नेपाली साहित्यको क्षेत्रमा लेखक कृसु क्षेत्री चालिसको दशकको स्थापीत कवि मध्ये एक हुनुहुन्छ । लेखनद्वारा असमानताको बिरोधमा स्पष्ट अभिमत राख्नु उहाँको लेखनको स्वाभाव हो । कवितामा शालिन प्रतिकार गर्नु , समाजमा शुसासन, न्याय र मानवअधिकार स्थापना जस्ता बिचारहरु उहाँको कविताले बोलेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

म महादेव : सृष्टि कै पहिलो प्रेमी

दारी पालेको
नङ नकाटेको
नुहाइधुवाइ नगरेको
एउटा फोहोरी असभ्य
सृष्टिको पहिलो मान्छे म ।

जटाधारी छु
खरानी घस्छु
नाङ्गै–भुतुङ्गै बस्छु
खानाको कुनै टाइम छैन
लगाउने कुनै ढङ्ग छैन
जनावरको छाला बेरेको छु ।

साथमा छन्–
विषालु सर्प
जुरावाल साँढे
भूतपिशाच सङ्गी छन्
एउटा असंस्कृत
सृष्टिको आदिम पुरुष म ।

हरदिन
गाँजा, भाङ, धतुरोमा मस्त छु
बेलाबेला बजाउँछु डमरु
नाच्छु तान्डव
तेस्रो आँखा खोलेर ओकल्छु आगो
पिइदिन्छु विष
धरतीको एउटा फक्कड
प्राचीन बौलाहा म ।

हो असभ्य छु
असंस्कृत अपठित छु
सन्की पागल छु ।

तर
प्रेमको पहिलो अध्याय हुँ यस धरतीको
प्रेमको अमरकथा हुँ यस ब्रह्माण्डको ।

सतीदेवी
जब तिमी
मजस्तो नाकाम
मजस्तो हरफौनमौलाको अपमान सहन नसकेर
यज्ञकुण्डमा हामफालेर जल्यौ

रोएँ
आत्तिएँ
बिथोलिएँ ।

मेरा लागि तिमीबिनाको यो धरती
शून्यशून्य,खालीखाली जस्तो
मरुभूमितुल्य बन्जर बन्जर
सबै थोक हराएजस्तो
सबै सकिएजस्तो
आफैँ केही हैन जस्तो
अपुरोअपुरो, अधुरो अधुरो
अँध्यारै अँध्यारो ।

(अनि सुरु भो
मेरो पागलप्रेम
मेरो आसक्ति)

असह्य भो तिम्रो अपमान
तिम्रो हत्या
र, पोलिदिएँ
हजारौँलाई बलिवेदीको अग्निकुण्डमा
काटिदिएँ
आफ्नै ससुराको टाउको ।

तिम्रै लास काँधमा बोकेर
भोकै
नाङ्गै
खाली खुट्टै
धरती कुनाकुना दौडिरहेँ
एक्लै… एक्लै… एक्लै… !
तिमीलाई बचाउन
फोरेँ पहाड
बहाएँ गङ्गा
छेकिरहेँ घाम
पिइदिएँ समुद्र ।

करोडौँ वर्ष
तिम्रो लास
दरोसँग अँगालेर
नखसोस् भनी च्याप्प समातेर
काँधमा बोकी
दौडिरहेँ दौडिरहेँ… ।

बेलाबेला हरायौ कि लाग्यो
छुट्यौ कि लाग्यो
चिच्याएँ बेस्सरी 
र, हेरेँ तिम्रो शान्त आकृति
अनि मायाले द्रवित भई
अँगालो मारेँ
र चुमेँ तिम्रो आधा जलिसकेको ओठ ।

चाहे ब्रह्माले
महादेव बहुलायो भनून्
या ब्रह्माण्डले भनून्
कुनै गुनासो छैन मलाई
हो नै म तिम्रो पागलप्रेमी
यो सृष्टिको पहिलो आशिक
पहिलो प्रेमको अध्याय ।

म तिमीलाई प्रेम गर्छु
तिम्रो भौतिक वा अभौतिक शरीरको अर्थ छैन
तिमी बाँच्नु वा मर्नुले मेरो प्रेममा फरक पार्दैन 
फैलियोस् मेरो शरीरको दुर्गन्ध
झरोस् कुहुँदै तिम्रो लास
यसैमा म प्रेमको अनुपम सुवास पाउँछु
र, यो सुवास फैल्याउन चाहन्छु
यो धरतीमा
यो ब्रह्माण्डमा ।

म हुँ आदिप्रेमी
मैले नै सुरु गरेको हुँ ब्रह्माण्डमा प्रेम
प्रेम उमार्ने
प्रेम बचाउने
प्रेम फुलाउने
प्रेम फलाउने
पहिलो पागल प्रेमी म
सृष्टिको पहिलो प्रेमकाव्य 
सङ्गीतको सुरम्य नाद हुँ म
सारेगमपधनिसा
डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयम् !


