सम्पूर्ण ॐकार परिवारको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हिन्दु महासंघको पहिलो महिला कार्यवाहक अध्यक्षको रुपमा सकृय अस्मिता भण्डारी पचासको दशकदेखि लेखनमा सकृय हुनुहुन्छ । अभिनय, गीत, कविता र पत्रकारितामा समानान्तर रुपमा क्रियाशील भण्डारी महिला गीतकार संघ नेपालको पनि अध्यक्ष हुनुहुन्छ । एक समय रङ्गकर्मीको रुपमा पनि राष्ट्रिय स्तरमै स्थापित भण्डारीको २०५५ सालमै म्युजिक नेपालबाट गीतहरु रेकर्ड भैसकेका छन् । हाल सनातन धर्म र नेपाली राजनीतिमाथि नजिकबाट काम गरिरहेकी भण्डारी कविताकृतिको तयारीमा हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
म स्वास्नीमान्छे
म –
आगो पिएको आगोसँग खेल्दै जिएको
आगोको भुंग्रोमा परेर
उठेका पाईतालाका फोकाहरु बिसेक हुन नपाउँदै
सोझै युद्धमा होमीएको स्वास्नीमान्छे ।
समयले दिएका घाउ, चोट र निलडाम सहित
छातीमा राँको बालेर
साँगुरो आली – आली र कान्लाहरु मध्यरातमा
छिचोलेको मान्छे
राँके भूतहरुलाई पछारेर , लडाएर
आगोका मूर्छनासँग हाँस्दै जीतेको आगो पिएको स्वास्नीमान्छे ।
चिन्नेहरु विभिन्न उपमाहरु दिन्छन्
उग्रचण्डी रणचण्डी महाकाली जगाउदै
अनेक असुरहरुका बिरुद्ध चुनौतीको पहाड बनेर उभिएको
न्यायको पुल्ठो बाल्दै चट्टान झैँ
परिस्थितिका पहरा फोरेर उदाएको मान्छे ।
म –
तिम्रो क्यान्भासमा सजेको मोनालिसा होइन
तिम्रो कुचीको टुप्पोमा लत्पतीएको रंग होइन
म –
कठोर अग्नि अनि शिखा भएको मान्छे
हत्केलामा फोका उठ्दा ऐया नभनी धैर्य गर्दै
छातीमा गोली थाप्न तयार भएको मान्छे
पुर्खाको त्याग, बाबु बाजेको आदर्श
सृष्टि सम्भाल्दै हिडेको,आगो पिएको स्वास्नीमान्छे ।
मान्छे – मान्छे बीचको असमान पर्खालका बिरुद्ध
सधैं उभिएको मान्छे
राता सेता सबै मानिसहरुको कठोर भिडबाट जन्मिएर
समय र परिवर्तनको बिद्रोह बाँचेको मान्छे
परिवेशलाई चिनेर बाटो हिडेको मान्छे
आगो पिएको मान्छे
युद्धमा होमीएको सिपाही जस्तै
दुश्मनको छातीमा निशाना ताकेर
आफ्नै टाउको बन्दकी राखेर
बिजयको सिंदुर पहिरने तागत भएको मान्छे
म आगो पिएको मान्छे ,धर्ती भएर जीएको मान्छे
म सम्पूर्णतामा बाँच्न सक्ने हो म ज्यूँदो स्वास्नीमान्छे ।
नकाबधारीहरुबाट सावधान
दुश्मन त दुश्मन भइगए
तर, आफ्ना जस्ता देखिने नकाबधारीहरुबाट
साबधान हुने बेला आएको छ
अहिले –
देश दुखेको पीडाको बेला नकाबधारीहरु
आफ्नो असली भूमिकामा प्रकट हुदैछन् ।
माटोलाई माया गर्नेहरु
अन्यायका बिरुद्ध लड्नेहरु
परिवर्तनका लागि मसाल बोक्नेहरु
एकै मोर्चामा गोलबन्द भएर शंखघोष गरौं
अन्यायका विरुद्ध समानता र प्राप्तिका लागि एकजुट होओेै ।
नकाबधारीहरुको नकाब उतार्ने बेला आएको छ ।
भाषा ,संस्कृति र धर्मका बिरुद्ध लाग्नेहरु
जात, भूगोल र पानीमा रंगीन चित्र कोर्नेहरु
सावधान –
आफन्तकै छातीमा गोली ठोकेर
गोहिको आँशु बहाउनेहरुसँग
चिनेर दुश्मनका पदचापहरु
बिधर्मीको ईशारामा चल्ने बस्त्रधारीहरुसँग
बिरोधीहरु त बिरोधी भइगए
तर –
आफ्ना जस्ता देखिने नकाबधारीहरुबाट सावधान हुने बेला आएको छ ।
समय र अनुभूति
सायद –
यो बर्ष यस्तै थियो थुप्रै पृयजनहरु गुमाएँ
आफ्ना र मनले नजिक ठानेकाहरु
अनायास आफूबाट टाढा हुँदा
दुनियाँको परिस्थितिलाई नियालेर मन शान्त गर्दैछु ।
नियतिको पहाडबाट
कयौं पटक लड्दा पनि महसुस नभएको चोटको पीडा
यस पटक भएको छ …..
थाहा छ तिमी छैनोेै वरिपरि
मनकै भित्तामा सजिएको त्यो तस्बिर
र
केवल तिम्रो स्मृतिका भग्नावशेषहरु छन् ।
बेला बेला टेलिफोनमा आएका सन्देशहरु
आतुर छु हेर्न, कतै तिमीले पठाएका मायाहरु पो हुन् कि ?
थाहा छ ती सन्देशहरु अब
आउने छैनन् घरि घरि…
सायद त्यहि अन्तिम फोन थियो
जुन,मैले तिम्रो सम्झनामा गरेकी थिए ….
के थाहा –
यति छिटै सधैंका निम्ति तिमी आकाश पारी जान्छौं भन्ने
माथि माथी बादलसँगै हराउछौ भन्ने
क्षणभर मै बिलाएर मलाई दुखित तुल्याउछौ भन्ने
तर-
चित्त बुझाएको छु यो संसार आक्रान्त छ
मानिसहरु कोहि फर्किने आशामा छन्
कोहि सधैंका निम्ति नफर्किेने यात्रामा छन् …
छुट्ने बेला तिमीले भने जस्तै यो
आवेग र निराशाको कुनै अर्थ छैन
सायद –
यो समय नै यस्तै पर्यो
धेरैको मनलाई रुवाएर गयो
मलाई पनि निराशा दिएर गयो ….
त्यसैले दुनियाँको परिस्थितिलाई नियालेर मन शान्त पार्दैछु
समयको यो वेगले कतिलाई बगाएर लग्यो
कतिलाई नदिका किनाराहरुमा छोडेर गयो
म पनि –
त्यहि बलवान समयको बेगको गतिमा हेलिएकोछु
समयको निर्मम गतिलाई अनुभूति गर्दैछु ।