क्रान्ति सुब्बा
शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नको लागि अस्थायी टहराहरू बनाएर पहाडले प्रायः घेरिएका नदीहरू सुसाउने जमीनका तल्लो तथा गहिरी भू-भागमा केवल क्षणिकताको लागि आश्रय लिएर ओत लाग्नमा मग्न हुन्छन् । हङ्गकङ्गको पानीसँग गहिरो प्रीति लाएर बसेका यिनै आदिम यु जातिका सन्ततिहरू आज `तांका´(Tanka) र ‘होक्लो’ (Hoklo) उपजातिको नामले इतिहास र वर्तमानमा चीरपरिचित छन् । हङ्गकङ्गले आज हासिल गरेको अत्याधुनिक, विलासपूर्ण आलिसान महलहरूले पनि आखिर यी तांका र होक्लोहरूको छातीमा पानीप्रति उम्रिएको असिम मायालाई ठुक्रयाउन सकेन । ढकमक्क फुल्ने सुनाखरी झैं जिउँदो किवदन्तीको रूपमा आज पनि हामी समुद्रका किनारहरूमा अध्यावधि डुंगे जीवनभित्र रमाइरहेका तांका र होक्लो (सोइ स्यङ यान) हरूलाई भेट्दछौ ।
यस इलाकाको नाम हङ्गकङ्ग रहनुमा डुंगे जीवन बिताउने तिनै तांका समुदायको गहिरो तथा आत्मीय सम्बन्ध गाँसिएको छ । हङ्गकङ्ग शब्दको उत्पत्ति यस इलाकामा कुनै बेला प्रचुर उत्पादन हुने धुपसँग सम्बन्धित रहेको छ । हङ (क्यान्टोनीज उच्चारण-ह्यङ) को अर्थ सुगन्धित (Fragrant ) अथवा खुस्बुदार र कङको अर्थ नौकाश्रय (Harbour) अथवा बन्दरगाह हो ।
उत्तरी भियतनामबाट ल्याइएको श्रीखण्ड (Sandal wood / Aguilaria Sinensis) का गाछीहरू हङ्गकङ्ग वरिपरिका धरती जस्तै शातिनको लेक युन भन्ने जग्गा आदिमा खुब सप्रिएर मौलायो । उब्जनीकर्ताहरूले त्यसबेला हङ्गकङ्गको तटीय इलाका वरपर रोपिएका रूखहरू काटेर चिम सा थाउ ( हाल चिम सा चुइ) मा इकट्ठा गर्ने गर्दथे र हालको हङकङ द्वीपमा पर्ने सेक पाइ वान (एवर्डिन) मा डुंगाहरूद्वारा ढुवानी गरी लैजान्थे । त्यसपछि त्यहाँबाट ठूला-ठूला डुंगाहरूमा भारी लगाई मुल भुमि चीनको क्यान्टोन (ग्वाङ्जाउ- क्वाङ्तङ ) लगायत विभिन्न क्षेत्र, दक्षिणपूर्वी एशिया र अरबसम्म निर्यात हुने गर्दथ्यो ।
हङकङमा आजभोलि श्रीखण्डको व्यवसाय गर्ने प्रचलन हटिसके तापनि चीनमा मिङ बंशको (सन् १३६८- १६४४) रजगज रहेकोे बेला यो उद्योग मौलाएर चरम अवस्थामा पुगेको थियो ।
हङ्गकङ्ग वास्तवमा एवर्डिन नौकाश्रय स्थित सेक पाई वान खाडी (Bay) को सट्टामा प्रयोग गरिने पर्याय नाम हो । कुनै कालमा उक्त खाडीको पूर्वपट्टिको अन्तिम भेगमा एउटा सानो गाउँ थियो, जसलाई हङ्गकङ्ग वाइ ( वाल्ड भिलेज – पर्खालले घेरिएको गाउँ ) भनिन्थ्यो । यो गाउँ त्यो बेला एक विशेष किसिमको बहुमूल्य श्रीखण्ड पैठारी गर्ने एक मात्र स्थलको रूपमा स्थापित