कालीगण्डकीको आव्हान

एकदिन जन्मियौ तिमी मेरो किनारमा ।

यहीँ जन्मिएका थिए
तिम्रा आदिम पुर्खाहरू पनि ।

उसरी नै जन्मेर हिमालबाट
बग्दैबग्दै आइपुगेको छ
मेरो विराट्स्वरूप तिमीसम्म ।

उः यहीँ किनारमा गाडिएको थियो तिम्रो साल
उः परको ढुङ्गामाथि राखेर काटिएको थियो तिम्रो नाभी
मेरै बगरमा पहिलो पटक फेरेका थियौ तिमीले पिसाब
र यही छातीमा चालेका थियौ पहिलो पाइला ।

तिम्रो पहिलो रोदनमा
तिम्रो आमाको अन्तिम आँसु खसेको थियो
र म पनि रोएकी थिएँ तिमीसँगै ।

मेरै किनारमा जलाइएको थियो
तिम्री आमाको देह
र यही पानीमा बगाइएको थियो
उनको अस्तु ।

मेरो छातीबाट
अमृतमयी जलधारा पिएर
बाँचेका हौ तिमी
सारा फोहोरमैला मैमाथि पखालेर
हुर्केका हौ तिमी ।

मेरै चिप्लेटी कालो ढुङ्गामा
खरीले लेख्दै सिक्यौ तिमीले साँवा अक्षर
र लेख्यौ–
‘कालीगण्डकी मेरी आमा’ ।

तिम्रै खातिर
करोडौँ वर्षदेखि
छातीमै सजाएर राखेको शालिग्राम
तिम्रो झोलीमा हालिदिएकी छु
सिँचेर बञ्जरभूमि हराभरा बनाएकी छु ।

तिम्रा चरानका वस्तु
पानी खान मेरै किनार आउँछन्
मेरै भङ्गालामा पौडी खेलेर
माझीहरू जीवनलाई पार लाउँछन्
यही अङ्गालामा बेरिएर
पहाडले गुराँस फुलाउँछ
तराईले अन्न फलाउँछ ।

तिमीले गाउने प्रीतिको भाका
मेरै चराका चिरिबिरी हुन्
तिमीले सुसेल्ने सुसेली
मेरै बतासका बयेली हुन्
तिम्रो नौमती बाजा
मेरै अविरल झरनाको सङ्गीतमय झङ्कार हो
तिमीले कुँदेका चित्र
मैले पहाडका ढुङ्गाभरि खोपेका धर्साहरू हुन्
तिम्रा जीवनका खुसीका रङ्गहरू
मेरै इन्द्रेनीका सातै रङ्ग हुन् ।

एक पटक नियालेर मलाई हेर
एक पटक बुझ मेरो गतिशीलतालाई
म फगत नदी मात्र होइन
म सभ्यताको सिन्धु हुँ
ज्ञानको गङ्गा हुँ
तिम्री आमा पनि हुँ
तिमी कृष्ण, म यशोदा हुँ
तिमी सिद्धार्थ, म गौतमी हुँ ।

नहेर–
मेरो गति रोक्न
मेरो दिशा बदल्न
मेरो शालिग्राम लुट्न
भइरहेको निरन्तरको प्रयास
टुलुटुलु नहेर ।

नरोक मेरो यात्रा
मलाई मेरै आफ्नै गतिमा बग्न देऊ
मलाई तिम्रो साल गाडेकै माटो चुम्न देऊ
तिम्रा पुर्खाको अस्तु बगेकै बाटो घुम्न देऊ ।

ए मेरो मानसपुत्र !
अब तिमी
आमाकै चीरहरण चुपचाप बसेर हेर्न पाउँदैनौ
आमाकै दोहन प्रतिक्रिया शून्य भएर सहन पाउँदैनौ
सोच
आमा असुरक्षित भएकी छन् अहिले
रोक
यो स्वार्थको विकास रोक
रोक
यो प्रकृतिको विनाश रोक ।


