-प्रदिप सापकोटा
समीक्षा लेखन एक सुन्दर तर अपजस पाउने कार्य हो । यहि कार्यमा मैले हात हालेको छु । कवि सयपत्री थुलुङ जसलाई म स–शरीर चिन्दिन । तर उनकै गाउँ फर्किरहेको परदेशी हात परेको छ । उनका कवितालाई म कतिको न्याय गर्न सक्छु मलाई नै थाहा छैन् । तर मौलिक कलात्मक र सुन्दर कविताहरु पढ्दा उनी सम्भावना बोकेकी कवि हुन् भन्न मलाई गाह्रो लागेन ।
३५ थुँगा फूलहरु उनेर गाउँ फर्किरहेको परदेशी बनेको छ । विषयगत विविधताका कविताहरुले कृतिमा स्थान बनाएका छन् । नारीवाद,प्रकृतिप्रेम,मायापिरती,प्रवासमा गरिएका मातृभूमिप्रतिको प्रेम लगायतका विषयहरुमा उनका कविताहरु लामबद्ध छन् । उनी यथार्थलाई कवितामा चित्रण गर्छिन् । जापानलाई आफ्नो कर्मथलो बनाएकी सयपत्री त्यहाँबाट मातृभूमि सम्झिन्छिन् । उकाली,ओराली,देउराली,चौतारी, पहाड,बनजंगल,आफ्नो खेतवारीको सुगन्ध,लालीगुराँस,चाप,बुकी र सुनाखरीको बास्ना सबैले उनलाई नोष्टाल्जिक बनाउँछन् । यसैले तिनै भावमा उनी कविता कोर्छिन् ।
‘आधा आकाश,’ ‘आमा’जस्ता कवितामा आमालाई महिलाको बिम्बको रुपमा प्रयोग गरेर सृष्टिको सबैभन्दा सुन्दर कोई छ भने आमा हो भन्ने भावना व्यक्त गरिएको छ । ‘एक थुँगा याद’,‘जिन्दगीको कोलाजमा’ बाल्यकालीन रमाइला पलहरुको स्मरण छ । नयाँ सालको आगमनसँगै कवितामा फेरी विछोड हुनु नपरोस भन्ने कामना गर्छिन् । ‘एउटा यायावर प्रेम’,‘समर्पण’ जस्ता कविताहरुमा प्रेमिल भावको अभिव्यक्ति छ भने ‘अमूर्त सपना’मा अर्गानिक खानपिन र रमाइला परिवेशहरु स्मरण गरिएको छ ।कृतिमा थुलुङ भाषाको कविता पनि राखिएको छ । जसलाई नेपालीमा अनुवाद गरिएको छ । गो छारिमा अथवा ‘कान्छी’ जो प्रकति पूजक छे ।
उनी राष्ट्रिय भावले ओतप्रोत कविता पनि लेख्छिन् । ‘प्राण जस्तै प्यारो देश’,‘टोपी दिवस,गाउँ’ ‘परदेश र विडम्बना’ यस्तै भावहरुमा लेखिएका कविता हुन् । गाउँठाउँ सम्झेकी कविले माटोको मायामा भिजेर कविता सृजना कर्म गरेकी छिन् । ‘गाउँ फर्कनु अघि’ यतातिर पनि लक्षित देखिन्छ । ‘मृत्यूको उत्सव’मा समाज बोलेकी छिन् उनले । भोगाइका बाछिटा परे जस्ता लाग्छ कविता ।
प्रकृतिका सुखदुखका कथाव्यथा पनि उनका कविता वनेर आएका छन् । सम्झनाका भुल्काहरुमा कविता सुन्दर बनेर निस्केका छन् । गाउँको माया गर्ने कविको परदेशिनुको पीडा पनि यहाँ छ । मान्छेका सुन्दर चित्र पनि कवितामा आउँछ । कविताले संसारमा असल मान्छे भएर मान्छे बाँचिरहोस भन्ने कामना गरेको छ । एउटा कविता छ सम्झनामा बालपन । यसमा आफुले खाईखेली हुर्की बढी आएको गाउँघर,खेलेको आँगन, ति चमेली र मखमली फूल,धुपी सल्लाको हरियाली,न्याउलीको विरही भाका,पैयुँको फूल लगायत यावत कुराहरुसँग खेलेको स्मरण कवितामार्फत गरिएको छ । भाँडाकुटीले उनलाई नोष्टाल्जिक बनाएको छ ।
जता सुगन्धमय बासनादार कविता । कतै मायालुसँग गुनासो,कतै आमाको उच्च र विराट सम्मान,कतै मुन्धुमका कुरा,कतै कर्मक्षेत्र साकुराको देशको वर्णन,बाल्यकालतिरको फर्काइ,न्यायमा भएको अन्यायप्रतिको ब्य·बाण सब कुरा छन् कविताहरुमा । विदेशिएको युवा ह्रदयको अन्तरदेखि देशप्रेम उर्लेको छ बेगवान ढंगले । कलात्मक ढंगका सुन्दर कविताहरुले भरिपूर्ण छ सङ्ग्रह । कविता र जीवनविचको सम्बन्धलाई मज्जैले पस्कन सफल कविको यो कृतिमा सुन्दर बिम्बहरुले लेपन गरिएका कविता पढ्न आनन्द आउँछ ।
हाँस्दा हाँस्दै किन झर्छ
आँखाहरुको आकाशबाट मोतीजल…..?
फूल्दाफूल्दै किन ओइलिएर झर्छ
जिन्दगीको बगैँचाबाट प्रेमफूलको सौन्दर्य…?
