दुइ दशक भन्दा लामो समयदेखि नेपाली साहित्यको विभिन्न विधामा सकृय लेखक डाक्टर पुरण राई पेशाले नेपाल एयरलाइन्ससँग आवद्ध हुनुहन्छ । उहाँको लेखनमा प्रकृति प्रेम र पहिचानको विषय प्रखर रुपमा आएको हुन्छ । नाटक, कथा , कविता, संस्मरण लगायतको विधामा सकृय हुनुहुन्छ । उहाँको लेखनी वास्तवमा नेपाली साहित्यमा एक सुन्दर उपस्थिति हो। प्रस्तुत छ साताको तीन कविता ।

मुन्दुमले देखाएको बाटो

हिउँदको खुल्ला आकाशसँग रमाउँदै
बर्खाको भुँई कुहरोसँग लुकामारी खेल्दै
वनपाखामा घाँस गोठालो गर्दै
वारि, पारि, लेक बेँसीमा मेलापात गर्दै
पत्तै नपाई बाल्यकाल बितेछ
वसन्तलाई डाक्दै डाँडापाखाभरि हराभरा फुल्ने
लालीगुराँससँग रम्दारम्दै यौवन फुलेछ
यौवनभरि लिम्चिङबुङले बास्ना छरेछ
माया दिवसका दिन
सुनाखरीको आसिस परेछ
त्यही दिन म पनि बाँधिए मायामा
यो माया, यो मिलन
यो हाम्रो दाम्पत्य जीवन

म चाहन्छु, पिपल जसरी सधैं खपिरहू उनको जीवनमा

कोख भरेर, काख सजाएर हराभरा बाँचिरहू उनको जीवनमा
कोख भरियो, काख सजियो हाम्रो पहिलो खुसी
जीवनको सार्थकता, जीवनको विशालता
मायाका वर्षहरु सालसालै बित्दैछ
उनी मेरो सहरा बर भएर
म उनको सहरा पिपल भएर
यो हाम्रो प्रीय युगल जीवन
खपिरहोस् युगयुगका लागि
हाम्रो असिम मिलन
फुलिरहोस् जुनीजुनीका लागि ।

अफसोच खौई के भयो ?
ज्वरो हन्हन्ती आयो
शरीर दुखेर हैरानी भयो
श्वास फर्न गाह्रो भयो
खानाको स्वाद हरायो
होश हरायो
चारैतिर हुरी चल्यो, बतास चल्यो
अध्यारो नै अध्यारो भयो
आकाश गडगडायो, धर्ती धर्मरायो
खै के भयो ?
बिस्तारै आनन्द भयो, आराम भयो,
केही दुखेन, म निदाएछु
ब्युझिएँ, संसार उज्यालो थियो
तर यो संसार बेग्लै थियो
म एक्लै थिएँ
मैले सम्झेँ
पहिलेको त्यो मेरो संसारमा
मलाई माया गर्ने मेरो प्यारो मान्छे थियो
मेरो कोखमा फलेको मुटुको माया थियो
त्यहाँ मेरो आमा, बाबा, बेबे थिए
बहिनी, माइती, नाना, नाता, आफन्त थिए
त्यहाँ मेरा रहरहरु थिए, सपनाहरु थिए
कति भन्न बाँकी थिए, कति गर्न बाँकी थिए
त्यँहा मेरा सबै कुरा थिए ।

म नयाँ संसारबाट फर्किएँ
साबिकको संसार खोज्दैखोज्दै गएँ
भेटेँ तर सबै उल्टो थिए
सुल्टो बनाउन खोजेँ तर सकिनँ
मेरो प्यारो मान्छे र मुटुको मायालाई हेरेँ
आमा, बाबा, बेबे, नाना, बहिनी माइतीलाई हेरेँ
आज किन यति बेस्सरी सबै रोइरहेको ?
बुझ्न सकिनँ
सम्झाउन खोजेँ, सम्हाल्न खोजेँ तर सक्दैसकिनँ
सायद म उल्टो थिएँ
मेरो नयाँ संसार उल्टो थियो
नक्छोले मेरो बाटो छेकिदिएको थियो ।
अन्तमा मेरो दराज खोलेर हेरेँ
केही थिएन
बल्ल मलाई थाहा भयो
मेरो अर्कै संसार रहेछ
मलाई अर्कै संसारको भाग लागिसकेको रहेछ
पापी कोभिडले मलाई चुडिसकेको रहेछ
कोभिडले चुड्दा
मेरो गर्भघरमा भएको
ममताको मुना, खुसीको कोपिला चुडियो
म संसारकै अभागी आमा भएँ
खोई मैले के बिगारेँ कुन्नि ? के बिराएँ कुन्नि ?
यसरी एकाएक मरो अल्पायूमै अन्त्य भयो ?

