- क्रान्ति सुब्बा

हङकङ सरकारले जनवादी गणतन्त्र चीनको ७५ औं राष्ट्रिय दिवस धुमधामका साथ मनाउने भएको छ । चीनमा अक्टोबर १ देखि ७ सम्म एक हप्ताको सार्वजनिक विदा हुने यस अवसरलाई स्वर्ण सप्ताह (गोल्डेन वीक) भनिन्छ । हङकङमा भने अक्टोबर १ तारीख मात्र सार्बजनिक विदा रहेकोे छ।
यस स्वर्ण सप्ताह बिदामा ११ लाख १५ हजार देखि १२ लाखसम्म चिनिया पर्यटकहरु मुल भुमि चीनबाट हङकङ भित्रीने अपेक्षा कार्यकारी प्रमुख जोन लीले गरेका छ्न। जुन संख्या गत वर्षको तुलनामा २० प्रतिशत बढी हो।

हङकङ पर्यटन उद्योग कर्मचारी जनरल युनियनका अध्यक्ष सारा ल्यङले गोल्डेन वीकको अवसरमा ८५० वटा मेनल्याण्ड टुर ग्रुप हङकङ आउने आरटीएचके रेडियोमा बताएकी छिन । करिब १२ लाख पर्यटकहरु भने निजि स्किम अन्तर्गत आउने अपेक्षा गरिएको छ।

हालको स्थितिमा पारी चाइनाबाट आउने पर्यटकको संख्या उच्च मानिएता पनि यो संख्या महामारी पुर्व अर्थात २०१८ सालको तुलनामा कम नै हो। २०१८ सालमा आएका पर्यटकको ७५ प्रतिशत मात्र यस पटक आउने अपेक्षा ट्राभल इन्डस्ट्री काउन्सिलकी कार्यकारी निर्देशक फ्यानी यङ शुक-फ्यानले बताएकी छिन ।

हङकङको एमटीआर कर्पोरेशनले अक्टोबर १ तारीखका दिन आफ्नो नियमित भाडामा २५ प्रतिशत छुट दिने भएको छ। जनवादी गणतन्त्र चीन स्थापना भएको ७५ औँ वर्ष पुगेको उपलक्ष्यमा मनाइने राष्ट्रिय दिवस र मेट्रो सेवा सुरु भएको ४५औँ वर्ष पुगेको अवसरमा यो छुट दिइएको हो। सिमा पारी जाने यात्रुको भाडामा पनि यो छुट लागु हुनेछ ।

एमटीआर कर्पोरेशनले उपलब्ध गराउने यस सहुलियतलाई यात्रुले आफ्नो अक्टोपस कार्ड प्रयोग गर्नुपर्ने छ र यो सुविधा सबै एमटीआर नेटवर्क, लाइट रेल साथै नर्थवेस्ट न्यु टेरिटोरिजमा चल्ने एमटीआर बस सेवाहरुमा प्रयोग गर्न सकिनेछ ।

राष्ट्रिय दिवसको अवसरमा चार सयभन्दा बढी उत्सवमूलक गतिविधि हुने भएकोले तत गतिविधिमा सहभागी हुने यात्रुहरूको आवतजावतलाई सहज बनाउन आठ वटा रेलवे लाइनको रेल फ्रिक्वेन्सी पनि बढाइनेछ।

आइल्याण्ड लाइन, चुन वान लाइन र क्वुन तङ लाइनका रेल सेवाहरू अक्टोबर १ को साँझमा हरेक तीन मिनेटको फ्रिक्वेन्सीमा आउनेछ । साँझका केहि बिशिस्ट प्रहरमा चुन मा लाइनमा प्रत्येक तीन देखि चार मिनेटको अन्तरमा रेलहरू चल्नेछन् । साउथ आइल्याण्ड लाइनका सेवामा पनि दिनको अधिकांश अवधिमा रेलको फृक्वेन्सी उच्च तुल्याइनेछ। 
राष्ट्रिय दिवसमा इष्ट रेल लाइनमा चल्ने रेलहरु बिहान र साँझ सदा भन्दा बाक्लो रूपमा चल्नेछ ।

