समकालीन नेपाली साहित्य लेखनमा मुनाराज शेर्मा एक स्थापित लेखक हुनुहुन्छ । उहाँको लेखनीले नेपाली साहित्यको मुलधारमा आदिवासी सौन्दर्य शास्त्र र सिमान्तकृत आवाजलाई जबरजस्त रुपमा उठान गरिरहेकाे हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

सहरमा गरिबहरु

सहर दृश्यमा जति भव्य शालिन लाग्छ
तेतिनै कुरुप निर्दयी र दयाहिन हुनसक्छ

सहरको आफ्नै कुलिन नियमहरु हुन्छन्
सहर सुनको पिँजडा जस्तै हो
जो मालिकले पिँजडा मर्जी अनुसार बनाउँछ
निरीह कमजोरहरुको स्वतन्त्रता सित उसको दैलो उघ्रीदैन
स्वतन्त्र पखेटा कुँजिनु भन्दा प्वाँख काट्नु सहरको नियम हो
जति गाउँछौँ गीत मालिकको मर्जीमा हुनसक्छ
ए चरा! तिम्रो काम पिँजडामा गर्व गर्ने होइन भत्काउने हो
पखेटाको अनन्त उडान भर्ने हो
कमजोरी त्यहाँ भयो तिमी पिँजडामा रमायौ

खुशी के हुनु ! चौडा सडक हेरेर तिम्रो ठेला प्रतिबन्धित छ त्यहाँ
ए कुनै गल्ली त होला सहरमा ! तिम्रो नागरिकको भोकको ठेला अडिने
भोकै हिँड भोकाहरु !
ठाँट पल्टेर सक्छौ भने
सहरको इज्जत जान्छ है
सहरले गरिबीप्रति अघोर घृणा गर्छ
सहर वैभवको उत्तेजित लिङ्ग हो जो पुँजीवादी आडम्बरले उनमत्त छ
दुईचार आफन्तलाई छात्रवृत्ति मन्साएर भोगमा लिप्त छ सहर
तिम्रो आँसु र ढलको पानी भेद राख्दैन सहरले
तानाशाहहरु आँसुमा रमाउँछन् आँसुमा उत्सव गर्छन्
आँसु झार्नु सहरको वैभव हो
तर हामीले लोकतन्त्रको पृथ्वी बानाउँदा आँसुलाई समानताको हृदयले पुछ्ने भनेका थियौं
पुतली पनि झुसिल किराबाट बन्छ
अहिले झुसिल किराको प्रकोप छ प्रिय ठेलावाल दिदि

आलिसान महल, जुवा घर,चम्किलो सडक,महङ्गो सपिङ मल, नग्न तस्वीरहरु सहरको खास विशेषता हो
तिम्रो दुखको कथा मात्र सिनेमालाई बेच्न सक्छौ सहरमा
जहाँ दुख हेरेर आँसु झार्छ सहर
र दुखलाई अझ गहिरो दुखको इनारमा झार्छ
आँसुको कथा पुरस्कृत हुन्छ आँसु पुछिन्दैन
सहरको नियम हो दयाबिहिन हुनु, नियम मान्नु पर्यो नि सागवाल्नी दिदि
तिम्रो मेहेनत, तिम्रो अकाल मृत्यु, तिम्रो भोक सहरको बडापत्रभित्र पर्दैन
इखले राख्नु हृदयको पत्थरभित्र
सहर ठान्छ मानिसहरुको ज्यालादारी सडकछाप नानीहरू बेवारिसे बृद्धहरु यी सब सहरका कालो धब्बा हुन्
सहर फुत्त निर्माण भइगएको अजम्बरी चिज हो लाग्छ उनिहरुलाई
यो सफाचट दुरुस्त हिरा जस्तो चम्किनु पर्छ ठान्छन उनिहरु
सहर चम्किरहने निर्जिव धातु हुनुपर्छ सायद
हामीले सहर हाम्रो भनेर जीवन झैँ ठान्नु नै मुर्खता थिएछ आँसुको यात्रीहरु हो!