मेरो गर्भघरमा मेरो ममता अंकुराएको मितिदेखि
उसलाई घामले औइलाउँछ भनेर
शीतल छहारीको सहारा लिन्थेँ
आगोले पोल्छ भनेर बेस्सरी डराउथेँ
आगोको झिल्का देख्दा
हत्केलाले गर्भघरलाई छोपेर भाग्थेँ
तर अहिले चारैतिर आगो नै आगो छ
हुरहुरी बलिरहेको यही आगोको ज्वालाभित्र
मरो शरीर स्तब्ध छ
मेरो गर्भघरभित्र
संसार हेर्न आएको संसारकै अभागी उसको अल्पआयु देखेर
अझ म स्तब्ध छु
गर्भमा ऊ सल्बलाउँदा मायाले सुम्सुमाउने
मेरो हातहरु स्तब्ध छन्
ऊ जन्मने दिन गन्दै रमाउने
मेरो खुसीहरु स्तब्ध छन्
उसलाई गर्भभित्र हुर्काइरहेको मेरो कोख
जन्मिएपछि सजाउने मेरो काख
प्यारले चम्बन गर्ने मेरा ओठ
सबैसबै स्तब्ध छन्
बेगले आगो बल्दैछ, जलाउँदैछ
मेरा हात, कोख, काख, ओठ र खुसीहरु
अब मेरो गर्भघर जल्नेछ
म आहासिन्छु, गुहार माग्छु,
अब गर्भघरलाई हत्केलाले छेकेर जोगाउने
मेरा हातहरु जलिसकेका छन्
शीतल छहारी खोज्दै हिँड्ने
मेरा खुटाहरु खरानी भइसकेका छन्
म जलिसकेको छु, खरानी भइसकेको छु
र पनि म
आगो निभोस भन्छु, झनझन दन्कन्छ
अब आगोले मेरो गर्भघरका नानुलाई पोल्नेछ
म अतालिन्छ, बचाऊ मेरो नानुलाई भन्छु
तर हुरहुरी जल्यो जलिरह्यो
मेरो नानुको सबै अंगहरु खरानी भयो
हे पापी कोभिड ! तैले सबै लुटिस्
मैले जल्नु परयो, खरानी हुनु परयो
मैले एक शरीर माटो पाइनँ
अन्तिम बिदाइको एक मुठ्ठी मट्टी पाइनँ

मेरो दुनीको दिन पनि आइपुगेछ
नक्छोले मेरो खेल्ने ठाउँ सोध्यो
खाने ठाउँ सोध्यो, जाने ठाउँ सोध्यो
मैले फक्रीन्छु भनेँ
त्यहाँ मेरा रहरहरु छन्, सपनाहरु छन् भनेँ
मेरा गर्भमा भएको नानुलाई संसार हेराउनु छ भनेँ
नक्छोले तिमीलाई जाने ठाउ देखाउँछु
खाने ठाउँ देखाउँछु, खेल्ने ठाउ देखाउछु भन्यो
मैलै फर्कन्छु, जाँदैजाँदिनँ भनेँ
नक्छोले लिसोले छेक्छु
पासोमा पार्छु भन्यो
मेरो गर्भमा भएको नानुलाई लिसो लाग्ला
नानु पासोमा पर्ला भनेर
मैले नक्छोलाई जान्छु भनेँ
लिसो नहान्नु पासो नथाप्नु भनेँ
नक्छोले मलाई खुसी भएर जानू भन्यो
हामी पनि मर्छौ
ढुङ्गा पनि मर्छ, माटो पनि मर्छ भन्यो
आकाश पनि मर्छ, धर्ती पनि मर्छ भन्यो
हो अब म जाँदैछु
नक्छोले देखाएको ठाउँमा
ढोल ढ्याङ्ग्रोको लयले जाऊ भनेपछि
देबी देउरालीले पनि जाऊ भनेपछि
नक्छोले फर्कने बाटो
लिसोले छेकेपछि
काहुलोले राकेपछि
मुन्दुमले जाने बाटो देखाएपछि
मैले साच्चै जानै पर्दोरहेछ
म जाँदैछु मुन्दुमले लैजाने संसारमा
अब कहिल्यै भेट हुने छैन
म जाँदैछु मुन्दुमले लैजाने संसारमा ।

