नेपाली साहित्यको उपन्यास कथा र कविता लेखनमा लेखक अप्सरा लावती दुई दशक भन्दा लामो समयदेखि सकृय नाम हो जसको लेखनीले लिम्बू समाज र सौन्दर्यशास्त्रलाई नजिकबाट बुझ्न सहज बनाउछ । खोला जस्तै बगेको उहाँको लेखनीमा पाउने मौलिकता वास्तवमै लोभलाग्दो छ । तर शान्त र चुपचाप रहन रुचाउने लावतीको कविताहरुमा पाईने स्वाद जंगली ओख्खर जस्तो छ जो समग्र नेपाली साहित्यमाझ आफ्नै बिशेषता बोकेर उभिएका छन् । प्रस्तुत छ साताको तीन कविता ।
तर पनि
जीवनरथ गुडाउन साथमा उभिसकेपछि
बिन्दुसम्म पुग्न सघाउनु पर्थ्यो
खै –
तिमी बैगुनी कि, भाग्य लेख्ने बिधाता ।
उबडखाबड बाटाहरुमा रथ पुर्याएपछि
चम्केको बिजुलीको गति लिएर मिलिक्क पलायन भइ गयौ
रथका डाली भरीभरी अनेकन कुम्लाहरु छन्
केही सपनाका कुम्ला…..
केही चाहानाका कुम्ला…..
केही कर्तव्यका कुम्ला…… केही जिम्मेवारीका कुम्ला …… ।
यी सबै चिजलाई बडो जतनले जोगाउदै
यात्रामा आएका बाधाहरु
पहाडझैं अटल उभिएर पन्छाउदै
त्यो सुनौलो पहाडी चुचुरोसम्म पुर्याउनुछ अब एक्लै ।
खुस्की गए पनि एक पाङ्ग्रा तिमी
तानीरहेछु बलजफ्ती दरिलो अठोटका साथ
विश्राम लिदै घुम्ती र चौतारीहरुमा
पुग्नेछु एकदिन घिस्रीदै उ त्यो सुनौलो टाकुराको चुचुरोमा
सुनौलो बिहानीको झिसमिसे उज्यालोमा ।
अनुभवहरुले यसो भन्छ
जब –
यात्रामा निस्कन्छौ तिमी मनोरन्जनका निम्ति
अघि पछि हुन्छन होहल्ला गर्ने साथीहरु
कोलाहल मच्चाउने झुन्डहरु
चियर्स चिच्याएर सोमरसमा झुल्ने नातेदारहरु
मिष्ठान्न परिकारमा झुम्मिने आफन्तहरु
हो –
जीवनमा यसै गर्न सक्यो र जान्यो भने
आफन्त हुन्छन् साथीसंगी , नातेदार हुन्छन् ।
तर-
जब तिमी परिबन्धको भड्खालोमा पर्छौ
संकटको जंजीरमा फस्छौ र बाटो मोडिन्छ अर्कोतिर
तब-
ती आफन्तहरुको
ती साथीसंगीहरुको
चस्मा बदलिन्छ दृष्टि बदलिन्छ मनोभाव बदलिन्छ
आवाज बदलिन्छ शब्द बदलिन्छ
के के पो बदलिन्छ, बदलिन्छ लेखाजोखा राखेर साध्य हुन्न ।
हो-
यसैबेला तिमीले आफुलाई निर्माण गर्न सक्नुपर्छ
खुट्टा लडखडाउनु हुदैन
तिमी उभिएको धरातल डगमगाउनु हुदैन
बिचार बिथोलिनु हुदैन
गन्तव्य बदलिनु हुदैन
सपना टुटाउनु हुदैन निरन्तर…निरन्तर हिडिरहनुपर्छ
अघि बढिरहनुपर्छ कोशिश गरिरहनुपर्छ
भलै बिलम्ब किन नहोस तिमी तिम्रो गन्तव्यमा पुग्नैपर्छ
माथी मैले भनेका शब्द र बिचारहरु
मैले विश्वविद्यालयमा होईन
जीवनमा परिआएको अनुभवहरुले सिकेर भनेको हो ।
हिडीरहनु
तिमी-
अन्धकारसँग जुधिरहेकाे छौ
तर उज्यालाहरु पनि तिम्रो साथ छैनन्
र त –
कुइनेटा गल्लीहरुले तिम्रो अस्तित्वलाई निलीदिन्छ
र हुन्छ उहीँ अन्धकार
मलाई बोध छ
यी अन्धकारहरु चिर्न तिमी बादलहरुसँग जुधिरहन्छौ ।
फेरी-
सर्दै आएको कालो बादलले ढाक्छ तिमीलाई
तर तिम्रा ज्योतीहरु चम्किरहन्छ्न
पुर्णीमाको रात भएर
यसैले –
तिमीलाई हेरी हेरी हिडीरहेछु
यी अप्ठ्यारा बाटाहरु
जुन-
आऊ तिमी र म साथी बनौं र हाम्रो गन्तव्य सँगै तय गरौं
यी निश्पट्ट अध्यारोको बिरुद्वमा ।