विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्ष लेखक सुरेन्द्र परदेशी तीन दशकदेखि सकृय उहाँ नेपाली साहित्य लेखनमा एक स्थापित नाम हो । संसारभरि छरिएर बसेका नेपाली लेखकहरुलाई एक ठाउँमा ल्याउन संघको अध्यक्षको रुपमा उहाँले खेल्नु भएको भुमिका महत्त्वपूर्ण छ । साहित्यको सबै बिधामा सशक्त रुपमा कलम चलाउदै आउनु भएको उहाँको आधा दर्जन जति कृतिहरु प्रकाशित छन् । उहाँको लेखनले सामाजिक न्यायको बिषयलाई गहनरुपमा उठान गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
चोक मौन छ
अन्यायको विरुद्धमा
अक्षरको बम बनाएर
शासकको टाउकोमा पड्काउने
कविको गिरफ्तारपछि
आजकल चोक मौन छ ।
विद्रोहको मसाल जुलुसमा
दमनको खुनी भिडन्तले
अङ्गभङ्ग भएको सालिक
एउटा सपना समाउने प्रयत्नमा
फेरि निन्द्राबाट ब्यूँझिएको छ
यद्यपि चोक मौन छ ।
किनाराकृतहरूको सिसिफस प्रयत्न
अद्यावधि चलिरहेकै छ
समय लाग्दैन
मान्छेको मन जित्न, हार्न या भत्काउन
त्यही समयको परिणति हेर्न
आजकल चोक मौन छ ।
आस्थामा उभिएर
तिमी आउँछौ भन्ने विश्वासले
आस्थाको धरातलमाथि उभिएर
जीवनको पूर्वार्द्धदेखि नै
म तिम्रो बाटो हेरिरहेको छु ।
धुप जलेको रहस्यमयी धुँवाको लर्कोहरूमा
घण्टी बजेको रनननन् रन्काइहरूमा
भक्तजनहरूले गाएको भजनको गुञ्जनहरूमा
परेवाका सुमधुर घुराईहरूमा
कुखुराका उदेकलाग्दा तर्साइहरूमा
मन्दिरका गजुर र आँखीझ्यालहरूमा
बिहानै कलिलो घामको गहिराइमा
शुक्लपक्षको शीतल जुनेलीमा
म यो मन्दिरको पुजारी
भगवान तिम्रो बाटो हेरिरहेको छु ।
आशाको आकाशमा
आस्थाको इन्द्रेणी टाँगेर
खै कुन रङ्ग भर्नलाई हो
म तिम्रो प्रतिक्षा गरिरहेको छु
हत्केलामा बोकेर यो संसार
दर्शन दिँदै हिँडिरहेका छौ कि
चौध भुवनको अन्तै लोकतिर
हे सृष्टि विधाता परम् परमेश्वर
वर्षौदेखि चढाउँदै जीवजन्तुहरू
फल, फूल र धुप पातीहरू
म यो मन्दिरको पुजारी
भगवान तिम्रो बाटो हेरिरहेको छु ।
घाटबाट अल्पिएका मसानहरू
जङ्गलबाट अल्पिएका बनझाँक्रीहरू
मन्दिरबाट अल्पिएका देवीहरू
चर्चबाट अल्पिएका क्राइस्टहरू
थानबाट अल्पिएका देउताहरू
लाग्छ यी सबै तपाईंसँगै होलान्
सबैको जन्म र मृत्यु पनि तपाईंसँगै होलान्
दुःख र सुख पनि तपाईंसँगै होलान्
सृष्टि र अन्त्य पनि तपाईंसँगै होलान्
जुन दिन हजुरको दर्शन हुनेछ
थाहा छैन म हजुरलाई के वर मागौँला
म यो मन्दिरको पुजारी
भगवान तिम्रो बाटो हेरिरहेको छु ।
प्रश्नहरूको सम्बोधन
कहिले माथिको डाँडैडाँडा
पकन्दी खेल्दै हिँड्ने मान्छे
कहिले खोलाको किनारैकिनार
सुसेली मार्दै हिँड्ने मान्छे
आज तिमी सामु उभिएको छ
आफ्नै अस्तित्वको प्रश्न सोध्न
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?
ढलेको धरहराजस्तै देशको स्वाभिमान
उ स्वतन्त्र उभ्याउन चाहन्छ
रंगेहात समातिएका मन्त्रीको इज्जतमा
निरोध फुटेजस्तै अन्यौल छ यहाँ
पर्दा झरेजस्तै गरिबीको रङ्गमञ्चमा
साथ छुटेजस्तै वितृष्णा छ यहाँ
यस्तै अन्योलको घडीभित्र
उसले आफ्नो हैसियत सोध्यो भने
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?
किन बिलाउँदै छ बहुजाति बहुभाषी
यो एकात्मक अतिक्रमणको घोलमा ?
किन घन्किदैन हाक्पारे ख्याली र सेलो
यो बहुसाँस्कृतिक समाजको आँगनमा ?
किन पाउँदैन दशैँको उचाइ अरु चाडले
यो बहुधार्मिक मूलुकको फुलबारीमा ?
उ सत्तासीन सरकारलाई सोध्न चाहन्छ
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?
मकैको सेपले किन ढलेको छ भटमास ?
जसरी किनारिकृतहरू ढलिरहेका छन्
स्वार्थको आगोमा किन बलिरहेको छ सत्ता ?
हामी दिउँसै राँको बालेर घाम खोजिरहेछौँ
दिनानुदिन किन बढ्दैछ वैदेशिक हस्तक्षेप ?
र बनिरहेको छ यो देश उपनिवेश
उ आफ्नो देशलाई सोध्न चाहन्छ
के तिमी उसका प्रश्नहरूलाई
सम्बोधन गर्न सक्छौ ?