ईश्वर थोकर तामाङ मातृभाषी कवि हुन् । उनको जन्म वि.सं. २०४४ मङ्सिर ४ गतेका दिन काभ्रेको तेमालमा भएको हो । भक्तपुरको न्यातपोल मन्दिर परिसरमा बाल्यकाल बिताएका उनी कविता र संस्मरण लेखनमा पोख्त उनका पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), सिरिया (कवितासङ्ग्रह, २०७५), वाला सुइटर (संस्मरणसङ्ग्रह, २०७५), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) र लीला (शृङ्खला कवितासङ्ग्रह, सन् २०२१) प्रकाशित छन् । ‘तामाङ ग्योइकाइ पुरस्कार–२०७१ बाट पुरस्कृत उनी मानसिक स्वास्थ्य अधिकारकर्मी समेत हुन् । कवितालाई अत्यन्तै मार्मीक र शालिनरुपमा लेख्न सक्ने कविको रुपमा स्थापित उनि पाठक र युवा पुस्तामाझ प्रिय छन्। प्रस्तुत छ साताको तीन कविता ।

भक्तपुर

भूपतीन्द्र मल्ल,
प्लिक्सी, न्यातपोल, क्याफे न्यातापोल,
सेन्ट जोन्स स्कुल, लायकु, सुकुलढोका, खँचापुखु,
होमवर्क, रेनकोट, पुलिस, कम्युनिस्ट पार्टीको घोषणापत्र,
आपा, तेलकासा, टेली–चलचित्र रामायण–महाभारत,
थाङ्का, राजमती, यमरी, जुजुधौ,
घिन्ताङघिसी, म्याङ्गो चकलेट,
हाकुपटासी, नवदुर्गा सिनेमाघर,
बिस्केट–जात्रा, हारपिन बाजा, ट्रलीबस, जादुगर,
बेलुन, ईनार, नेपालभाषा, नेमकिपा, गुरुआमा अमृत्यश्वरी दैवज्ञ,
सिस्टर नोरी भुजू,
चलचित्र ‘दुई थोपा आँसु’
र, “यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैको म आँसु होला कि नहोला ।”
… यी सबैसबै सम्झिरहेछु– यतिबेला !

तिमीलाई पनि सम्झिदिएको छु है
प्रिय !

नर्स

अरूले मलाई भन्दै थिए–
“पागल,
बहुला,
मगज खुस्केको …”

अरूले यति भन्दाभन्दै पनि
तिमीले
मलाई
उनीहरूकै माझमा प्रेमले अङ्कमाल ग¥यौ
र, गर्वसाथ भन्यौ–
“मेरो प्रिय कवि ।”

अभिनय

जीवनमा मैले
छोरा
नाति
दाइ
विद्यार्थी
प्रेमी
शिक्षक
साथी
कवि
पति
… सबै सबैको अभिनय गरेँ
यी अभिनयहरूभन्दा
मेरो पागलपनको अभिनय
सबसे सशक्त लाग्छ मलाई ।

 

तपाईको प्रतिक्रिया