पछिल्लो पुस्ताबीच निकै चर्चीत युवा कवि देवकी अभिलाषी २० बर्ष देखि निरन्तर रुपमा लेखनमा सकृय उहाँ नेपाल प्रज्ञा प्रतिस्ठानको कविता महोत्सव २०७८ बाट पुरस्कृत हुनुहुन्छ । उर्वरा फाउन्डेसन नेपालको अध्यक्षको रुपमा सकृय विभिन्न सामाजिक अभियानहरुमा उहाँको आबद्धता रहेको छ । धरातल भित्रको जिन्दगी, आँसु पिउदै हास्नेहरु, भावनाका फुलहरु, पाटेबाघ र डल्ले कमिलो, सचित्र बाल कथा तथा पछिल्लो कविता कृति आदिवासी भोक लगायतका कृतिहरु प्रकाशित छन् । प्रस्तुत छ साताको तीन कविता ।
आदिवासी बाहुनी
युगौँदेखि
सत्ता र धर्मसँग लड्दै
खुकुरी जस्तै नाकहरुसँग भागेर
बल्ल आइपुगेको छु
तिम्रो आदिवासी गाउँमा
एक डबका जाड खुवाउन हौ सोल्टी हजुर
म त युगौँदेखि तिर्खाइ बसेको छु।
यो बस्तीमा
फिटिक्कै बस्नु मन छैन मलाई
यहाँ त
सिन्दुरको नाममा
सुहागको नाममा
हरेक दिन सती जानू पर्छ मैले
आफ्नै रहरहरुसँँग ।
सोल्टी राजा
तिम्रो थेप्चे नाक
तिम्रा चिम्से आँखा
चोमोलुङ्मा झै अग्लो मन
पृथ्वीकै सुन्दर रहस्य लाग्छ मलाई ।
सुटुक्क भागी पठाउँ कि कसो ?
नाता गासी पठाउँ कि कसो ?
तयार छ यो बाहुनी
यलम्बरको आमा बन्नुलाई ।
अन्तिम साँझ
निकै नमिठो मुख बनाएर
बिदा गरेथ्यौं एक अर्कालाई।
मेरो मुटुको शिखरबाट
तिमी सधैंको लागि जब खसेर गयौ
हो त्यही दिनबाट
मैले आफैलाई पत्थर बनाएँ
र पुजा गरे आफै भित्रको ईश्वरलाई।
सोचेँथे
तिमीसँग छुटिँदा
बज्रपात हुनेछ एक्कासी पृथ्वीमा
हल्लाउनेछ भुकम्पले जमीन
अहँ त्यस्तो केही भएन
बरफ जस्तो जमिरहेको
तिम्रो चिसो विचारबाट मुक्ति पाउनु
सुखद समय थियो मेरो लागि।
हामी छुटेपछि लागेथ्यो
सायद हुने छैन फेरि भेट
आखिर यो शहर पनि त
कहाँ त्यति ठुलो रहेछ र
नचाहेरै पनि भेट हुने रहेछ साघुरो बाटोहरुमा र घुम्तीहरुमा।
एक दिन
अर्को एउटा साँझ
अचानक भेट भयो तिमीसँग
देखेँ धेरै खुसी तिमीलाई र लाग्यो
मेरो उपस्थिति बिना पनि
तिम्रा हरेक दिनहरु उत्सवमय बन्दा रहेछन्।
चरा कुरिरहेको रुख
कुर्दा – कुर्दा
थकित भएको चौतारो जस्तो
बर्षौं भयो
यो रुख बूढो भएको पनि।
गुँड रित्तै पारेर
बसाई पो सरे कि चराहरु
बाटो पो भुले कि
फर्केर आएनन् अझै
गीत नसुनेको
वर्षौं भैसकेछ चराहरुको।
निकै भयो
चिरबिर- चिरबिर सुन्न नपाएको
यहि आवाज सुन्दै
बिउँझिन्थ्यो गाउँ
निदाउँथ्यो गाउँ
नहुनु भन्दा त घुर्की नै सहि
गुनासो नै सहि
आज पनि
समयको सिकुवामा बसेर
चराहरुलाई कुरिरहेछ बुढो रुख।