पूर्वी नेपालको झापाको शान्तिनगरमा जन्मिएकी भारती न्यौपाने हाल ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २३ हात्तीवनमा बसोवास गर्नुहुन्छ। पेसाले शिक्षकको रूपमा क्याम्पियन एकेडमीमा अध्यापन गर्ने वहाँले नेपाली विषयमा दर्शनाचार्य तह ( एमफिल ) पूरा गरी विद्यावारिधिको उपाधिका लागि नेपाली नाटकमा अभिव्यञ्जना शीर्षकमा शोध अनुसन्धान कार्य गर्दै हुनुहुन्छ। बिशेषगरि अध्ययन अनुसन्धानमा रुची राख्नुहुने वहाँका थुप्रै फुटकर कथा र कविताहरू प्रकाशित छन् । उहाँका कविताहरुले मानवीय मनोवेगहरुलाई निकै शालिन रुपमा प्रस्तुत गरेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

एउटा अपरिचित साँझ

पूर्णिमाको रातमा –
पूर्वीय क्षितिजबाट जून उक्लिए जसरी नै
एउटा अपरिचित साँझ
मेरा अगाडि आयो
र निर्धक्क उभिरह्यो।

अन्जान उसका हात लम्काएर
परिचयको एउटा टुक्रा
मेरो हातमा खुत्रुक्क खसायो
र आफ्नो बाटो लाग्यो।

त्यो असामान्य उपस्थिति
एउटा बृहत् ज्ञानको पवित्र पुस्तक जस्तो,
काव्यहरूको सङ्गालो जस्तो,
तपस्वीको प्रवचन जस्तो,
अनन्त आनन्दानुभूतिको क्षण जस्तो।

समयले संयोजन गरेको
त्यो मादक साँझलाई
मेरा आँखाहरूले अनौठो अनुभूतिसँगै
स्पर्श गरिरहे।

ऊ सजाउँदै गयो आफ्नो परिचय
मेरा आँखाहरूमा परिचितको ट्याग लगाएर,
अन्योल अनि भयको डुङ्गा चढेर
म तैरिरहेँ त्यही तलाउमा
जहाँ फक्रिरहेका थिए
प्रेमका गुलाबी कमलहरू।

समयको यात्रा थियो त्यो-
म डोर्याइएँ भयङ्कर डरलाग्दो भर्‍याङतिर
अनि हिँडिरहेँ उसकै पाइला पछ्याउँदै
त्यहाँ उक्लिनु समयको गति हो सायद

म आनन्दित भावमा
गुनगुनाइरहेँ आँखाहरूले
त्यही साँझको स्पर्शमा
मभित्र त्यो अपरिचित साँझ
प्रेम भएर बास बस्यो
जसरी बस्छ हृदयमा सुन्दर मन स्मृति बनेर ।

कुमारी आमा !

गर्भिणी म,
खोकिलामा बचेरो चेपेर
उकाली धाउँदै सुस्केरामा
एक सर्को स्वास फालेर
जीवित महसुस गर्दै
नाम्लोले निचोरिरहँदा पनि
उक्लिरहेँ …..

भीमकाय पर्खाल र
चप्लेटी ढुङ्गाहरू नाघेर
थकाईमा निस्कदा,
न विषाद, न दुख लाग्यो
आमा हुनुको
सुखद अनुभूतिमा ….

सोच्थेँ पर्खाल ननाघ्न
तर पनि
संस्कारका पहराहरूमा
डर लागेन किञ्चित

आकाङ्क्षाका कुन्यु लगाएर
वर्षौदेखि
पाथी पाथी भूमे भर्ने रहर बटुली
मातृत्व बचाइरहेछु,
मसीको पर्दा लतारेर
म कुमारी आमा !

समयको धागोमा टेकेर

मध्यरातमा
निद्राबाट ब्यूँझिएर
छेउमा निदाइरहेकी आमालाई
नरम औँलाले बिस्तारै स्पर्श गर्ने शिशु हत्केला जस्ता
ती गाउँका अनुभूतिहरू अनायासै सलबलाउछन् ममा ।

दौडिन्छु हतार गरेर
र, सम्झिन्छु बाटाभरि
ठेस लाग्दा सरापेका ती ढुङ्गाहरूलाई
उफ्रिँदा बल्ढ्याङ खाएका ती बदमास कान्लाहरूलाई ।

म आफैँसँग एकछिन् लजाउँछु र झस्किन्छु
नाङ्गै उभिएर घामलाई जिस्काएको ती क्षणहरू सम्झेर
लाजले भुतुक्क हुन्छु अहिले पनि।

सुपारीका बोटमा सुरुली खेल्दा
पिल्सिएका जघारका त्वचाहरू
सोइ- सोइला खेल्न भाँचेका रुखका हाँगाहरू
अनि चिप्लेटी खेल्दै हिँडेका ती हावाका पाइलाहरू
सबै- सबै आउँदा सम्झनामा, समयको धागोमा टेकेर उभिन्छु ।

चिप्लेर लडेको त्यो भिरालो गल्छिँडो
गल्लीभरि उन्युँ र सीमेझारको सुगन्ध
हरियो सिमलीको बोटमा लागेको त्यो पहेँलो लहरा
ऋतु स्नानपछि सुग्घरी बनेकी कुनै युवती जस्तो आकाश
छातीमा मजेत्रो बाँधेर चुल्होको छेउमा
खाना कुरेर बसेकी बुढी आमै झैँ गाउँको त्यो सफा पधेँरो
लुकेर मलाई नै बिस्तारै चिहाउने त्यो प्रिय घाम ।

यी सबै- सबैको सम्झना आउँदा अनायास
हतारिएर फेरि पुग्न खोज्छु-उही मेरो प्रिय गाउँ ।

तपाईको प्रतिक्रिया