पत्रकार तथा कवि पवित्रा सुनार विगत दुइ दशकदेखि कविता लेखनमा सक्रिय हुनुहुन्छ । उहाँको यस अघि ‘युगको आवाज कविता संग्रह प्रकाशित छ । बिद्रोही चेत बोकेका उहाँको कविता सिमान्तकृत समुदायको आवाज हो प्रस्तुत छ साताको तीन कविता ।

म सलाई हुँ

भन्न त सवै देशमा
नयाँ व्यवस्था आयो भनियो
गणतन्त्र पनि आयो भनियोे
तर खेती चाहि पुरानै
हाम्रो लागि
दिन पुरानै
रात पुरानै
हजुरकोे आगनमा मेरो पाइला पुरानै
हजुरले मलाई हेर्ने आँखा पुरानै
हजुरले मलाई बुझ्ने मन पनि पुरानै
आज रातभरी पानी चुहिएको
मेरो घरको छानो पुरानै हो
अफसोच
हजुर गणतन्त्र आयो भन्नु हुन्छ
घरी–घरी मिठो भाषण गर्नुहुन्छ
कसम मलार्ई गणतन्त्र आए जस्तो लाग्दैन
कसम कोही नयाँ आए जस्तो लाग्दैन
एउटा कुरा नयाँ देखेको छु
हजुरले चढेको गाडी नयाँ हो

हजुरले पहिरेको कोट नयाँ हो
गणतन्त्र भनेको यही हो कि ?

यो पनि थाहा हुनु पर्छ
मलाई धेरै कुरा पुराना मन पर्दैन
एउटा मान्छेले अर्कोलाई अलग्गै राखेको
एउटाले अघाउन्जेल खाएको
अर्को भोक भोकै मरेको
काम गर्ने भोकै परेको
अर्कोे बसी–बसी खाएको
यी तमाम अमिल्दा संंरचना
मनैदेखि मन नपरेपछि
म चुपचाप नयाँ बाटो हिंडिरहेछु
त्योे आगोको बाटो हुन सक्छ
त्यो काँडाको बाटो हुन सक्छ
म कुराको मात्र समानता
फिटिक्कै रुचाउँदिन
भाषणको मात्र मुक्ति
कत्ति मन पराउँदिन
म सलाइ हुँ
अमिल्दा संंरचनामा कोरिन सक्छु
अमिल्दा व्यवस्थाहरु जलाइदिन सक्छु ।।

आँखा

ओहो !
टाढाबाट बगिरहेको हावा पनि
कस्तो शक्तिशाली ?

आफुलाई शक्तिशाली ठानिरहेको
एउटा बिशाल खम्वा धलपल गरिरहेछ
छितिजमा उभिरहेको धमिलो दृष्य
मेरो आँखा
कस्तो गाढा ?
म जति आँखा बन्द खोजिरहेछु
उति आँखाभित्र फेरी
निर्वाध प्रवेश गरिरेहछ

म आँखा बन्द गर्न चाहन्छु
आवाजहरुले मस्तिष्क
खलवलाइरहेछन

थाहा थिएन
बन्द कोठावाट निस्केका आवाजहरु
यति शक्तिशाली हुन्छन
म कान बन्द गर्न चाहन्छु ।

सियो

सवै गुमाएर सवैको कठै भएकी हौ
सवैैलाई सवै दिएर सवैको प्यारी बनेकी हौ
पालैैसंग हानेकोे चोट सहेकै कारण
तिमीलाई सवैले बिचरी भनेका हुन

यति थाहा छ आमा
एक युग दासत्ता भित्र जिएर
सकशैै सकशको जिन्दगी काटेकी हौै
सवैैको प्याराी हुनको लागि पनि
आफुले सवै गुमाउनु पर्दो रहेछ

म अलमलमा छु आमा
सवैको फूल हुने या सवैको काँडा ?
यहाँ आफ्नो हक खोेज्यो भने
काँडा भनिन्छ
काँडाले घेरिएर गुलाफ फुलेको कुरा
यहाँ सवैले गुमनाम राख्छन
र संधै अचानो बन्नेहरुको गीत बन्छ ।

आमा म चाहिंं सियोे बन्न चाहान्छु
तिम्रो खुट्टामा बिझेका
मसिना काँडाहरु निकाल्न पनि
यहाँ तिखो सियो चाहिन्छ
म तिमीलाई बिझाएका सवै काँडाहरु
खोजी– खोेजी निकाल्न चाहान्छु ।

तपाईको प्रतिक्रिया