नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि कविता लेखीरहनु भएकी कवि दीपा राई पुन एक स्थापित लेखकको रुपमा परिचित हुनुहुन्छ । पाँचथरको रबिमा जन्मनु भएकी र हाल अमेरिकामा बसोबास गर्दै आउनु भएकी ,उहाँका लेखनले पहिचान र मानवीय समवेदनाको साना साना सम्वेगहरुलाई सरल तथा शान्तरुपमा समेटेका हुन्छन् तर सरल हुदाहुदै पनि आफ्नो लेखनीमा अन्याय र असमानताको बिरोधमा प्रतिकार गर्नु उहाँका कविताहरुको स्वरुप हो । गीत लेखनमा पनि उत्तिकै शसक्त पुनले नेपाली साहित्यमा एमए गर्नुको साथै अर्किड ब्यवसायीको रुपमा देशव्यापी रुपमा परिचित हुनुहुन्छ ।प्रस्तुत छ साताको तीन कविता ।
गर्भिणी समय
बिचारहरु असम्यजसतामा
हावाको वेगसँग दौडदा
एक मोडमा ठोक्किएर मलाई उठेर भन्छ
अनुरोध यो क्षणको ख्याल गर्नु
समय गर्भिणी भएको छ
म –
आफ्नै छाती छामेर अचम्मले झस्किएँ
अनि बोधताको गर्वले मुस्कुराएँ
मेरो डढेलो झैँ जलेको मनलाई
आगोको भुप्रोमा पिल्सिएको देशलाई
थाहै नपाइ आगोकै झिल्काले
हवार हवार बलेको यो घडी नागरिकका मनहरुलाई
मलम लाउन कोही आउने आशले
समयले जन्माएको महान व्यक्तित्वहरुलाई
मैले क्षमा माग्दै भने
तिमीले हिडेको बाटो हिड्न नसक्दा
तिमीले भनेको कार्य गर्न नसक्दा
तिम्रो बिचारहरुको कदर नहुँदा
तिम्रै असल भावनाहरु धरधरी रोएको देखेर
मैले नै समयलाई गर्भिणी हुन अनुरोध गरेँ
समय र जीवनको भूगोल पल्टाउदा
जल्दै मेटिएको इतिहास पढछु
चेतन अवचेतन मनभित्र गढेर
सुकसुकाई रहेको विश्वास जाग्दा
संस्कृति
सम्पदा
सभ्यता
सदियौ देखिको मानवीयता फेरि पुनर्जन्म हुन्छु भन्छ
कामना गर्छु म अब
संस्कृति आ- आफ्नै जन्मोस
सम्पदा हराभरा भएर फूलोस
सभ्यताले सगरमाथा छुन सकोस
सत्य युगको स्वबोध
मनुष्यता पशुपंक्षी,प्रकृतिको भाषा बुझियोस
सत्यम शिवम सुन्दरममा
डढेलो लाउने चेष्टा नगरोस कसैले
यसैले समय गर्भिणी भएको छ
प्रत्येक मुटु जलन रापमा अमृत बर्सन
असिनाले चुटेको पत्रदल जीवन नहुन
आफै जन्मेको ठाउँलाई देश भन्न पाउन
आफ्नै पसिना घोप्टाएर एक पेट भर्न
मौलिक सिर्जना रितिरिवाज संस्कारको
अपहरण हुने छैन अब
आफ्नो सुरक्षा आफै गर्न
आफ्नो निर्णय आफै गर्न
हामीलाई समयले जन्माइरहेछ
बारम्बार आफैबाट आफू हुन
समय गर्भिणी भएको छ
अब हामी मान्छे भएर जन्मनु पर्छ ।
नोस्टालजियामा घोलिएको वर्तमान
समयले चुटेर परिस्थितिले लखेट्दा
आफ्नैको माया धेर हुँदा हुँदै
सपना नगरीमा पाइला पुगेछ
झिलिमिलिमा तिरीमिरी हुँदै
उभिने ठाउँ खोज्दा
आँगन छाडेर आँगन खोज्न
हराएको आफूलाई खोज्नु जस्तै
भेटे जस्तो लाग्दै छाडिन्छ
भूत र वर्तमान
अनिश्चित भविष्य उ पर हाँस्दै छ
सिर्फ त्यो उत्सव मनले भन्छ
घुरेनमा चल्लाहरू खेलेका छैन रे
पाठापाठी दौडेका छैनन् रे
आमा झ्यालमा टोलाएकीछिन्
यस बर्ष भस्में कसले फाड्ने
कोदो कल्ले रोप्ने
छानो छाउन खर कसले काट्ने
बेसी टार र पाखाहरू हेर्दै
आमाको आँसुले बलेसी भिज्छ
सिकुवामा जुत्ता चप्पल घोप्टो छ
जीवनलाई खर्पन लाएर समयले
रात दिन बोकेकै छ
उठ, हिड , केहि गर भन्दै
अलार्मको सिर्कुनाले बजाउँछ
म लुरूलुरू हिड्दैछु
यन्त्र मानव जस्तो
घण्टा घण्टाले हिसाब बुझाकै छ
पसिनाको मोल तोक्दै
तर जीवन उतै छाडि आए
मेरो हंसले देउराली काट्नै सकेन
गोठ सार्दै हिड्दा
खर्कमा बटुलेको रहरहरू
नौकीरी जस्तै झुम्मिन्छन् सपनामा पनि
एकलासमा आमा आँखामा आउँदा
बाँझोको डल्ला फुटाएर समथर पार्छु
भकारी भरी देख्छु अन्न
बालीहरू लहलह देख्छु
तर ज्यानलाई खतरा देख्छु आमा
म फर्केर कसरी आउँ ?
