कवितामा प्रतिरोधी चेत कवि सुरज रानाको कविताको स्वाभाव हो , समाजमा रहेका यावत असमानता बिरुद्व उहाँको कविताहरु सधैं बिपरित उभिएको छ । बास्तवमा राम्रो कविताहरूको यो स्वाभाविक स्वाभाव हो । १५ बर्ष भन्दा लामो समयदेखि कविता लेख्दै आउनु भएका रानाका कविताहरुले अन्याय अत्याचार र विभेदको बिपक्षमा उभिईरहेका हुन्छन् । वर्तमानमा उहाँको जब कविता जुलुसमा निस्कन्छ कविताकृतिबाट चर्चामा आईरहनु भएका कवि राना युवा पुस्तामाझ प्रीय कवि हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

तलब

आज तलब आएको दिन हो

किन्नु छ
केही रङ्गिन सपनाहरु आफ्नो लागि

पोत्नु छ
अलिकती गुलाबी मुस्कान श्रीमतीको ओठमा

बाल्नु छ
एउटा उज्यालो लाल्टिन
छोराछोरीको धुमील बाटोमा

समात्नु छ
क्षितिज मास्तिर उड्दै गरेको बा आमाको आयु

दिनु छ
नयाँ उपहार साथीभाइ र आफन्तहरुलाई

च्यात्नु छ
अबोध बा ले ल्याप्चे ठोकेको तमसुक
र मुक्त गर्नु छ
बन्धक परेवा जस्ता जिन्दगीहरु

तिर्नु छ
सास फेरे बापतको कर
आँखा हेरे बापतको शुल्क
पाइला उचाले बापतको महसुल
र केही खुद्रा ऋणहरु

लड्नु छ
महङ्गीको भिमकाय पहाडसँग
भोकको बिस्फोटक ज्वारभाटासँग
अभाबको उदेग लाग्दो खडेरीसँग

आज तलब आएको दिन हो
गर्नै पर्ने तमाम कामहरुलाइ थाती राख्दै
म भने उधारो हिसाब चुक्ता गरेर
भर्खर निस्किदैछु भट्टीबाट ।

अक्षरहरु

कागजको छातिमा बाटो बनाएर
अक्षरहरुले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रीपिटक बन्यो
कागज गीता, पुराण र महाभारत बन्यो
आज यिनै कागजहरुको थुप्रोलाई ढोगेपछि
मान्छे इसाइ बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्ध बन्छ
मान्छे हिन्दु बन्छ
र मान्छे भुल्दछ मान्छे बन्न।

चिहानघरका
चौताराका
देउरालीका
दोबाटोका सिलाहरु माथी
अक्षरहरुले पलेँटी मारेर बसेपछि
मुर्दाका सम्झनाहरुले सास फेर्न थाल्दछन

अशाशकहरुले आदिम सभ्यता देखि
सङ्घर्ष गरेर निर्माण गरेको ईतिहासको अनुहारमा
शाशकहरुको निरङ्कुश अक्षरको झिरले डामिएपछि
ईतिहासले शासकहरुको पैतला चाट्न थाल्छ

अक्षरहरुको ढाडमा पदचाप नराखी
हिड्न सक्दैन समय आफ्नै सापेक्षतामा
अक्षरहरुको दहमा डुबुल्की नमारी
बिचारले बिचारको अस्तित्व गुमाउछ
एउटा युग र अक्षरको सम्भोगबाट
जन्मिएका नया दर्शनहरुलाई
मृत्यु दण्डको फैसला सुनाइदिन्छ अर्को युगले
अक्षरहरुकै खुल्ला इजलासबाट

नसम्झिनु सामान्य
अक्षरहरुकै राको बालेर
जब कबिता निस्कन्छ जुलुसमा

इतिहासको बृहतसभा 

म मजदुर बर्गको मान्छे
खै कसरी पुगेछु
झुक्किएर हो या अचेत भएर
सारा महापुरुषहरु उपस्थित रहेका
इतिहासको सबै भन्दा बृहत् सभामा

मलाइ देखेर
कार्लमाक्सले दारी मुसार्दै भन्यो
साम्यबाद तर्फ अगी बढ कमरेड
चे ग्वेभाराले बिडी सल्काउदै भन्यो
नया क्रान्तिको सुरुवात गर साथी
बुद्धले प्रेमसंग मुस्कुरादै भन्यो
शान्तिको पथ निर्माण गर शिष्य
जिजसले क्रसमा टागिएरै भन्यो
स्वर्ग जाने बाटो खोज मनुख्खे
अब्राहम लिंकनले कोट मिलाउदै भन्यो
सुन्दर सपना देख युवा
नाइटिंगल र टेरेसाले भने
अरुको सेवा गर भलाद्मी
गान्धीले धोती मिलाउदै भन्यो
सत्यको बाटोमा हिड बेटा
बब मार्लिले जोइन भर्दै भन्यो
परिवर्तनको पक्षमा गीत गा तोर्पे
हीटलर र सद्दाम हुसेनले बन्दुक तेर्स्याउदै भने
धर्मको राजनीति बुझ लाटा

खै कसरी पुगेछु
इतिहासको यति बृहत सभामा
र लिन सके अमुल्य सुझाव र ज्ञान

तर दुनिया बदल्ने उत्साह बोकेर
जसै म बाहिरिए सम्मेलनबाट
भोकले कठालो समातेर लतार्दै भन्यो
“भात खानु छ ए मजदुर बेल्चा समात”

तपाईको प्रतिक्रिया