माया

माया-
तिमी हिमाल जस्तै उच्च थियौ
तिम्रो उचाइमा मेरो माया फहराउँदै थियो
तिमी पहाड जस्तै अटल थियौ
तिम्रो अटलतामा मेरो माया अजर बन्दै थियो
तिमी तराई जस्तै फैलिएको थियौ
तिम्रो फैलावटमा मेरो माया लहराउँदै थियो
तिमी मेरो जीवनको हर क्षणको भरोसा थियौ
जीवनभरको सहारा थियौ
तर आज तिमी छैनौ
र त म आफू छु जस्तो लाग्दैन
माया ! अचेल त म
बगिजाने आँसु बनेको छु
सुकिजाने आँसु बनेको छु ।

माया
सुम्निमा र पारोहाङ साक्षी राखेर
मछाकुमा पुजेर
दरदाजुभाइ, नाता, आफन्त डाकेर
हामीले हाम्रो माया साटेका थियौँ
सँगै बाँच्ने सँगै मर्ने वाचा गरेका थियौँ
तर कस्तो अफसोच !
कस्तो विडम्बना !
तिमी रहेनौ भन्ने खबरले
तिमीले संसार छोड्यौ भन्ने खबरले
म बेहोस भएछु, मुर्छा परी ढलेछु
जाने बेलामा
मलाई विदा माग्यौ मानेनौ माया ?
तिमी जाने बाटो कस्तो थियो ?
उकाली चढ्दा भञ्ज्याङ र देउराली थियो थिएन ?
ओराली झर्दा बरपीपल चौतारी थियो थिएन ?
तेर्सो जाँदा डाँडापाखा, गैरा, पखेरा थिए थिएन ?

माया !
तिमी गएको ठाउँमा
तिमी बसेको ठाउँमा
घैया रोप्ने घैयाबारी छ कि छैन ?
चार्मा (कोदो) रोप्ने स्वाराबारी छ कि छैन ?
गाईवस्तु, भैँसी चराउने लेकबेँसी छ कि छैन ?
तिमीलाई भेट्न आउँछु भन्छु
तर माया बाटो पाउँदिनँ
चार्माको बिउ राख्ने बेला भयो भनेर
सम्झाउन आउन खोज्छु
घैया रोप्ने बेला भयो भनेर
सघाउन आउन खोज्छु
तर बाटो पाउँदिनँ माया
तिमी कुन बाटो भएर गयौ ?

तिमी फर्केर आइहाल्छौ कि भनेर
तिम्रो बाटो हेर्छु
तर सबै बाटाहरु रित्तो छ, विरक्त छ
तिम्रो आवाज पो कतै सुनिन्छ भनेर
मौन बस्छु
परेवाहरु घुर्छ
चराहरु कराउँछ
तिमी परेवा पो भएर आयौ कि जस्तो लाग्छ
चरा पो भएर यो उड्दैछौ कि जस्तो लाग्छ
तिम्रो तस्बिर हेर्छु
बोल्छौ कि भनेर बोलाउँछु
तर मेरो आवाज चारैतिरका भित्तामा ठोकिएर ढल्छ
हो माया म ढलिरहेको छु
म गलिरहेको छु
तिम्रो माया र सम्झनामा जलिरहेको छु ।

