आज हङकङको एउटा उजाड पाखोमा नेपालीहरूले वृक्षारोपण गरेको दिन अर्थात सन् २००१ मार्च २५, आइतबार । यो संवाद जो कोही नेपालीको कर्णले श्रवण गर्न पाउँदा गर्वले शिर र छाती फुलिएर काँडा उम्रिन थाले झैं म भित्र लुकेको नेपालीपनले पनि यसबेला एउटा अननुभुत आल्हादलाई सम्पुर्ण शरीरको रोम रोममा संचारित गरायो । मभित्र विराजमान राष्ट्रप्रेम र नेपालीत्वको मर्मलाई मृदुस्पर्श गर्ने यो घटना सायद जीवनको एउटा अनुपम संस्मरणमा दरिन्छ क्यार । बसाइको उस समयदेखि कायम सहवासको सान्निध्यताले समेत उमार्न नसकेको एक किसिमको आत्मीयता हठात सल्बलाई एउटा परदेशी मनमा छाउने बिरानोपनको बादल छयाङ्ग हुने गरी हटेर सहृदयताले ओतप्रोत भएको मनोहर निर्मल नभमा स्वच्छन्दपूर्वक विचरण भइरहेको अवस्थामा आफुलाई पाएको अनुभूत हुनुलाई वास्तवमा कम दुर्लभ क्षण हो भन्न मिल्दैन ।
बसन्तको शैशव पालुवालाई नियाल्दा सोझै लख काट्न सकिन्छ कि शिशिर भर्खरै गोधुलीमा अलप भएको छ । यो कुराको जाहेरी त हुस्सिलो बिहानीले पनि दिन छाडिसकेको छैन नि त्यसो त । यसर्थमा त बसन्तले पनि आफ्नो प्रतापलाई मधुर गतिमा मात्र प्रक्षेपण गरे झैं भान हुन्छ । त्यसैले होला सूर्यको पारिलो प्रकाशलाई छेक्न मानौं बसन्तले धरतीको समिप समिपसम्म बादललाई खटाएको छ ।
आजको परिप्रेक्ष्यमा भएको बादलुको अवतरणलाई सार्थक मात्र ठान्न मन लाग्दैन । बरू यसलाई त नेपालीको भाग्य उज्ज्वल हुने संकेत हो भन्न मन लाग्छ । बिरूवा रोप्ने दिनमा प्रचण्ड घाम लागेको हुँदो हो त त्यसलाई हाम्रो भाग्य उति साह्रो नसप्रीने लक्षणको रूपमा लिन्थे हुँला । गोर्खालीलाई कस्ता कस्ता भीषण युद्धको बेला दैवले जोगाएको कथा स्मरण हुन्छ मलाई यसबेला ।
बादलुको घुम्टोभित्र हङकङलाई त्यति निर्दयी देखिन्दैन जति गृष्मको प्रचण्ड तापमा देखिने गर्दछ । आज युनलङका बन्जरप्रायः पहाडहरूलाई बादलले आलिंगन गरेर बेस्कन म्वाई खाइरहेछ मानौं तिनीहरू सहवासका लागि चाहिने आवश्यक उष्णता निम्त्याउन जमजमाइ रहेछन् । त्यसो त आकाशका यत्रतत्र कुनाहरूमा काला सेता मिश्रित रंगका बादलहरू वर्षाको रूपमा स्खलित हुनलाई सखारैदेखि यता र उता ओहोरदोहोर गर्दै आपसमा मुखामुख गरेको स्पष्टै देखिन्थ्यो। पक्कै पनि नेपालीहरूले धर्तीमा वृक्षारोपण गर्न लागेको खबरले बादलहरूमा शिघ्रपतन हुने थप बेचैनी, कौतुहलता र आतुरता छाएको थियो सायद ।
अर्धोपत्यका युनलङमा पर्ने आउथाउ नजिक स्थित एउटा थुम्कोको काखमा रहेको प्रस्तावित नेपाली धार्मिक स्थल पार गर्दै केही दक्षिणपूर्व मोडिएपछि अलि विस्तृत फैलिएको अर्को एउटा पहाडको गुह्य अवयवलाई छेदन गरी आधुनिक पुल तीङ्गकाउ हुँदै चिङ्गी द्वीप, लान्तावो द्वीप, काउलुन, पारी हङकङ द्वीप तिर लम्कदै असरल्ल फैलिएका छन् माकुरे राजमार्गहरू । त्यो पत्थरिलो पहाडलाई उधिनेर बनाइएको सुरूङ मार्गलाई ताइलाम टनल भनिन्छ । हङ्गकङ्गका थुप्रै लामो दुरी ओगटेका टनलहरू मध्ये एक हो यो ।
दुवैतिरबाट आउने जाने पब्लिक बसहरू टनलको मुखैमा रहेको यात्रु साटासाट हुने बस बिसौनीमा केही क्षण सुस्ताउछन् । आफ्नो छातीभित्रबाट असंख्यक सवारी साधनहरू निर्धक्क सुल्किन दिने त्यस मझौला कदको पहाड भन्दा दुरस्थ वरिपरि रहेका अग्ला कदका पहाडहरु पनि आज उत्तिकै हुस्सुमय देखिन्छन् । ताइ लाम टनलको मुखैमा रहेको बस बिसौनीदेखि दाँयापट्टि अवस्थित पहाडका कान्लाहरूमा नेपालीहरूको हातबाट बिरुवा रोप्ने कार्य सम्पन्न हुनु कम गर्विलो र उल्लेख्य कर्म होइन । एकातर्फ पर्यावरणको संरक्षण अर्कोतर्फ प्राकृतिक मनोरमतामा वृद्धि, हङ्गकङ्गको बोझ हुनबाट लेस मात्र भएपनि मुक्ति, सम्झी ल्याउँदा मन पनि फुरुङ्ग हुने घरिघरि। लाग्छ हङकङ बसाइको विरानोपनमा एक्कासी अगाध प्रेमाच्छादन भई मनको भित्री तहबाट कर्मभूमि प्रेमको मुल फुटेको छ ।
