलासिताका लागि उपयोग भैरहेछ माटो
उत्पादनको ग्राफ ओरोला लाग्दैछ
पसिना नपाएको धेरै भयो माटोले
क्रय बिक्रयमा व्यस्त छन् मालिकहरू ।
भो अब माटोलाई माया गरौं
आमा ठानौं
जीवन भरौं
पसिना चुहाएर हिलो बनाऔं
त्यही हिलोमा नै छ हाम्रो जीवन
त्यहीं नै छ सच्चा प्रेम
त्यहीं नै छ मिठो सद्भाव
युगयुग सम्म सुगन्ध छर्ने क्षमता…..

पृयतमाको नाममा

दोष –

नियतको हैन सायद नयनको हो
खोज्दै हिडेको पनि हैन
सायद जून पोखिएको हो ।

उज्यालो पनि मार्ने तिम्रो रूप
तिमी जून प्रेमको रङ्ग छर्ने नजर
प्रेमको सुगन्ध भर्ने अधर
बाटुलो चन्द्रमा जस्तै अनुहार
अनी उर्लदो जवानीको बहार ।

मेरो अगाडीको यो दृश्य
म  वर्णन  गरूं वा  त्यही दृष्यमा आफूलाई भरुं ?
विवेकले नै काम गरेन सायद
अनी-
ऋषिमूनिका तपस्या भंग भएका कथा संझे
मुना र मदनका व्यथा संझे
लाग्यो प्रेमको अर्को इतिहास रचुंँ
पवित्र सम्बन्धको नमूना बनुँ ।

तिमि पनि त यही पर्खाइमा थियौ सायद,
प्रेमसँगै उड्ने चरी झैं,
प्रेमनै संसार मान्ने परी झैं
प्रेममै डुबुल्किने जलचरी झैं
उन्मत्त तिम्रो प्रदर्शनी
आकांक्षाको ज्वारभाट रोमाञ्चको बिस्कुन
चिरबिर चिरबिरको आवाज सहितका
भंगेरा र भंगेरीको प्रतिक्षा
वरपरको  पुर्ण  वेवास्ता
अनी-
एक टकले
मेरो आँखामा आफ्ना आँखा मिसाई उभिएकी
दुबै हत्केलाले मरो पाखुरालाई चपक्क समाई
रंगिन जीजिबिषाको अघोर आकांक्षा दर्शाउने अनुहार
के बुझु म ?
के ठानुँ म ?
के गरुँ म ?
प्रिय-आउ समागम होऔं एक अर्कामा सँगै बाचौं, सँगै रमाऔं ।

तपाईको प्रतिक्रिया