प्योङयाङ्मा भव्य सपिङ मल छ जहाँ छिर्न पाउदैनन् मानिसहरु
हो तेस्तै हो सहर विपन्नको लागि
हेर त सहर कसरी अघाएर जंगली साँढ जस्तो दौडमा छ
उसलाई फुर्सदै कहाँ छ अभावको कुरा सुन्ने
बेथिति निर्मुल गर्नु असल चिज हो
तर व्यवस्थापन आवश्यक होकि होइन सोध यो बैरो सहरलाई
कुनै रोजगारीको चाजो गर्नु उसको कर्तव्य होकि होइन बयान गराउ यो बहुला सहरलाई

कुनै सिद्धान्त बैचारिकि बिना उभिने सहरका निर्माणकर्ताहरु मात्र वैभवका पत्थर हुन्
कति करोड गरिबहरुको लासमाथि हाँसिरहेको छ
सहर
कति टन मजदुरहरुको पसिनामा चम्केको छ सहर
कति हजार कमजोरहरुको रगतमा लत्पतिएको छ सहर
हेर त ! निषेध गरिरहेको छ सारा विपन्नहरुको आँटलाई सहर
कति पातकी र आडम्बरी हुन सकेको हो यो सहर
मुन्धुम, वेद,त्रिपिटक,बाईबल, कुरान सबका सबको मानवतामाथि खिल्ली उडाइरहेछ यो सहर
संविधानको मौलिक हकमाथि नृशंस छुरा घोपिरहेछ यो सहर
कम्तिमा दयालाई त पालन गर ए निर्दयी सहर !

बाँचौंला प्रेमको गीत गाएर

घामको धागोले बुनौँला हाम्रो प्रीतिको बैँस
बाँच्नेछ हाम्रो प्रेमको पृथ्वी कतै नउध्री
सग्लो जुनीको मायालु सिउनीहरु
जसमा जोडौँला घामकै उज्यालो
जो चम्किने छ हाम्रो प्रेमको उमेर शत्रुताको गल्लीमा छिरी गएपनि
जो अलमलिने छैन कुनै शदीको धमिलो विचारको दोछाँयामा पनि

खनौँला प्रेमको आँगन हाम्रै दुःखको माटोमाथि
रोपौँला सपनाको अमर वृक्ष पसिनाको थोपा थोपा सिएर
प्रेमको आयुमा बाँचौला प्रेमकै गीत गाउँला यो जुनी भरी
म भन्दिन नहुनु लोभी प्रेममा, नगर्नु ईर्ष्या असलमा
संसार नै बन्यो लोभले, सभ्यता नै बन्यो इर्ष्याले
गर्नु छ धेरै जलन, असल निर्माणको प्रेममा

बनाउँला हाम्रो पिरतीको घर परिश्रमको बीज राखेर
ठडाउँला पहाडी शिर जस्तो मिलनको दोभान
जो छुट्टिजाने छैन समयको पृथ्वी भत्की गएपनि

जोडौँला जिन्दगीमा सडकको उर्वर यात्रा
हामीले भोगेको अनुभवको खोंचै खोंच  
दगुरिरहोस जिन्दगिलाई बोकेर प्रेमिल बेंसीको फाँटसम्म
रोकिने छैन यो जिन्दगीको क्रिडा जस्तै उजाड पृथ्वीमा पनि
हुनु नै छ एक गन्तव्य प्रेमको अमरत्वको लागि

एकबार सिद्धि जाने यो चोला
एकबार छुट्टिजाने यो देह
बनाउँला अजम्बरी स्विकारेर हरेक असहमतिहरुलाई
रुपान्तरणको कसिमा ढालेर प्रेमको तरवारले

पानीको चिसोले उभिउँला पानीकै तरलताले बाँचौंला
यो जड जड विचारको पृथ्वीमा
फाँटिलो मैदान भएर
समग्र मानवताको आगो उमारेर
दौडनु नपरोस किन सिउडिको घारी बीचबाट
हार्ने छुइन प्रेमको छाती बोकेर

उकालोहरु ओरालोहरु हिँडौंला मिलेर गाउँदै……. ओई ईईईइ ……..पकन्दि
सिउरेर जंगली फुल आत्माको देब्रे शिरैमा
हेरौंला सँगै चराको उडान मन थाकिन्जेलसम्म डाँडैमा मायाको देउराली काटिन्जेलसम्म
रमाउँला सानो प्राप्तिमा पनि जसरी अडिन्छ पुतली सानो फुलमा पनि
सुनेर रामाउँला खोंचबाट आएको झरनाको इश्वरीय सङ्गीत प्रेमको कान रहिन्जेलसम्म

भोगिन्जेल प्रेमले  छ यो गाउँ औधी रमाइलो
मिलिन्जेल छ मायाले सम्बन्ध अतिसय सुन्दर
तर छुटिगए पछि पनि नहुने होइन यादहरु विछट्टै यादगार
भोग्नेछौँ सँगै यो जुनी हिड्नु परेपनि आगोमाथि
भाग्ने छैनौँ अलग्गिएर परेपनि समस्याको पहिरोमुनि

जुनको आशाले भरौँला अभावको दिनहरु
हेरेर पर्खौँला नयाँ पालुवाहरु विश्वासको नाङगो हाँगामा पनि
खुशी फर्केर आउला जीवनको पहारामा अम्लारी फूङ झैँ
जसरी पर्खी बस्छ पानीलाई बगरले पत्थरले झैँ अटल