सुर्य ग्रहण समापनको घोषणा

चराहरू गाँसको खोजीमा थिए
गाईका बथानहरू घाँसको खोजीमा थिए
नानीहरू पाठशालामा पढ्दैथिए
युवाहरू देश बोकेर हिमाल चढ्दैथिए
एकाएक सूर्यमा लाग्यो ग्रहण
र फैलियो अँध्यारोको साम्राज्य ।

ज्योतिषीहरूको पूर्वानुमान गलत भएको थियो
वैज्ञानिकका सिद्धान्तहरू असफल भएका थिए
सूर्यग्रहणसँगै रगताम्मे छन् फूलहरू ।

चराहरू बास खोज्न थालेका छन्
गाईका बथानहरू घर फर्कंदै छन्
सर्पहरू फणा उठाउँदै छन्
जङ्गली जनावरहरू दाह्रा तिखार्दै छन्
भयग्रस्त नानीहरू पाठशालाबाट फर्कंदै छन्
कर्मचारीको अनुहारमा अभाव झल्केको छ
शिक्षक फाटेको जुत्तामा सडक नाप्दै छ
मजदुर भोक मार्ने उपाय सोच्दै छ
किसान अनिकालबाट जोगिन गम्दै छ
अरबबाट काठको बाकसमा फर्कंदै छन् युवा
घरबाट निकालिएर वृद्धाश्रम पुगेको छ सभ्यता
दिउँसै लागेको यो सूर्यग्रहण लम्बिँदै गयो
वा रातभरि जागिरह्यो भने
निस्पट्ट अन्धकारमा फैलनेछ
मसानको राज्य
हराउनेछ मानवता
रचिनेछ मृत्युको चक्रव्यूह ।

नानी निदाउन सकेन भनेर
भो आमा नसुनाऊ लोरीहरू
नथपथपाऊ बालकको शिर
चिच्याउन देऊ कानका जाली फुट्ने गरी
रोएर हल्लाउन देऊ ब्रह्माण्ड
बालक रोएपछि
कहाँ बहिरै बनिरहन सक्छन्
राहुकेतु
घण्टाकर्णहरू…
बरु ठुलाठुला होर्डिङ बोर्डमा गर्नु छ विज्ञापन
हरेक बच्चालाई रुवाउँदै
उनीहरूकै चिच्याहटमा
उनीहरूकै आक्रोशमा
अब चाँडै घोषणा गर्नु छ सूर्यग्रहणको समापन ।

कठघरामा बन्दी आफ्नै मुटुजस्तो सूर्यलाई
गराउनु छ धरतीमा सहज अवतरण
बनाउनु छ सूर्य आगमनको बाटो
कोदाली लगाऊ किसानहरू
बाटो सम्याऊ मजदुरहरू
झोलुङ्गे पुल बनाउँदै गरेको इन्जिनियरको
पसिना पुछिदेऊ नारी
अब चाँडै हिमालयमा गर्भाशय भएर
उदाउनेछ सूर्य
भोलिको बिहानै
हाम्रा नानीहरूका गालामा म्वाइँ खान
हाम्रै आँगनमा आइपुग्छ सूर्य
घामपानी…घामपानी… स्यालको बिहेमा रमाउँदै गरेका
नानीहरूलाई इन्द्रेनीको माला उपहार दिन्छ सूर्य
प्रत्येक अँध्यारोका चिसा छिँडीहरूमा पुग्दै
सूर्य स्पर्श गर्नेछ
अनि कोठासम्मै आइपुग्ने छन् जूनताराका जुलुसहरू
रुखहरू लहराहरू लहरिँदै
फूलहरू मगमगाउँदै
एउटा उत्सव हुनेछ सूर्योदयको ।

धामीहरू चुपचाप नबस र बक्न थाल
झाँक्रीहरू खोला छेउ वीर मसान नचाऊ
पुजारीहरू मन्त्रोच्चारण गर
अजिमाहरू अक्षता र सिन्दूर लिएर फुक्न थाल
घरघरबाट निस्क
र देखाइदेऊ भाङ्ग्राको कपडा
छोड् दे राहु… छोड् दे…
छोड् दे केतु… छोड् दे…
छोड् दे शनि… छोड् दे…
चिच्याऊ…
नानीहरूलाई पिटिपिटी रुवाऊ… ।

ढोलक ठोक ढोलक
ढ्याङ्ग्रो बजाऊ ढ्याङ्ग्रो
थाल ठटाऊ थाल
उत्सवजस्तै गरेर
बाजा बजाउँदै चर्का सिम्फोनीमा
चाँडै घोषणा गर्नु छः
सूर्यग्रहण समापनको ।

तपाईको प्रतिक्रिया