बम बारूद सस्ता छन् रे
एमबुसको जाँतोमा
कलिला मनहरू पिसिन्छ रे
दाईले भाईलाई पासों थापेर
घाइते भएको हेर्नुलाई
दोबाटो चौबाटो ढुकेर
प्रतिकारको जुलुस निकालिन्छ रे
सोझोलाई सपना बेचेर उक्साउदै
जीवनलाई बन्दुकको नालबाट उडाइन्छ रे नी आमा
मलाई मृत्यूसँग सधैं घृणा छ आमा
मलाई फुलिरहने मन छ जीवन बागमा पनि
खोरिया खनेर उब्जेको हरियो बाली जस्तो
रहरहरू दुबो मौलाउन मन छ
घरदेशको तीतेपाती सम्झी सम्झी
परदेशमा शुद्धीकरण गरिरहन्छु आफूलाई
तिमीले खुवाएको टिम्बुर , खानाक्पा र चिम्फिङ्गले
म जाति छु आमा हृदयबाटै
तिम्रो सम्झनाको संवेगले मात्र पनि
म पदार्थ भएको छुइन आमा
पाइला तिमी सम्म पुगेन
अबिजय युद्ध लडेर
कसैको स्वार्थलाई शहिद नहुनु हो आमा
जीवन सफलताको अभ्यासमा
एकलव्य भएर निस्कनु छ
तर म द्रोणाचार्यलाई गुरू मान्ने छैन
मेरो योग्यता क्षमता र शक्तिको गुरू
म आफै हुनेछु
म आफ्नो अस्तित्वलाई
गुरू भेंटी राख्ने छैन आमा
वन फूल हूँ फूल्दो छु जहाँ पनि
बिचारले भस्में फाड्दै
अस्तित्व निश्चय उमार्छु ।
जीवन–जयन्ती
म बेरोजगार, लाचार र निरुपाय भएको त्यो बेला
देशका ठेकेदारहरू सम्झिसम्झि मुर्मुरिन्थेँ
टुँडिखेलमा बडेमाको खाल्डो खनेर
नेताहरुलाई पुरेको सपना देख्थेँ ।
अहिले समयनदीमा हेलिएर
अनुभवको शान्त छहारीमा आईपुग्दा
मनमनै गम खाँदै सोच्दछु–
बित्थामा यी नेताहरूलाई किन पुर्नु ?
बरू लाईन लगाएर
हत्केलामा गैँती–बेल्चा–झम्पल–कोदालो दिएर
बाँझाहरुमा जीवन–जयन्ती मनाउन पठाउनु पर्ने जीवनभरि
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।
बाटो खन्दैखन्दै स्कूलसम्म पुर्याउन,
त्यहीँबाट दोबाटो जोडेर अस्पताल बनाउन
समृद्धिको साम्राज्यले देशलाई सिँगार्न
यिनलाई मिहिनेतको पोखरीमा डुबाएर हरघडी
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।
शक्तिका निम्ति षड्यन्त्र रच्ने खेलाडीहरू
आत्मग्लानिले सड्छन् सड्दैनन् थाहा छैन
आफूले फैल्याएको दुर्गन्ध
यिनले सफा गर्छन्–गर्दैनन् थाहा छैन
तर, जीवनले तिनलाई क्षमा गरेको यस घडी
सर्वाङ्ग पखाल्न मन छ यिनको अमृतले
ताकि यिनको दृष्टि फेरियोस्
र यिनले सबैलाई समान देखुन्
खूनको रङ् एउटै हो भन्ने महसुस गरुन्
शक्ति, उन्माद र अहंको दलदलबाट निस्किएर
निमुखा, निर्बल र निर्धनका निम्ति
समर्पित हुने सुविचार यिनले जपून् सँधैभरि
सजायँ यस्तो दिन मन लाग्छ आजभोलि ।