निरुपा  प्रसून समकालीन कथा र कविता लेखनमा एक स्थापित नाम हो । उनको लेखनीमा प्रेमील अनुभुतिको हृदय रुवाउने अभिव्यक्ति पाईन्छ जसलाई शब्दमा व्यक्त गर्न मुस्किल छ । प्रेमका अनुरागहरुले भरिएका यी कविताहरु वास्तवमा चोखो प्रेमको सुन्दर निशानीहरु हुन्। प्रस्तुत छ साताको तीन कविता ।

बेहुली बिहान

कहाँबाट –
अल्लारीदै आएर थपक्क बस्यो परेलीमा इन्द्रेणी सपना ?
किन आज आफूलाई यतिविधि अग्ली देख्दै छु
कि-
पहाडको कुमसँग ठोकिन्छ कुम
अरुलाई तर्साउन छाडेर कालो बादल लुक्छ मेरै चुल्ठोमा
गुराँसको त के कुरा
भुइँफुलले पनि आज मेरो ओठसम्म पुगेर चुमुँ भन्छ
लाग्छ –
साराका सारा सुन्दर चीजहरुले एकचोटि मसँग यात्रा गरिरहेछन् ।
जोर मादलकै तालले मलाई
यत्ति वयस्क बनाउदै छ कि
धोको पुग्ने गरी नाँचु एकफेर देशसँग
साँच्चै यतिबेला
मेरो हरेक चालमा मारुनी हिँड्दै छ
मेरो प्रत्येक नसामा पालाम घन्किँदै छ
ए, बरालिदै हिड्ने हावा !
आजसम्म मैले तिमीलाई यत्ति जवान कहिल्यै देखेकी थिईन ।
टिपेर ल्याइदेउ न मलाई एउटा घाम
टिपेर ल्याइदेउ न मलाई एउटा जुन
त्यही घाम जुनको टलकमा
हिमाललाई ऐना बनाएर तराईको जग्गेमा बसी
यो बेहुली बिहानमा सजिऊँ एक बेहुली नयाँ युगको ।

म  बादी  नारी

अनन्त विलासा मेरा अभिलाषाहरु
विभुषित छन्, सञ्चित छन्
मेरो भावलोकमा आत्माको चैतन्य छ तर
मेरो बाहिरी र भित्री जीवन
खोक्रो,खुकुलो,हलुंगो र अस्वादमय छ
मेरो दयनिय अवस्थालाई साथ दिने केवल म नै छु
लोकतान्त्रिक व्यवस्थाले मलाई डोर्याएको छ
अधिकारको अभावले मलाई चिहाएको छ

तसर्थ –
मैले आफुलाई असन्तुलित रेखामा, घेरामा र परिधिमा पाइरहेकी छु
किनकि मेरा चित्रविधिहरु
यसरी चित्रित भइरहेको छ समाजमा
कि खुलेआम जुवाडेको अपरिमित जुवा खेलाई
त्यसैगरीकन पियक्कडको रक्सी खुवाइको दर्जामा
तमाम विकृति सहनुपर्दा मेरो हृदयमा
विस्मात्मयको प्रज्ज्वल राँको बल्छ
त्यस राँकोमा म आफै बल्छु डढ्छु खरानी हुन्छु
अनि मलाई हावाले उडाएर लान्छ

कताकता –
अदृश्य भएपछि मेरा कणहरु बादलमा
समावेस हुन्छन् आकाशबाट मेरा कणहरुले

अर्थात-
मैले आफ्नै वातावरण छर्लङ्ग देख्छु
आफ्नो असंगति र विसंगति देख्दा ज्वाला उठ्छ
अनि म चट्याङ्ग चड्किन्छु
मेरो बलत्कारीको टाउको बजार्न
अनि गड्याङ्ग गर्जिन्छु
अपराधीलाई तर्साउन
तर म विफल हुन्छु
बलात्कारी र अपराधीको संहार गर्न
अनि म फेरि ओर्लिन्छु आफ्नै धर्तीमा
केहि सिप नलागेर अनि फेरि मलाई दोहोर्याएर
लोकतान्त्रिक व्यवस्ताले डोर्याएको हुन्छ
अनि फेरि मलाई तेहेर्याएर अधिकारको अभावले चियाएको हुन्छ ।

अभिलाषा

न हावा न पानी चन्द्र हो कि चाँदनी
को हौ तिमी ?
अनुपम भेट भएथ्यो अन्जान दोबाटोमा
तर –
म चिनेजानेको चौबाटोमा
झझल्कोको पसल थापेर
ठहरै मरिसकेका प्रितहरु ब्यूझाएर
घाम पानीमा रुझ्दै पर्खिएँ तिमीलाई
तिमी-

मौसमे बताससँगै लहसिएर बग्यौ क्यार
कता हो कता एउटा झझल्को उधारो दिएर मलाई
मनभरि अभिलाषाको बोकाएर ।

तपाईको प्रतिक्रिया