मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तक सङ्ग्रह ‘सारवत्’को राजधानीमा सार्वजनिकीकरण भएको छ ।

प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लाग्ने हो भन्दै आफूलाई कार्यक्रममा सम्झेकोमा उनले आभार व्यक्त गरे ।

समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्तुष्टि व्यक्त गरे । ‘उत्कर्ष हुँदै जाने र अन्तिम हरफले रहस्योद्घाटन गर्‍यो भने मात्र त्यो मुक्तक बन्छ जुन कुरा लघुकथाका सन्दर्भमा पनि हुबहु लागू हुन्छ ।’ उनको भनाइ थियो । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खालि फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उहाँले पनि तिनै असङ्गतिलाई पोख्नु भएको छ । ‘शृङ्गारिक मुक्तक पनि छन् यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन् यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन् । जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन् बरू शाश्वत मूल्य बोक्छन् तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन्’, उनको कथन थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे । विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे ।

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए । आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड -२०८० हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो ।

कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम् साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे । मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।

तपाईको प्रतिक्रिया