यु. एस. बङ्गला

केही वर्षअघि
छातिभरि आमाको ममता र आशिस बोकेर
आँखाभरि भविष्याको सुन्दर सपना बोकेर
शीरभरि देश सजाएर
रमाउँदै रमाउँदै
बङ्गला ! म तिम्रो आँगन टेक्न पुगेको थिएँ
यो सपनालाई फक्राएर फुलाएर
यही सपनासँग
दोब्बर तेब्बर रमाउँदै रमाउँदै
तिम्रो आँगनबाट मेरो आँगन फर्कँदै थिएँ
मेरो आँगनसम्म तिमीले
उडाउँदै उडाउँदै ल्याउँदै थियौ
आइपुगेछ
मेरो देश, मेरो घर, मेरो आँगन
मैले आकाशबाट
मेरो देश, घर र आँगनको क्यान्भास देखेँ
गर्वले गदगद भएँ
हर्षले खुसीले मत्तिएँ
फक्रिरहेको, फुलिरहेको मेरो सपनासँग
बेस्सरी रमाएँ
आज जीवनको खुसी दिवस ।

आमा !
मैले मेरो आँगन टेक्दै थिएँ
मलाई देशको माया बेस्सरी लाग्यो
मेरो आत्माले भन्यो
विमानबाट अवतरण हुनसाथ
हत्केलामा यो देशको माटो राखेर
जीवनभर यो देशको सेवा गर्ने सपथ लिनुपर्छ मैले
देश र माटोप्रति वफदार हुनुपर्छ मैले
तर आमा !
मैले मेरो देशको आँगन टेक्दै गर्दा
यो दिन, यो बार र यो गते
बेस्सरी निष्ठुरी भइदियो
विमान धर्मरायो, उछिटियो, आगोआगो भयो
आमा !
यो आगोको लप्काले
अलिकति पनि दया नराखी जलाउँदोरहेछ
उज्यालो खोज्ने मेरा आँखाहरु जलायो
खुसीमा मुस्काउने मेरो आठ जलायो
भविष्य कोर्ने मेरा औँलाहरु जलायो
देशको कर्तव्य र माया बोकेको
मेरा मुटु र मन जलायो
जल्न बाँकि केही रहेन
म धुवा भएर हराएँ
खरानी भएर बिलाएँ
आमा !
म जल्दा
यो माटोको माया यो देशको भरोसा जल्यो
आमा ! तिम्रो न्यानो ममता जल्यो
आगोले मलाई जलाइरह्यो
म छट्पटिँदै, चिच्याउँदै
आफुलाई जल्न दिइरहेँ
आमा !
मेरो लामो जीवन जिउने रहर
संक्षिप्त जीवनका रुपमा
सधैँका लागि अन्त्य भयो ।

आमा !
अब त्यो चोक, त्यो चौतारी र देउरालीमा हुँदिनँ
त्यो गल्ली, त्यो मोड र घुम्तीमा हुँदिनँ
आमा !
आउँने तिज, तिहार र पाहाचारेहरुमा
म कहिलै आउने छैन
थालीभरि फूलपाती बोकेर
त्यो मन्दिर, त्यो मठ र गुम्बाहरुमा
पूजा गर्न म कहिलै आउने छैन ।
त्यो चन्द्रगिरी, त्यो नीलगिरी, त्यो फुलचोकीलाई
यो शहरबाट हेर्न कहिलै पाउने छैन
आमा
अब यो शहर, यो घर र आँगन मेरालागि हैन
यो कौसी, यो कोठा
यो दराज, यो सोफा मेरालागि हैन

आमा !
मैले बर र पीपललाई सोधेँ
हामी पनि एक दिन ढल्छौँ भन्यो
जून र घामलाई सोधेँ
हामी पनि अस्ताउँछौँ भन्यो
फूललाई सोधेँ
फुलेर एक दिन झर्छु भन्यो
भगवानलाई सोधेँ
म पनि एक दिन मर्छु भन्यो
हो आमा
यहाँ सबैसबै झर्दारहेछन्
आकाश धर्ती पनि गल्दारहेछन्
त्यसैले आमा नरुनु है ।

आमा !
मैले रोपेका फूलहरुले
मलाई सोधेछ भने
फुल्न नपाई झरयो भन्दिनु
सुवास छर्न नपाई मरयो भन्दिनु
र आमा, ती फूलहरुलाई
हराभरा फलिसकेर झर्नु भन्दिनु
गाउँ शहरभरि बास्ना छरिसकेर मर्नु भन्दिनु ।

तपाईको प्रतिक्रिया