थियो । हाल हङ्गकङ्ग द्वीपमा पर्ने एवर्डिनमा पहिलो चोटी पाइला टेक्ने बेलायती समुद्री यात्रीले त्यहाँका स्थानीय डुंगे मानिसहरूको जनजिब्रोद्वारा उच्चारण गरिएको शब्दलाई बोल्ने क्रममा भुलवस हङ्गकङ्ग भनी पठाए । र आज क्यान्टोनिज भाषामा हयङकङ भनी उच्चारण गरी बोलिने शब्द अंग्रेजीकरण गरिदा हङ्गकङ्गको रूपमा संसार प्रसिद्ध हुन गएको हो । आज पनि एवर्डिनलाई क्यान्टोनिज भाषामा हयङकङ चाइ (फुच्चे हङ्गकङ्ग) भनेर चिनियाँहरूले सम्बोधन गर्नु भनेको नै हङ्गकङ्ग शब्दको ऐतिहासिक सम्बन्ध एवर्डिन नौकाश्रय वा सेक पाई वान खाडीसँग स्पष्टसँग गाँसिएको छ भन्ने तथ्य सप्रमाण पुष्टि हुनु हो । जहाँ त्यसबेला तांका समुदायका डुंगे मानिसहरूको बाहुल्यता कायम रहेको थियो ।
हङ्गकङ्गको बाँझो भूमिलाई सर्वप्रथम सुङ वंश (सन ९६० -१२७९) को रजगज चीनमा कायम रहँदा उत्तरी प्रदेश (ग्वाङडोङ) बाट भित्रिएका क्यान्टोनी भाषी पुन्तेय वा पुन्ती (रैथाने) भनेर सम्बोधन गरिने कृषक समुदायको हातबाट आवाद गरियो र त्यसपछि सत्रौं शताब्दीमा प्रवेश भएका हाक्का (पाहुना) समुदायले आवादीको कार्यमा थप योगदान पुर्याए ।
इतिहासका कालखण्डहरूमा हङ्गकङ्ग पटकौं अवहेलनाको शिकार हुन पुग्यो । ग्वाङडोङ प्रदेशको दक्षिणी किनारमा झुण्डिएको प्रायद्वीपसँगै छरिएर रहेका द्वीपहरू आजको हङ्गकङ्गमा परिणत हुनु अगावै मंचु साम्राज्यको लागि त एक पायक नपर्ने दुर्गम एवं उपेक्षित कोप्चो सिद्ध हुन पुगेको थियो, जुनबेला यो क्षेत्र यत्रतत्र छरिएर रहेका मुठ्ठी भरका कृषक र माझी समुदाय साथै मंचु अधिकारीहरूबाट बच्न लुकेर बसेका सामुद्रिक लुटेराहरूको बसोबासले भरिएको थियो ।
अठारौं शताब्दीको पूर्वार्द्धमा क्यान्टोनबाट शुरू भएको हङ्गकङ्गको आधुनिक इतिहासले सन् १८४१ मा पुगेपछि नयाँ कोल्टे फेर्दछ । बेलायती विस्तारवादी सैन्य दलले अफिम युद्धको सिलसिलामा पेकिङमाथि दखल पुयाउन आँटेपछि चिनियाँहरू वार्ता गर्न मंजुर हुन्छन् र वार्ता क्यान्टोनमा गर्ने तय गरिन्छ । तर बेलायती विदेश मन्त्रीको आदेशबिनै र चीनसँग आवश्यक संझौता गरी हस्ताक्षर गरिनु पूर्वको अनिर्णायक घडीमा तत्कालीन बेलायती व्यापारका नाइके चार्ल्स इलियटले २५ जनवरी १८४१ का दिन हङ्गकङ्ग द्वीपमा उत्रिएर `हङ्गकङ्ग अब उप्रान्त संयुक्त अधिराज्य बेलायतको उपनिवेश भएको´ दावी गर्दै अधिनस्थ स्थलमा बेलायती झण्डा गाड्छन् । इलियटको यस मनोमानी क्रियाकलापबाट क्रुद्ध भई तत्कालिन विदेश मन्त्री लर्ड पाल्मर्सटनले `हङ्गकङ्ग एक थारो द्वीप जुन कहिल्यै पनि व्यापारको केन्द्र बन्न सक्दैन´ भन्ने उदघोषलाई सार्वजनिक गर्छन्। विडम्बना! कामै नलाग्ने उजाड टापुको प्राप्तिमा उत्तरदायी रहेकोे भनेर इलियटलाइ दुत्कारियो र इलियटको दूरदर्शितालाई इतिहासमा कहिल्यै स्वीकार गरिएको छैन र उनको सम्झनास्वरूप हङ्गकङ्गको कुनै गल्ली र भवनहरू उनको नामबाट राखिएको छैन ।
