नेपाली साहित्यमा २०५० सालदेखि कविता लेख्दै आउनु भएका कवि हिमाल ओसिरिस राम्रो चित्रकार पनि हुनुहुन्छ । उहाँका कविताहरुमा अनुभूतिको प्रखर संवेदनशीलता भेटिन्छ । मधुरो छाया जस्ता यी कविताहरु पाठकका निम्ति गहकिला अभिव्यक्ति हुन् प्रस्तुत छ साताको तीन कविता ।
एक्लो घर
ऊ-
रातमा ताराहरुका झिलिमिली मस्त निदाउँछ
दिनमा झरनाहरुका मधुर धुनसगैँ मीठो गीत गाउँछ
हर समय –
हिमालका स्वच्छ मुस्कान मुग्धता पिलाउँछ
चुलोको आगो नबले पनि
भोक टरेकै छ, शोक मरेकै छ
सम्पन्नताले साथ नदिए पनि
स्वधिनता बाँचेकै छ / स्वतन्त्रता हाँसेकै छ
उ ताराहरुसँगै निदाउँछ
उ झरनाहरुसँगै गाउँछ
उ हिमालहरुसँगै मुस्कुराउँछ
उ आफ्नै जीवनसँग रमाउँछ
निकै पर त्यो एक्लो घरमा बर्षौदेखि बसीरहको बूढो मान्छे ।
तस्वीर
हिज अनि आज
बिगतका स्मरणीय अणुहरु
एकीकृत हुँदैछन्
भोलि अनि पर्सि
अज्ञातका डि एन ए हरु
बिखन्डन हुने संभावना बढ्नेछ
त्यसपछि
स्वर्वस्व बोकेर हिड्ने
समय पनि सिसा झै फुट्नेछ
हिज अनि आज
विकेन्द्रीकरण हुन एकीकृत हुँदैछ
तिम्रो झल्झल्को झल्काउने पूराना तस्वीरहरु ।
अनुभुती
हेर्छौ भने
खुल्ला आकाशलाई हेरिराख
जबसम्म तिमी आफूनै आकाश भएको अनुभूति गर्दैनौ
जबसम्म तिमी आफू नै आकाशमा परिणत हुँदैनौ ।
जहाँ –
न स्वार्थका वर्गीकरणहरु छन्
न त्रासका बन्धनहरु छन्
न वर्णका भागबन्डाहरु छन्
न अशान्तिका साम्राज्यहरु छन् ।
हेर्छौ भने –
आकाशलाई नै हेरिराख अनि आफूलाई आकाशमा परिणत गर
त्यसपछि –
तिमीले महसुस गर्नेछौ
मैले किन ताराहरु बोकेर तिम्रो सामु उपस्थित भएको थिएँ ।