- बालिका बान्तावा

बालिका बान्तावा-

हेल्लो नुयाङ के गर्दै छस ?
नयाँ किताबहरू एकदुईटा छन् तिनै पढ्दैछु , अ भन खान्नुमा किन फोन गरिस ?
नुयाङ हेर न म प्रेममा छु यार ।
राम्रो कुरा , प्रेम सधै अंकुराई रहनुपर्छ प्रेमले जीवनमा उर्जा दिन्छ सधै जवान राख्छ ।
नुयाङ तैले भनेको ठिकै हो कि तर मेरो प्रेम ईलिगल भईदियो।
प्रेम पनि ईलिगल हुन्छ र ? म प्रश्न गर्छु
हुन्छ नि ….
कसरी ? मेरो फेरी प्रश्न।
जे काम मबाट हुदैन म कहिल्यै गर्दिन भनेथे त्यहि काम मबाट हुन गयो।
आजसम्म कसैलाई भनेकै थिईन सारै नै गारो भएर तै त होस मलाई बुझ्ने मेरो कुरा सुनिदिने भनेर आज तसँग सेयर गर्दैछु।
साहित्यमा रूचि राख्ने हामी दुबै,साहित्यकै कुरा हुदा हुदै थाहै नपाई एक अर्काको अभाव महशुस हुन थाल्यो।
मलाई राम्ररी थाहा छ उसको आफ्नो संसार छ,आफ्नो परिवार छ तर हेर न बोधमा पनि अबोध यो मन,म सतहमा तैरिन नसक्ने गरी थाहै नपाई डुबेछु उसको मायाको गहिराईमा…गन्तब्यहिन यात्रामा हिड्दा पिडा त हुने रहेछ तर धेरै टाडा पुगिसकेछु,न म फर्किन नै सक्छु । दुखेरै पनि हिडिरेछु।

प्रेम भन्ने चिज पनि के रहेछ है ? मान्छेलाई बाच्नको निम्ति चाहिने आखिरमा प्रेम नै रहेछ। त्यहाँ यौन गौण भैदिदो रहेछ। अनुभवहरुले यति लामो जिन्दगी बाँचीसक्दा मलाई एक्लो फिल भएर होला यसबीचमै मैले उसलाई पाएँ । म बिस्मृतिहरुमा फर्कदै उसलाई भने
नुयाङ,अनायसै म नराम्रोसँग दुखेँ । दुख्नुको खास कारण चाहिदैन रहेछ । कहिले उसको मायाले दुख्यो, कहिले उसको परिवारको फोटो देख्दा दुख्यो, कहिले उ सम्पर्कहिन हुँदा दुख्यो,कहिले उ मेरो को हो र आखिर ? भन्ने सोचाईले दुख्यो।
तर पनि उसलाई निकालेर मेरो जीवनबाट फाल्न सक्दीन।
उसको अनुहार प्रिय लाग्छ। उसको आवाज प्रिय लाग्छ। उसको लेखाईहरू प्रिय लाग्छन्। माया बसेपछी उसको सबै सबै नै प्रिय लाग्ने रहेछ । उ कहिले परिवारसँग हुन्छ फोन गर्न सक्दैन । म्यासेज आउदैन अनि म पानी बिनाको माछा जस्तै छटपटिन्छु।
सम्झिन्छु यो नाम बिनाको बेनाम सम्बन्ध भो मलाई चाहिएन । मन दरो बनाउने कोसिस गर्छु तर उसको माया मेरो रगतको नशा नशामा समाहित भईसकेछ । लाग्छ उसलाई भुल्न मैले पुन अर्को जन्म जन्मिनु पर्छ नयाँ जीवन लिएर । भनिन्छ नारीले प्रेम गरेपछी उसको दिमाग चल्न छाडेर हृदय मात्र चल्छ रे। मेरो पनि कहिलेबाट दिमाग चल्न छाड्यो थाहै भएन।

यति समिप गएछु कि उसको धड्कनसंगै मेरो मुटु चल्न थाल्यो ।कहिलेकाहीँ सोच्ने गर्छु यो मेरो मनलाई के भैरहेछ ।
उसले भन्दै थिई खान्नुमा,प्रेम गर्ने बेलामा चुपचाप गरिस अहिले गारो हुदा दुख पोख्छस ? नहिड्ने बाटो हिडिसकिस यो मामलामा तेरो हिरो चाहिँ के भन्छ नि ?
उसले त प्रेम भन्ने चिज पनि फलानालाई गर्छु फलानालाई गर्दिन भनेर हुने कुरा या मागेर पाउने कुरा हो र ? थाहै नपाई कहाँ कतिखेर कोसंग बसिदिन्छ, जे भयो भैहाल्यो अब तिमीबाट टाडा जानु त हैन झन झन नजिक हुनुछ भन्छ ।
मायाको उमेर हुदैन भन्छ। मायाको परिभाषा सिकाउन थाल्छ, ताजमहल,लैलामजनुको कहानी सुनाउछ र भन्छ पाउनु मात्र माया हैन नि टाडा रहेर पनि माया गर्न सकिन्छ। मेरो सदैव प्रगाढ माया छ तिमीलाई भन्छ।

हेर खान्नुमा,पर्दा पछाडीको देखाउन नमिल्ने सम्बन्धले पिडा बाहेक केहि दिदैन तर तैंले छाड्न पनि सक्दिन भन्छस। उसो भए तँ जस्तै अर्को नारीको मन दुख्न कहिल्यै नदे, तैंले आफ्नो अधिकार कहिल्यै नखोज । यसरी नै हिमालबाट बग्दै आएको चिसो पानी जस्तो बग्न दे ।
म उसका शब्दहरुले शब्दहीन, शान्त भएँ तर मेरो चेतना बगीरह्यो यो हावामा। पर हेरेँ हङकङका बाटाहरु शुनसान भैसकेका थिए । तर सडकमा भने बिजुली बत्तीको रौनक उस्तै थियो ।

तपाईको प्रतिक्रिया