भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार दाजु गुरुङको डायस्पोरिक कथा संग्रह ‘लाइ-सी’ माथि भोजपुरमा परिचर्चा भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कवि/गीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गरेका थिए ।
परिचर्चाकारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता तथा कथागत विशेषताहरू माथि चर्चा गरे । समग्रमा कथाकृति लाइ-सीले नेपाली साहित्यको कथा क्षेत्रमा एक राम्रो उपस्थिति जनाएको निष्कर्ष परिचर्चाकारहरूले प्रस्तुत गरेका थिए।
कार्यक्रममा खोटाङ जिल्लाको हलेसीमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुने भोजपुरका कवि सँग्राम किरातीलाई सम्मान पनि गरिएको थियो भने उदयपुरका अतिथि कवि जीवन आरोहीले कविता वाचन गरेका थिए ।