लेखक प्रोल्लास सिन्धुलीय समकालिन नेपाली साहित्यमा स्थापित नाम हो, विशेषगरी नेपाली नेपाली साहित्यको कविता लेखनमा आफ्नो अलग्गै पहिचान बनाउन सफल उहाँका कविताहरुले मानवता, शान्ति र सदभावको निम्ति अपिल गरेका हुन्छन् । दुइ दशक भन्दा लामो समयदेखि कवितामै जमेको सिन्दुलीय उपन्यास र अन्य बिधामा पनि त्यतिकै शसक्त हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

शहरको वृद्धालय

कुत्लुङकुत्लुङ गर्दै
एक बट्टा पानीजुस आउँछ
र, हाम्रो मातृप्रेममाथि तुष हालेर जान्छ
लन्ठङलन्ठङ हल्लिँदै
एक किलो देशीस्याउ आउँछ
र, हाम्रो पितृभक्तिप्रति शङ्का उछालेर जान्छ ।
यी एक किलोवादी आफन्तपनसँग
हामीलाई चिढचिढा छ
वर्षौंपछि उनीहरू आउँछन्,
सिर्फ एक पटक तन्ना टकटक्याएर जान्छन्
त्यो धूलोले
बाको श्वासप्रश्वास बढ्छ
आमालाई हाच्छिउँ सुरु हुन्छ ।
“बुहारी औँलामा नचाउँदी रै’छे छोरोलाई ! ”
“छोरो हरिलट्ठकलाई काम भए पुग्दो रै’छ !”
“यी अचेलका ठेट्नाहरू
के थाहा यिनलाई बूढाबूढीको महत्त्व ! ”
बन्न कत्ति सजिलो हुँदोरहेछ— उपदेशक !
दिन असाध्यै मज्जा लाग्दो हो— अर्तीबुद्धि ! !
“यस्तो तालले नि बाउआमा पालिन्छ ! ”
यो अतिरिक्त व्यङ्ग्यवाणले
दुवै थरी
मर्माहत हुन्छौँ घरीघरी
सोधे के जवाफ दिँदा हुन् तिनले—
“बाआमाले तिम्लाई कति वर्ष पाले अरे ?”
मेरा स्वयम्–सेवक छोराछोरीको
‘आदरको शब्दकोष’ कन्फ्युज्ड हुन्छ
वार्डेन पत्नीको
‘सद्भावको सङ्लो नदी’ धमिलिन खोज्छ
म इन्चार्ज यो वृद्धालयको
आफ्नै दैनिकीसँग भरङ्ग हुन्छु ।
बा–आमाको पसिनाको घर
जन्मजात भइरह्यो— हाम्रो घर
हाम्रो पसिनाको घर
कसरी हाम्रै बा–आमाको भएन ?
जसको छत्रछहारीमा छौँ
जो विना क्षणभरमै अनाथ हुनेछौँ
हामीलाई
तिनै बा–आमाकै नाथ ठान्ने उल्टो शिक्षा
कुन शिक्षालयले सिकाएर पठाउँछ ?
म स्वयम् बा हुँ
बा–आमाका
पूरा हुन नसकेका सपना जित्ने प्रयत्नमा छु
बा–आमाको
रक्तकण मिसिएको इच्छा मिसिएको
आफ्ना अधुरा रहरहरू समेटेर
छोरोलाई ‘बाउ’ बनाउने युद्धमा छु
मास्टरहरू आउँछन्,
पढाएर जान्छन् नैतिक शिक्षा—
नैतिकताकै बूढो रूखलाई
दीर्घरोगीहरू आउँछन्—
उपचार सिकाएर जान्छन् !!
भन्नेले जेसुकै भनून्
आऊ हामी
यो वृद्धालय चालू राखौँँ
तिमी वार्डेन बनिराख
म इन्चार्ज छँदै छु
छोराछोरी स्वयम्–सेवक बनिरहलान् ।
बडो आत्मीयतापूर्वक
ढोकामा यौटा बोर्ड राखिदिऊँ—
‘एक किलो विषादी ल्याउनेहरूलाई
यो वृद्धालयमा
प्रवेश निषेध छ ! ’
शहरको शिक्षालय
पाँच बजेको होइन
बजेको हो—
जिन्दगीको अलार्म घडी
उठ भविष्यका कर्णधार !
दूध गाडीले होइन,
गाई–भैँसीले दिन्छ
चामल बोराले होइन,
खेत–खलियानले दिन्छ
तरकारी खर्पनले होइन,
बारी–टारीले दिन्छ
पढ्नु छ सर–मिसहरूसित कत्तिकत्ति !
बोक भारी किताबको
दौडिएनौ भने छुट्छ— स्कूलबस
कुद सपनाका धरोहर !
दिनभर के–के पढ्यौ ?
चामलको बोट ?
दूधकोे मुहान ?
तरकारीको जात ?
