नेपाली साहित्यको कविता लेखनमा भर्खरै उदाउदै गरेका कवि किरण सिवा प्रसस्त संभावना बोकेका युवा कवि हुन् । उनका कविताहरुले प्रेम , करुणा र बियोगपछि उत्पन्न मानवीय मनोदशालाई शसक्त रुपमा व्याख्या गरेका हुन्छन्। समग्रमा भन्नुपर्दा उनका लेखन शिल्प निक्कै खारिएको छ जो पछिसम्म नेपाली कविता लेखनमा अडिग भएर रहन सक्छ । प्रस्तुत छ साताको तीन कविता ।
कारण
सोची बस्छु –
आँसु खस्नुको पनि कारण हुन्छ
खुसी हुनुको पनि कारण हुन्छ
तर कसले सम्झाई देला ती आमालाई
परदेशमा छोरा बेपत्ता भएको कारण
आमा यत्ती बुझ्छिन मैले पर्खिनुको कारण छोरा हो
कसले सम्झाई देला ती चेलीलाई
उसको अस्मिता लुटिएको कारण
उ यत्ती ठम्याउन सक्छिन
सायद म रित्तिनुको कारण छोरी भएर जन्मिनु हो
कसले बुझाईदेला पिताका ती हातहरुलाई
उसका हातहरु पसिना पुछ्ने हातहरु मात्र होइनन
आशीर्वाद दिन सन्तानको सिरमा सजिने हातहरु पनि हुन
कसले सुनाई देला ती अबोध बालकलाई
बिभेदको कारण
जो साथीसंगै आगनमा खेल्दा
दैलो कट्छ कि भनेर
बालापनको हातहरु छुटाई निरंकुशताको पञ्जाबाट धकेलिन्छ
उसको समानताको मस्तिष्कले बुझ्दैन जतियताको कारण
हुन त बिना कारण पनि धेरै कुरा भैरहेकै छ
जस्तो –
हावा जो बिना कारण बहिदिन्छ
र बाँचीदिन्छ प्राणीहरुको एउटा युग
नदि जो बिना कारण बगिदिन्छ
र बनिदिन्छ साथी किसानहरुको एउटा सपना
पृथ्वी जो बिना कारण घुमिरहन्छ
कहिले रात त कहिले दिन बनेर र थामिदिन्छ
भुत बर्तमान र भविस्यका भारहरु
धड्कन जो बिना कारण धड्किन्छ
जीवन बनेर ,सास बनेर
र सुनाई रहन्छ हृदयको आवाज उमेरको अन्तिम क्षण सम्म
प्रेम जो बिना कारण बसिदिन्छ
कहिले साथ त कहिले याद बनेर
यति बेला म सोचिरहेछु
बाँच्नकै लागि यत्ती धेरै कारणहरु छन
मर्नका लागि किन एउटै कारण काफी हुन्छ ….?
झुट
मलाई तिम्रो याद आउदैन
तिमीसंग बिताएका हरेक पलहरु यादै छैन
मलाई त यो पनि याद छैन कि
ठिक त्यही बर्षातको मौसममा तिमीसंगको पहिलो भेट
अहँ याद त छँदैछैन
तिम्रो नजरको तलाउबाट प्रेमको पहिलो घुट्की अमृत बनेर म भित्र समाएको
यी-
मेरा छाल परेका हत्केलामा
तिम्रो कोमल औंलाहरुले स्पर्श गर्दा
यो दिल कस्तरी पहिलो पटक जोर जोर धकधकाएको
मलाई त यो पनि याद छैन
थाहा छ –
हावाको सर्सराहटमा तिम्रो पछ्यौरीले मेरो अनुहार छोपिदिदा
एक जुनि बाँचिदिन्थे तिम्रो पछ्यौरीको साम्राज्यमा
कसो बिर्सिगए
बिर्सि पो गएछु
आँखा बन्द गर्न लगाएर तिमीले
झुक्याएर एकैछिन गायब भएकी थियौ
तेति बेला मृत्युको आभास एकै पलमा महसुस गरेको थिएँ
आज भोलेछु त्यो महसुस जिन्दगीभरको लागि रहेछ
अरे –
मैले त यो पनि पो भुलिगएछु
कि तिमिले कत्ति मायाले दिएको गुलाफ
मेरो डायरीको एक कुनामा ओईलिएर बसेको छ
सायद तिम्रो आगमनको पर्खाईमा
मेरो जस्तै प्रेममा
फेरि फुल्ने आश गरिहदो हो गुलाफले पनि
सुन न प्रीय
मलाई तिम्रो यादै त आउदैन
तिमी मान या नमान
म तिमिलाई अझै पनि प्रेम गर्दै गर्दिन ।
डोबहरु
बर्षौ पछि भेटिएको छ
गुमनाम दोबाटोको छाती टेकेर हिडेका पाईतालाका डोबहरु
सन्नाटाहरुको उत्सव मनाउदै गरेको
यी दोबाटाहरुमा अल्मलिएका
डोबहरु क-कसका होलान सोचिरहेछु
खसाईसकेर आँसु , दुखको अन्तिम किनारा लागेर
पर्देशिएको कुनै छोराको डोबहरु होलान
जसले कामाउनेछ खुसी र भत्काईदिनेछ आवश्यकताका पर्खालहरु
वा –
चुपचाप चुपचाप
सिमानामा हिडेका कुनै जवानका डोबहरु होलान
जसले आफ्नै स्वाभिमानको आयु मृत्युलाई सुम्पिएको छ
उसो त डोबहरु
बिथोलेर यादका सुनौला पलहरु
फेरि कहिलै फर्किएर नआउने
कसम खाएर हिडेको कुनै प्रेमिकाको होला
जसले आफ्नो प्रेमीलाई उपहारमा छाडिदिएका छन मात्र यी डोबहरु
भनौं यी डोबहरु
गाउँ बिर्सिएर रहरहरुको आकार फेर्न सहर पसेकाहरुका होलान
सायद उनिहरुले बसाई सरेको खबर ती डोबहरुलाई छाडेर गएका छन
ती डोबहरु-
छोरा बुहारीले गाडीभाडा थमाएर बृद्धआश्रम पठाएका
कुनै बाआमाका होलान
जो आफ्ना सन्तान खुसी रहोस भनेर आशिर्वाद स्वरुप छाडेका डोबहरु हुन
डोबहरु –
जीवन हारेर सन्यास लिएका कुनै अघोरीको हुँदो हो
जनमुक्तिका लागि हिडेका कुनै लडाकुहरुको हुँदो हो
यसरी गुमनाम दोबाटोमा यी डोबहरुको अवशेष
पक्कै समयको चक्रब्युबाट जोगिएको हुनु पर्छ
मैले यी डोबहरु हेरेँ र नियालेँ आफू बाँचीरहेको समय
डोब छोडेर जानेहरुलाई यो समयले मेटाउन नसक्दो रहेछ ।