बेलायती स्वामित्वमा पूर्ण रूपमा विलिन भए पश्चात पनि हङ्गकङ्गले बारम्बार घृणाको पात्र भएर बस्नु परेको थियो । याङजी नदीको मुखमा पर्ने सांघाइ इलाकालाई अन्तराष्ट्रिय खुल्ला बन्दरगाहको रूपमा मान्यता दिने सन्धि सम्पन्न भएपछि उक्त स्थान हङ्गकङ्गको दाँजोमा ज्यादै समृद्ध र जीवन उपयोगी हुन पुगेको थियो । पर्यटकहरूको दृष्टिमा सन् १९२० र १९३० तिर त झन् हङ्गकङ्ग एक पट्यारलाग्दो स्थानको रूपमा गणना भएको थियो । दोस्रो विश्व युद्धताका जापानीहरूको बर्बर कब्जामा रहँदा हङ्गकङ्ग असाध्य अवहेलनाका जाँतोमा पिसिन पुग्यो । १९४९ मा भएको चिनियाँ समाजवादी राज्य क्रान्तिले भने हङ्गकङ्गलाई अन्ततोगत्वा आफ्नो मौलिक अस्तित्व ग्रहण गर्नमा अहम् भूमिका खेलेको बुझ्न सकिन्छ । तत्कालीन राज्यक्रान्तिले थुप्रै चिनियाँ धनाढ्यहरूलाई शरणार्थीको रूपमा हङ्गकङ्ग भित्रयाउँदछ । त्यसको अर्को वर्ष चिनियाँ क्रान्तिकारी सरकार संयुक्त राज्यहरूको मोर्चा विरूद्ध कोरियाली युद्धमा होमिन पुग्दछ । फलतः चीनसँग पश्चिमाहरूको व्यापारिक सम्बन्ध टुट्छ त्यसपछि युरोपेलीहरूको ध्यानाकर्षण बेलायती उपनिवेश हङ्गकङ्गमाथि केन्द्रित हुन पुग्दछ र यही घडीबाट हङ्गकङ्गको अत्याधुनिक विकासका पाइलाहरूले क्रमशः फड्को मार्न आरम्भ गर्दछ ।
सभ्यताको जननी रोम आफै एकै दिनमा नबनेको भने झैं हङ्गकङ्गले पनि आजका गर्विला भव्य उपलब्धिहरू हासिल गर्न अगावै अतीतका शताब्दीहरूमा धेरै प्राकृतिक विपत्ति र अनगिन्ती वित्यासपूर्ण अँध्याराले भरिएका रातहरूसँग सामना गर्नु परेको थियो । विपन्न अवस्थामा जन्मिएको हङ्गकङ्गले आफ्नो गरिबीको खाडललाई पुर्ने दर्वियानमा वास्तवमा अपरिमीत पैमानाको परिश्रम र मिहिनेत खर्चेको छ ।
केवल तीन हजार जनसंख्या मात्र बोकेको शून्य शुन्य माछा मार्ने गाउँ भन्दा परतिर नरहेको हङ्गकङ्ग द्वीपलाई १८४१ उपरान्त अंग्रेजहरूले आवाद गरी बसोबास गर्न थालेपछि भने यहाँ छरिएर रहेका माछा मार्ने माझी र कृषक समुदायको एकलासे, सुषुप्त र निर्जनपनामा असाधारण परिवर्तन आई जीवनशैली नै कायापलट भएको यथार्थ देख्दा ताजुब लागेर आउने गर्दछ ।