पढ्यौ होला— रेशम कीराको जीवनी !
पक्कै पढेनौ
हामीले सम्झाउन छुटाएका कुरा—
— दूध गोरुले दिलाउँछ
— भात घोडाले कमाउँछ
— तरकारी भेडाले उब्जाउँछ
— लुगाफाटो खच्चडले बुन्छ
— शिक्षा गधाले प्रदान गर्छ
ती गोरु–घोडा–भेडा वा खच्छड–गधा
सिर्फ तिम्रा बाबु–आमा हुन् ।
सर–मिसहरूको थर के हो ?
थाहै नहोला तिमीलाई
कसरी थाहा होस्—
त्यो स्कूल, जहाँ तिम्रो आधा
अनि तिम्रा सर–मिसहरूको
बचेको जिन्दगी सकिन्छ,
सरकारले डामेर छाडेको
कुनै साँढेको हो भनेर !
तिमीले मगजमा
कोर्दै गरेको चित्र बोलिरहन्छ—
पढाइ सकेर तिमी कहाँ जानेछौ ?
कसले बनाउन सिकायो यस्तो कुरूप नक्सा—
जसमा छैन तिम्रै देशको प्रष्ट चित्र ?
शहरसमेत धमिलो छ !
गाउँ खोई ?
हाम्रो घरसम्म पुग्ने बाटो खोई ?
कहाँ छ तिमीले पढेको शिक्षालय ?
सोध पढाउनेलाई—
किन देशबाहिरका रेखाचित्रमात्रै
झल्झलाकार छन् यसमा ?
यस्तै पढेका थिए तिम्रा सर–मिसहरूले ?
पढेका भए
किन छन् उनीहरू यतिबेलासम्म
यही धमिलो चित्रभित्र ?
तिमी बुझ्दैनौ यो राजनीति
सुत यो देशका प्यारा बच्चाहरू !!
गाउँको वृद्धालय
बूढाबूढीमात्र छौँ गाउँमा
छोराछोरीहरू छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नातिनातिनाहरू छैनन् ।
आँगनको डिलमा फूल छ
तर, टिप्ने कलिला आँखाहरू छैनन्
त्यो अम्बाको बोट,
जसमा
चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरू
त्यो पाक्दै–खस्दै गर्न थालेको पनि वर्षौं भयो !
बिहान जसरी रित्तो ब्युँझन्छ
उस्तै गरी सुत्छ
रित्तोरित्तो साँझ ।
डाँडामै छाडेर डाँडामाथिको घाम
आफैँ अनाथ भएका छन्
शहरमा छोराछोरीहरू
आउँछन्,
अभावले चिथोरेको अनुहार
देखाउँछन्, जान्छन्
एउटा कैदीजस्तो जिन्दगी दिन्छु,
‘हिँड्’ भन्छन्
वनै मगमगाउने वनफूल
‘गमलामा सजाऔँला’ ठान्छन्
पिँजडाको लोभ देखाउँछन्
गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई ।
यी डाँडा–पाखाहरू
टारी–फाँटहरू
जङ्गल–चौतारीहरू
अनि, बाँडेर कहिल्यै नरित्तिने मन
कसरी अटाउनू
उनीहरूको साढे दुईआने शहरमा ?
बाँच्नुको दुःख बिल्कुलै छैन यता
पोथ्राको गुँड हेरेर पनि
जिन्दगी चलेकै छ
— बच्चा काढ्छन्
— मुखको गाँस खुवाउँछन्
— उडाउँछन् हाँगाहाँगा पछ्याउँदै
त्यही हाँगामा तुर्लुङ्ङ
झुन्ड्याइदिन्छन् अन्तिम श्वास
तथापि
आस गर्दैनन् बच्चाहरूसँग ।
बूढीलाई
रातो लगाएरै मर्ने रहर छ
उसको जीवनको रङ खोसेर
उडिहाल्ने पो हुँ कि जस्तो हुन्छ कैलेकैले
उस्तै त्रास भक्कानो बाँधेर
बर्बराइरहन्छु—
‘भित्रिएकी थिइस् तँ अघिअघि
बाहिरिने पालो मेरो अब ! ’
जत्ति बूढो भएनि नसुक्ने
पसिनाको गन्ध उस्तै छ
जत्ति हिउँद खेपेनि उर्लिरहने
आँसुको भेल उस्तै छ
एक–अर्काका
ससाना दुःखहरूसँग
जिस्किरहन्छौँ, झस्किरहन्छौँ
तर, सास छउन्जेल
यो मन्दिर छाडेर कतै जाँदैनौँ !
यौटा पशुपति
म उनको यतै छु
यौटी गुह्येश्वरी
उनी मेरी यतै छिन् ।

तपाईको प्रतिक्रिया