सुजता लिम्बु मुख्यतः पत्रकारिता र फिचर लेखनमा जमेकी पत्रकार हुन् तर संगै कविता लेखनमा पनि प्रभावकारीरुपमा आफ्नो उपस्थिति जनाईरहेकी लिम्बुको कविताहरुले प्रेम , वेदना र अनुरागको अभिव्यक्तिलाई निकै संवेदनशिल रुपमा प्रस्तुत गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता
प्रतीक्षा
म
बगर बनेर बस्नेछु तिम्रो सामिप्य कुरेर
तिमी छाल बनेर आऊ तर भेल नबन्नु
भेल एकैछिनलाई मात्र हो
थाहा छ नि तिमीलाई ?
मेरो प्रेमिल मुस्कानलाई महशुस गर
तिमी सुस्तरी आऊ
जाडोलाई विदा गरेर आउनै लागेको
बसन्तलाई स्वागत गर्न चैत्रमा बग्ने कोमल समीर झैँ ।
तिमी-
आवेग, उत्तेजनाको साटो सुसेली फुक्दै
बेला बेला बगर छुने त्यो छाल भएर आऊ
आत्मियताको माहोलमा तिमी मलाई डुबाउने गरी आऊ ।
तिमीलाई भेट्नु र नजिकिँदै जानु
तिम्रो अंगालोमा बेरिएर प्रेमको गहिराइमा डुब्नु
सबै–सबै कुराहरूको महत्त्व रहोस्
म त्यही बगर बनेर तिम्रो सामीप्य कुरेर बस्नेछु ।
तिमी
तिमी अन्तिम बनेर आउ
अनकन्टार जङ्गलमा छोडिए झैँ एक्लो यात्रु थिएँ
कहिले गन्तव्यको खोजी गर्दै
कहिले एक्लोपनको सारथी खोज्दै भौतारिरहेको बेला
खै , तिमी कहाँबाट टुप्लुक्क आइपुग्यौं
तिम्रो आगमनले मन दोधारे बनाएको छ
एउटा मन खुसीले पुलपुलिएर नाबालिकझैँ भएको छ
अर्को मन अस्तित्व लुटिने त्रासले डराएर
कुनामा लुकेको किशोरीझैँ बनेको छ
त्यसैले-
हावाका वेग छोडेर, शीतल छहारी बनेर
रित्तिएको खुशीमा स्वार्थरहित साथ बनेर
तिम्रो मायाले भरिएको न्यानो अंगालो लिएर
तिमी यसरी आउकी
मलाई भरिनु छ, समेटिनु छ
जोडिनु छ, तिमी भित्रै हराउनु छ
त्यसैले तिमी पहिलो होइन अन्तिम बनेर आउ ।
अज्ञात’
यादहरुको हवनमा केही थोपा आँसु चढाएर
स्वार्थी शहर छोडी जान मन छ
जहाँ चिन्नेले नचिने झैँ गरून्
देखेर पनि नदेखे झैँ गर्न सकुँ ।
बाटो एउटै हुनेसँग गन्तव्य नमिल्नु स्वभाविक हो
त्यसैले त-
न पाउने न गुमाउने आशाको भङ्गालोमा तौरीरहे
छोडीदिउ क्यारे खाल्डाखुल्डी बाटोमा नमिल्दो गन्तव्य पछ्याउनु ?
सम्बन्धका घुमौरो बाटोमा छुट्दै गर्दा दुखे पनि नदुखे झैँ गरुँला
कुनै मोडमा ठ्याक्कै जम्का भेट भइ हाले देखेर चिनेर
आँखा अन्तै सारौला
नदेखे र नचिनेझैँ गरौंला
यो स्वार्थी शहरमा लुटिएका हजार सपनाहरू यतै छोडेर
जहाँ बुझ्नेले र बुझ्न खोज्नेहरुले बुझ्दै नबुझुन ।