नेपाली साहित्यमा स्थापित नाम हो जानु काम्बाङ लिम्बु। उहाँको कतिपय कविताहरुमा लिम्बू समाज र भाषाको सौन्दर्य भेटिन्छन । मानवीय संवेदनालाई उहाँका कविताहरुले निकै जीवन्तरुपमा प्रस्तुत गरेका हुन्छन् । नेपाली समाजमा निर्णायक भुमिका सहित संघर्षशिल बाँचीरहेका महिलाहरुको जीवन जस्ताको त्यस्तै उनका सिर्जनाहरुमा भेटिनुलाई उनको लेखनीको सबल पक्ष हो भन्न सकिन्छ । प्रस्तुत छ साताको तीन कविता ।
देश खोजिरहेछु
नबुझिने एक बथान अक्षरहरू
मेरो आँखा वरिपरि नाचेर गए
अनभिज्ञ लाखौं आवाजहरू मेरो कान नजिकै सल्बलाएर गए
अनौठा थिए
गाडीको सिसाभित्रबाट
मलाई घुर्ने नयनहरू
म तिनै अपरिचित परिवेशबीच
उभिएर अल्ला (भगुवान ) सित म अनागरिक हुनुको कारण सोधिरहेछु ।
बम गोला र बारुदले
मेरो देश उडाईनुको कारण सोधिरहेछु
मेरो अम्मि र अब्बुको सपना जल्नुको अर्थ खोजिरहेछु ।
मेरा खेत र खोरियाहरू
मेरा गाउँबेंसी अनि साथी संगीहरू
मेरो देश र नागरिकता
जुन दिन गोली लागेर ढलेका
मेरो अम्मि र अब्बुको तातो छाती टेकेर भागें म
हो उहीं दिनदेखि त्यहीं छुटेका हुन् ।
तातै थियो मेरो अम्मीको छाती
आलै थियो मेरो अब्बुको रगत
उही अम्मीको तातो छातीमा
मेरो भोक छुटेको हो
अब्बुको रातो रगतमा
मेरो परिचय छुट्यो
सिमाना नाघेपछि देश पनि छुट्यो ।
मेरो देशलाई फर्केर हेरें
अब्बुले भाग छोरा भाग भनि रहेथ्यो
अम्मीलाई हेरें,
आऊ छोरा अन्तीम पटक मेरो तातो छाती चुसेर जाऊ ।
म दौडिएँ उतैतिर
तर, कसैले मलाई
पछाडी बाट कस्सेर ताने
त्यसपछि, भएको हुँ,
म अनागरिक
उही दिनदेखि म सडकमा छु
यहिँ उभिएर आफ्नो देश खोजिरहेछु ………………।
म एउटा सडक
म-
आवाजविहीन एउटा सुनसान सडक
अनगिन्ती मृत्यु बोकेर
पर …….पर ……..दौडी रहेछु
मेरा वरिपरिका निरस अनि नाङ्गो रुखहरू
मलामी बनेर
सोक धुन सुसेल्दै
हल्लाउछन् बिदाईका हातहरू
मैले ओढेको आकास
र टेकेको धर्ती चिच्याउँदै रुन्छन्
स्तब्ध छन् तारा जून
दृश्य उही छ, हेराई उही छ
खोला नाला र ताल तलैया सबै, सबै उस्तै छन्
मात्र मृत्युका छायाँहरू बढेकाछन्
लाग्छ !
अचेल मृत्यु आफै चिसो भैसकेको छ
ऊ मान्छेका ताता छाती टेकेर
आफैलाई तताउन चाहन्छ
जीवन र जगत फ़ेरिएपछि
चिस्सिएका मान्छेहरू
आफ्नो मलामी आफै बनेर गैरहेकाछन्
एक्लै पर.… पर….
न बच्छ सोक धून छ, न छन् मलामी
न छरिन्छ याबोंग (भुटेको धान ).
न फलाकिन्छ शी-मुन्धुम !
बस् !
यसै गैरहेछ समय
शवहरू काखी च्यापेर
थोपा थोपा आँसु झार्दै
अर्पण गरिरहेछन् जिउँदा मान्छेहरू बन्द कोठाबाट श्रद्धान्जली !
उनीहरूको अघि
रोकिएकोछ समयको गति
अनौठो कोलाहल बीच !
म व्यस्त सडक,
अनिँदोछु सदियौं देखि
अनभिज्ञ छु ती लाखौं चित्कारहरूदेखि
जुन, सल्बलाउँछन् मेरो नजिक
चिसो पदचापहरूले
मेरो तातो छाती टेक्दै
बोकेर चिसो शवहरू
गैरहेछु पर… पर…
थाहा छैन, कहाँ जाँदैछु
यो अनौठो सोकधून पछ्याउंदै
सन्तानले छुन नमिल्ने शवहरू बोकेर ……
लाग्छ !
सारा युग उचालेर सारिरहेछु
एक ठाउँबाट अर्को ठाउँ
हिजो सारेको युग र आज सारेको युग
कुन चाँही तेज दौडी रहेछ ?
जपेर राम नाम सत्य हो ……. ।
बाध्य छु म
घामले गोधूलिको
थुम्को उक्लिजाँदा
कसो कसो म पनि
तिम्रो यादको टाकुराहरूमा
उक्लिएर भावनाका तरङ्हरूमा
हराउन थाल्छु !
अनि त त्यहाँ म होइन
तिमी नै तिमी हुन्छौ
आँसुको थोपामा तिमी
मनको बहमा तिमी
कहिले कहीं त थाम्नै नसकेर
अविरल सम्झनाहरू
आँखाबाट पनि पोखाउने गर्छु
के तिमी यसरी
मेरो मनको बाटो भएर मलाई
बिथोल्न आइरहनु उचित्त हो त ?
मेरो यो निर्निमेस
मनले कोरलेका
अनगिन्ती सम्झनाका लार्भाहरूमा
तिमी पुतली भै उड्न ठिक हो त ?
के मेरो मन तिमी ओतिने
ओढार हो त ?
हेर ….त !
धर्तीमा भर्खरै पोतिएका
घामका कलिला पाइलाहरू
पछ्याउँदै बैंशालू भैरहेको दिन
फेरि बुढो भै नढलेसम्म
स्तब्ध भई तिमीलाई
सम्झिरहन बाध्य छु म !!