न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले बिभिन्न आदिवासी जनजातीहरुको हकहित र समुन्नत भविष्यका लागी गत जुलाई १९ मा आर्थिक संकलन गर्ने उदेश्य लिएर एक सांस्कृतिक साँझ (FIPNA Cultural Gala ) कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा फिप्नाका १८ वटा सदस्य संस्थाहरुले गरेको उल्लेखनीय योगदानलाई कदर गर्न यही सेप्टेम्बर २८ तारिखका दिन एक सम्मान तथा आभार कार्यक्रम अध्यक्ष तोरण गुरुङको सभापतित्वमा सम्पन्न गरेको छ।
जुलाईमा सम्पन्न कार्यक्रममा फिप्नाका सदस्य संस्थाको तर्फबाट आ-आफ्नो मौलिक भेसभुसा, संस्कार,संस्कृति झल्कने नाचहरु प्रस्तुत गरि योगदान पुर्याउने कलाकार र स्वयंसेवकहरुलाई यस कार्यक्रममा फिप्नाका अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ । फिप्नाको संघीय परिषदका प्रत्येक सदस्य संस्थाहरुलाई उच्च सम्मान गर्दै आभार पत्र पनि प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधि,समाजसेवी, फिप्नाका सल्लाहकार तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सन्चालन फिप्नाका महासचिब दिपक चौधरीले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पुर्ण मान्यजनलाई फिप्नाका बरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा फिप्नाका सदस्य संस्था किरात याक्थुम चुम्लुङका अध्यक्ष दीपक थेबेले अमेरीकन आदिवासी नेपालीहरुको मुल संस्था फिप्नाले गरेको कल्चरल गाला कार्यक्रममा आफु अन्तिमसम्म बसेर मनोरन्जन लिएको र अति नै चुस्त र राम्रो ढंगले सरसर्ती अगाडी बढेको कुरा बताएका थिए ।
साथै फिप्नाको सल्लाहकार कुलदिप राणामगरले अमेरिकामा रहेका सम्पुर्ण आदिवासीहरुको समस्या र हक़ अधिकारको लागी फिप्ना डटेर लाग्नु पर्ने र हरेक कुरामा नया पिढीहरुलाई सिकाउदै,सहभागिता गराउदै र फिप्नाको महत्त्व बुझाउदै अघि बढ्नु पर्ने सुझाब दिएका थिए ।
समाजसेबी तथा युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका (UKRA) का केन्द्रीय उपाध्यक्ष केसव राम राईले फिप्नाको इतिहास मै उत्कृष्ट कार्यक्रम सांस्कृतिक साँझ (Cultural Gala) भएको र यस्तो पृथक कार्यक्रमहरु निरन्तर थप्दै र गर्दै जानसके फिप्नाले अर्को छलाङ मार्न सहज हुने बताउनुका साथै हामी बीचमा जे जस्तो परिवेशहरु भए पनि आदिवासी जनजातीहरुको एजेन्डा र इसुको लागी सधैं सबैजना एक ठाउँमा हुन सके बलीयो हुन सकिने कुरा बताए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को उद्देश्य विशुद्ध जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडित जातजाती र समुदायको सम्मान, अधिकार र हक़को लागी उभिनु हो भन्ने कुरा पनि स्मरण गराए।
कार्यक्रममा उपस्थित द गुरुङ (तमु) सोसाइटी अफ अमेरीकाका अध्यक्ष ओम गुरुङ र नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष वसन्ती राईले पनि आफ्नो मन्तब्य मार्फ़त फिप्नाको यस कार्यसमितिले अति नै राम्रो काम गर्दै आएको बताए । अझै गर्न बाँकी धेरै रहेको जसको लागि सदैव आफुहरु सहकार्य गर्दै अघी बढ्न तत्पर कुरा पनि वक्ता द्वयले दर्शाए ।
यसैगरी फिप्ना कल्चरल गाला (FIPNA Cultural Gala) का कोअर्डीनेटर तथा संस्थाका सचिव दाजिमा शेर्पाले केही सानातिना कमजोरीको बावजुद पनि सबैको साथ सहयोगका कारण कार्यक्रम सफल भएको कुरा व्यक्त गर्दै सम्पूर्ण कलाकार र भोलिन्टर्सहरुलाई धन्यवाद ज्ञापन गरे ।
अन्तमा कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष तोरण गुरुङले नेपालको सुन्दर प्राकृतिक बनावटसंगै मौलाएका मौलिक संस्कृति,भाषा रीतिरिवाज रुपी वृक्षबाट फैलिएका मुलबासीका सन्तान, आदिवासी जनजाती हामीहरु सदाबहार एकताबद्ध भएर आफ्नो मुद्दाहरूको उठान र हक अधिकार फिर्ता गर्न सदा तदारुक हुन पर्ने कुरामा जोड़ दिए । २०४६ साल तिरबाट आदिवासीहरुले आफ्नो संस्कार, संस्कृति र पहिचानको लागी विशेष संघर्ष सुरु गरेका हुन। तर ३५ वर्ष बितिसक्दा पनि हाम्रा समस्याहरु जस्ताको तस्तै देख्दा दुख लागेर आउँछ उनले भने। अब हामीले राजनितीक पहुँच हासिल गरेर हाम्रो माग र इसुलाई प्रतिस्थापित गर्न नसके हामी सधैं यहीं रहने र ओझेलमा परीरहने तिक्त सत्यलाई उनले प्रकट गरे। कल्चरल गाला (सांस्कृतिक साँझ) कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने सम्पुर्ण कार्यसमिती, कलाकार, स्वयंसेवकहरु, १८ वटा सदस्य संस्थाहरु लगायत प्रायोजक तथा पत्रकारहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन सभापति गुरुङले गरेका थिए ।