राष्ट्रिय दिवसमा हुने केही गतिविधिको सुची यस प्रकार रहेको छ।

मनोरञ्जन क्षेत्र

. नेशनल डे फायरवर्कको प्रदर्शनी भिक्टोरिया हार्बरमा अक्टोबर १ तारीख राति ९ बजे हुनेछ ।

.हङकङभरका सिनेमा हलहरूमा टिकटको मुल्यमा ५० प्रतिशत छुट । ग्राहकले पपकर्न र पेय पदार्थका लागि भौचर पनि प्राप्त गर्न सक्नेछन् ।

. हङकङ साइन्स म्युजियम र हङकङ स्पेस म्युजियमका स्थायी प्रदर्शनीहरू साथै हङकङ म्युजियम अफ आर्टका विशेष प्रदर्शनीमा निशुल्क प्रवेश गर्न पाइनेछ ।
. लेजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्टद्वारा संचालित खेलकुद सम्बन्धि सुविधाहरूमा नि: शुल्क प्रवेश गर्न पाइनेछ ।
.हङकङ वेटलेन्ड (सिमसार ) पार्कमा निःशुल्क प्रवेश।

. साइ शा गो पार्कमा खेल सम्बन्धि हुने स्पोर्ट्स थीम कार्निवलमा नि: शुल्क प्रवेश, जहाँ आगन्तुकहरूले फेन्सिंग र रक क्लाइम्बिंग जस्ता गतिविधिहरूमा सहभागीता जनाउन सक्दछन्।

यातायात सम्बन्धि

. अक्टोपस कार्ड प्रयोगकर्ताहरूले एमटीआर नेटवर्कमा रेल भाडामा २५ प्रतिशत छुट पाउँछन्।

. केटाकेटीहरूले केही निश्चित मार्गहरूमा नि: शुल्क बस यात्रा गर्न सक्दछन्।

. हङकङ आइल्यान्डमा चल्ने ट्राममा निशुल्क यात्रा गर्न पाइनेछ ।

.चिम्शा चुइबाट वान चाइ तथा सेन्ट्रल बीच चल्ने स्टार फेरी जहाजहरू नि: शुल्क यात्रा गर्न पाइनेछ ।
. फॉर्च्यून फेरीले सेन्ट्रल-हुङ हाम र नर्थ पोइन्ट-क्वुन तङ रुटको लागि ७५० वटा नि: शुल्क सवारी कोटा वितरण गर्नेछ।

डाइनिङ सुबिधा

. तीन हजारभन्दा बढी रेष्टुरेण्ट तथा बारले खाद्य तथा पेय पदार्थमा डाइनिङ डिस्काउन्ट प्रदान गर्नेछन् ।

. कम्तीमा १० हजार वटा वेट मार्केट र कुक्ड फुड बेच्ने स्टलहरूले २५ प्रतिशत छुट प्रदान गर्नेछन्।

.ओसियन पार्कमा पाण्डा थिममा आधारित खाद्य तथा पेय पदार्थ तथा पाण्डा थिमभएका सामानमा २५ प्रतिशत छुट दिइएको छ ।

सपिङ सम्बन्धमा

. १०० भन्दा बढी सपिङ सेन्टरमा छुट, भौचर र लक्की ड्र को सुविधा उपलब्ध हुनेछ ।
.हङकङमा रहेका विभिन्न २५ वटा सन हुङ काई सपिङ सेन्टरमा सबैभन्दा बढी खर्च गर्ने शीर्ष ३० खरिदकर्ताले जापानको योनागोका लागि दुई वटा राउन्ड ट्रिप फ्लाइट टिकट प्राप्त गर्नेछन् ।

.”7″ वा “5” नम्बर भएको आईडी कार्ड प्रस्तुत गर्ने हङकङ बासिन्दाहरूले तोकिएको सन हुङ काई सपिङ सेन्टरहरूमा हङकङ डलर 150 खर्च गरेर एक थान हङकङ डलर 50 बराबरको एफ एन्ड बी ई-कुपन रिडीम गर्न सक्दछन्।

.

.

तपाईको प्रतिक्रिया