बाह्रौं शताब्दीमा पाइ यु शान (Bai Yue-shan) नामक एक चमत्कारिक कविले एक दिन अदभूत ढंगले झलझली बलिरहेको हङ्गकङ्गलाई देखेपछि आफ्नो कवितामा लेखेका थिए, – “ताराहरूको आतिथ्यले सजिएको कुनै एउटा गाढा रातमा दशौं हजार जहाजहरू नौकाश्रयभित्र आवत जावत गरिहेका हुन्छन् ।” कालद्रष्टा कविको उक्त कथन सन् १९८० को दशकको उत्तरार्द्धमा आएर भने हुबहु चरितार्थ हुन पुगेको वास्तविकतालाई हामी देख्न पाउँदछौं।
आजको विश्वमा आर्थिक रूपले सबभन्दा शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिका हुन पुगेको छ भने दोस्रो स्थान सिंगापुरले ओगटेको छ र तेस्रो स्थानमा हङ्गकङ्गको नाम आउँदछ । ऐतिहासिक कालदेखि नै सुदूर पूर्वी व्यापारिक मार्गको एकमात्र निर्विकल्प स्थान ओगट्न सक्षम हुनुलाई नै हङ्गकङ्गको अपार सफलताको द्योतक मानिन्छ । बेलायती साम्राज्यको इतिहासमा सबैभन्दा सफल उपनिवेश सिद्ध हङ्गकङ्गको एउटा लघु उपभोक्ताको रूपमा आज नेपाली समुदाय पनि विकसित भइरहेछ ।
प्राचीन चिनियाँ परम्परामा गहिरिएर बगेको, पूर्व र पश्चिम, पुरातनता र आधुनिकताको उच्चतम संगम थलो हङ्गकङ्गका महासागरीय उपत्यकाका कान्लाहरूमा नेपाली चाँप, गुँरास र सयपत्रीहरू उम्रनु स्वयं आफैमा एउटा गर्वान्वित हुने विषय हो । वफादारिताको एक मात्र पर्याय ‘गोर्खा’हरूले कुनै समय यहाँ आफ्नो बीज छरेर गएका थिए । परिणामतः आज तिनै वीर गोर्खालीका बीउहरू हङ्गकङ्गको चिम्टे माटोमा गाँजिएर उम्रन थालेका छन् ।
बहुराष्ट्रिय, बहुसांस्कृतिक, बहुधार्मिक शहर हङ्गकङ्गमा थपिएको एउटा अर्को नवीन सांस्कृतिक आयामले यसलाई थप पूर्णता प्रदान गर्न सहयोग पुयाउने कुरामा हामी आशावादी हुनुपर्दछ । कुनै पनि बिरानो स्थलमा नेपाली बाँच्नु भनेको नेपाली कला, संस्कृति, साहित्य जीवित रहनु हो । नेपाली कला, साहित्य र संस्कृतिको खास्टो नओढी हिँडेको मानिसलाई सायदै नेपाली भन्न सकिएला । त्यसैले नेपाली साहित्य कला, संस्कृतिको जगेर्नाका खातिर कर्तव्यपरायण भई गंभीर उत्तरदायित्व वहन गर्ने चुनौतीलाई काँध हालेर समाजका स्रष्टा एवं पथ प्रदर्शकहरू स्वार्थ रहित ढंगले अहोरात्र लागि परेमा सीमापारी दूर एकादेशमा उम्रिन खाजेको नेपाली समुदायरूपी मुनाले स्वतन्त्र रूपले सविस्तार झाँगिन पाउने अवसरका ढोकाहरू क्रमशः खोलिदै जाने संभाव्यताको प्रबलतालाई त्यति सजिलै नकार्न सकिदैन ।
(क्रान्ति सुब्बाको सम्पादनमा हङकङबाट प्रकाशित म्यागजिन `अविराम´मा पहिलो चोटि यो लेख छापिएको थियोे। aviram Vol.3.No. 2, May-June-2001)