बिरुवाको गाछि हात हातमा बोकेर नेपालीहरूको लर्को उँभो लाग्छ । अलिक मास्तिर बाटामा दुइवटा साना साना झिल देखेपछि वातावरण त्यसै साहित्यमय भएर आउँछ । अझ वरपरको फाँटमा पहाडको फेदीसम्म फैलिएको पातलो गाउँलाई धुमिलो मौसमले ग्वाम्म अँगालो हालेको दृश्यलाई देख्दा त कुँडुलो लागेर आएको साहित्यमयताको माधुर्यताले यो मनलाई भावविह्वल तुल्याई भावुकताको उपल्लो खण्डमा पुऱ्याउन खोज्छ । तर सम्हालिन्छु आफै ।
उकालो तेर्सो गोरेटोमा भेटिएको ढुंगाको कापमा कलकलाएर शान्त बगेका मसिना कुलेसाहरू देख्दा भने शिवजट्टा, भालुखोला,
आँपगाछी, सर्दु, पकुवा आदि झरनामय पहाडका खोल्सीहरूमा किशोर छँदा गएका पिकनिकहरूको संझना ताजा भएर आँखा अगाडि नाच्न थाल्छन् । यी खोल्सीहरू तराई र पहाडको संगमथलो मानिने धरानका निकटवर्ती पहराहरूमा सुसाएका छन् ।
युनलङ शहरलाई टाढाबाट चियाउने मेरो लालसा भने पूर्ण भएन । ताइ लाम कन्ट्री पार्कको इलाकामा पर्ने त्यस पर्वतको छातीमा वृक्षारोपण गरेको बेला शिरमा उक्लिएर पर्वतको डडेल्ना पट्टि रहेको आफ्नो गाउँ युनलङलाई नियाल्ने होस नआएर नै त्यसो हुन गयो होला सायद । सहजढंगले नयन अगाडि जति दृश्यहरू आए, बस ! ती स्वाभाविक ढंगले चित्राङ्कन हुँदै गए मानसपटलमा । तथापि पहाडी फेदीका विछट्ट प्राकृतिक सुन्दरतामा रमाएर बसेका मातृभूमिका निर्विकार गाउँहरूको संझनाले भने यो मन झस्की नै रह्यो, परको त्यो फाँटिलो बस्तीलाई देख्दा । सायद त्यो देहात सेकङ भिलेज हुनुपर्दछ अनुमान गर्छु । जहाँ गोर्खालीको जिउँदो इतिहासलाई प्रतिबिम्बित गर्ने भग्नावशेषहरू आज पनि देख्न पाइन्छ ।
“अहा ! नेपालीहरूले लगाएको हरियो वन कति मनोहर” भन्न पाइयोस र न्यु टेरिटोरीमा आवत जावत गर्ने सबै नेपालीले कालान्तरमा हाम्रो किर्तिमान देखुन् भनेर बृक्षारोपणका लागि यही इलाका प्राप्त गर्न सरकारसँग माग गर्ने कुरा मलाई अध्यक्ष भोलानाथ थापाले ताइमोसानमा आयोजित आदिवासी संघको कार्यक्रममा प्रसंगवश जनाउनु भएको थियो । त्यस कुरालाई चरितार्थ गर्ने अभियानलाई प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा आज मलाई उपल्लो दर्जाको गर्वानुभुति भएको छ ।
युनलङ डिस्ट्रिक काउन्सिलका चिनियाँ पदाधिकारी र महावाणिज्यदुत जैनेन्द्र जीवन शर्माबाट कलशमा दीप प्रज्जवलन गरी बृक्षारोपण प्रारम्भ भएपछि सबैले उन्मादपूर्ण मुद्रामा वृक्षारोपण के गर्न थालेका थिए, तोपको गोला पड्काएर राजसी सलाम ज्ञापन गरे झैं प्रकृतिले पनि सगरै थर्किने गरी मेघ गर्जनको सलामी चढाइन् ।
अनि त्यसपछि त बादलहरूले पनि गर्जदों अट्टहाससँग दिनको मध्यान्हमा वर्षालाई पठाए । यसरी वर्षा पनि अविरल वर्षिरहिन बिरूवाका फेदहरूमा अनि नेपाली हातहरु पनि अनायासै सल्वलाई रहे पखेरूका कान्ला कान्लामा… बिरुवाका फेद फेदमा… अनि पखेरूका कान्ला कान्लामा…।
साभार:अविराम त्रैमासिक , भोलुम ३, नं २,मे/ जुन २००१,संपादक: क्रान्ति सुब्बा
नोट : क्रान्ति सुब्बा लिखित पुस्तक `हङकङभित्र´ को दोस्रो लेख हो यो। अर्को अंकमा तेस्रो लेख आउनेछ । प्रतीक्षा गर्नुहोस् ।