भुल्दाभुल्दै किन चल्छ यादहरुको आँधी ?
अफसोस ⁄
सम्झनु जस्तो सजिलो त
नहुँदो रहेछ कठै ⁄….बिर्सनु । (एक थुँगा याद)
प्रस्तुत कृतिमा समाविष्ट कविताहरु पाठकले बाह्य आँखाले नै अनुभूत गर्न सक्नेछन् । अभिव्यक्तिका हिसावले उच्चकोटीका लाग्छन् कविता । उनले आफ्ना कविताहरुमा विभिन्न आवश्यक बिम्बको प्रयोग सचेततापूर्वक गरेकी छिन् । कवितामा बिम्ब आवृत्त मज्जैले देखिन्छन् । कविता मार्फत उनको अभिव्यक्ति प्रखर देखिएको छ । ‘प्रवासिएको पीडा’मा देशलाई स्मरण गर्दा धेरैजसो कविता सृजना भएका छन् । भोगेको जीवनको भाव कवितामा परेका छन् । कविताले प्रेमको सास्वतरुपलाई प्रकटीकरण गरेका छन् । जीवन र देशप्रतिको मूल्यवोध दर्शाइएका कविताले पनि कृतिमा स्थान पाएका छन् । लाग्छ उनको चेतनाको गहिराइ खोतलिएर कविता निस्केका छन् । सयपत्री देशप्रेमका मर्मले लछप्पै भिजेर कविता कर्ममा लागेकी जस्तो लाग्छ । मौलिकतामा सृजना जीवन्त देखिएको छ ।
उनका कविता कल्पना सहित यथार्थभावमा आएका छन् । कवित्व भाव अत्यन्तै सचेत देखिएको छ । प्रखर भावभंगीमा सलल बग्ने नदीजस्ता कविताहरुले कवित्वलाई कविताहरु मार्फत जीवन्त ढंगले उतारेको छ । शब्दहरुको लोभलाग्दो सुन्दर संयोजनले कविताहरु मीठासपूर्ण बनेका छन् । राम्रा बिम्बहरुले सौन्दर्यमा निखारपन दिएका छन् । बिम्बविविधा प्रयुक्त भएकाले सरल,अनुबिम्ब,प्रतीकात्मक बिम्ब,गति बिम्ब पनि देखिन्छन् ।
विषयगत रुपमा कविताहरु पृथक भावभूमि र विषयहरुमा रहेका छन् । कविताहरु संरचनामा रहेका छन् । दुर्बोध्य भाषा छैन् । क्लिष्ट शैलीरहित छन् कविता । संरचनागत आयामका हिसावले डिमाइ साइजमा रहेको कृति आकर्षक आवरणमा देखिन्छ ।पैतीस वटा कवितामध्येबाट ‘गाउँ फर्किरहेको परदेशी’शीर्षक कवितालाई रोजिएको छ । शीर्षकृत कविताको मर्ममा परदेशीएको मान्छेलाई मातृभूमिको सघन यादले सताएको कुरालाई अभिव्यक्त गरिएको छ । यसमा स्वेदशको याद,प्रकृतिको वयान,आमाको ममत्वको याद,बाल्यकालका याद,विदेसीनु परेको कारण आदिले कवि नोष्टाल्जिक बनाइएको भाव प्रवल रुपमा अभिव्यक्त भएको छ ।
आफ्नो ठाउँमा पर्खाइको कठीनता र बैचैनी भावलाई पहिलो कविताले ओकलेको छ । कविताहरुले वर्तमान विदेसिएका थुप्रै नेपालीका भावनाहरुलाई प्रतिबिम्बित गरेका छन् । तिनलाई प्रतिनिधित्व गर्छन् । उनीहरुको मनको अभिव्यक्ति ति कविताले दिएका छन् । गहकिला भावहरु कवितामा आएका छन् । तीव्र प्रवाहका गद्यशैलीमा कविता बगेका छन् । उनका कवितामा कविमन पोखिएको छ । शैलीशिल्पको हिसावले आफ्ना मनका अनुभुतिहरु कवित्वमय भावमा प्रयुक्त गरिएको मानव र प्रकृतिको वर्णन गरिएको ,आफ्नो थातथलोको स्मृतिमा सुक्ष्मभाव प्रकट गरी रचिएका कविताहरुको प्रधानता छ । अनुप्रासले भरिएका कविता बडो सुन्दर लाग्छन् । प्रवासिदाको आफ्ना संस्कार,संस्कृति र आफ्नो जन्मभूमिको महत्व कति हुन्छ भन्ने कुरा कविताहरुमा आएको छ ।
कविता कतै अनावश्यक तन्केको भान पर्नसक्ला तर आफ्ना भावका थुँगाहरुलाई सुन्दर र कलात्मक शैलीमा कविता गुथेर पाठक माझ ल्याउन सक्ने कविको खुवी देखिएको छ । यस्तै कलात्मक र सर्वप्रयोग हुने बिम्ब,प्रतीक,शैली र शब्दहरुले कवितामा मीठास भरिएको छ । प्रवासमा बसेर स्वेदशप्रेम दर्शाइ नेपाली भाषा साहित्यमा लाग्नु उनको स्तुत्य पक्ष हो । सयपत्री थुलुङका विचारका सुन्दर पोकाहरुलाई फुकाएर पस्कने उत्तिकै कलात्मक भावहरुले भन्न सकिन्छ नेपाली काब्य जगतमा निरन्तरता भएमा आशा गर्ने नाम हुनेछ ।