हावाको जीवनले बनाउँला हाम्रो प्रेमको सास जो अमृत्यु छ
नदिको बेगले सजाउँला हाम्रो प्रेमको गति जो अथकित छ
माटोको उर्वरता थपौँला हाम्रो पृतको बस्तिमा
जो असिमित हरियाली छ
यति घुम्ती र मोडहरु जोडौँला सृजनाको ,
हाम्रो प्रीतको सहरमा जो काल नै विलम्ब होस्

मुन्धुमको संगीतले लय भरौँला मुन्धुमी प्रेमको बासना मगमगावोस्
सहुँला हजार भुलहरु जो सिकाउने छ जिन्दगीभर बाँच्नलाई क्षमामा
यहि भुमि सिगार्ने हो श्रमले चाँहिदैन स्वर्ग असली प्रेमलाई
चौबाटो यहि मन हो जहाँ जोडिन्छ्न् हजार सम्बन्धहरु
हरियो पात झैँ ताजा राख्ने हो सम्बन्धहरु जो यो प्रेमको वासन्ती गाउँ बनावोस्

भुली जानुछ जीवनको सबै सबै अपृय साँझहरु मायाले छोपेर
छोडी जानुछ भविष्यको सबै सबै सुन्दर चिजहरु प्रेमले मोहोरेर
जगाई जानु छ सबै सबै उत्साहहरु प्रेमहरु इर्ष्याहरु लोभहरु सपनाहरु जीवनको बाटोमा अरुकै निम्ति
पोख्नु छ आँसुहरु यहि माटोमा फेरि उमार्नु दुखलाई
जसले मात्र सिगार्नेछ हाम्रो अनन्त सुखलाई
हेर त दुखको आँखाले
हामीले बाँचेको यो माटोलाई
कस्तो अनौठो प्रेम फुलिरहेको छ हरेक मानिसहरुको आत्माभित्र
ईश्वर त्यही विराजमान छ

रक्सी नपिउनु आदिवासी पहाड

ओ आदिवासी पहाड !
शरीर भरी असन्तुष्टिको घाउ उमारेर जिङ्गृङग उभिरहेका छौ
आफ्नै आँगनमा तिमी किन बेखुस छौ
कठोर भन्दा कठोर समयहरु रक्सीको झर्नामा स्नान गरेर यहाँसम्म आइपुग्यौ
सायद जलिरहेको होला तिम्रो सत्ताको कलेजो
किन लर्बराइरहेको छ तिम्रो पैरवीको जिब्रो
किन रिंगटा छ तिम्रो मस्तिष्कको डिजिटल राज्यमा
किन लडखडाई रहेको छ तिम्रो आफ्नै माटोमा उभेको पाउ
किन दुर देख्दैन तिम्रो चिम्सो आँखाहरु र गर्दैन गहन विश्लेषण
तिम्रो चिम्सो आँखा कुन शताब्दीदेखि  निसानामा लिन भएको हो
कि खोल ह्वाङ्गै आँखाहरु
छ्याङ्ग देख्छौ निगुरो जस्तो नुहेको तिम्रो शिर
किन पक्रीदैन शक्तिसँग तिम्रो बलिस्ठ हातहरु पहाडका चुचुरो जस्तो समय
कसले प्रतिशोधको गाग्रोमा जाँड बनाएर बन्द गर्यो तिम्रो विचारलाई
पाकिसकेको तिम्रो विचारहरु छानेर कसले पियो
र बनायो तिमिलाई छोक्रा

बोल,सोच,दौड,हाँस,रुव, सम्झ, केलाउ,छुट्याउ फेरि सोच र लागू गर
ज्ञानसीप बोकेर दौड, बिजुली भन्दा तेज, आवाज भन्दा शान्त
रक्सीको नसाले गिलित्त भएर थुप्रीरहेका छौ तोङ्बाको छेउमा घ्याम्पा मुनि
चुपचाप छौ लागिरहेको छ तिम्रो शरीरमा आगो
हजारौं बर्षदेखि तिमिले पिएको रक्सीले तिमिलाई नै निलिरहेको छ
समुद्रले नदि निले जस्तो
कोब्राले कोब्रा निले जस्तो
र, तिमी गजधम्म अडिरहेका छौ सृष्टिदेखि बिना निरन्तर कामयाबी हलचल
हजार हजार सपनाहरू टुङ्गी आएको हो रक्सीको
भेलमा
यति भिरालो अप्ठेरो जीवन हाँसेर बाँचेको हो रक्सीको
फुल फुलेपछि
तेति गरुङ्गो पहरा जस्तो हृदयले अडिएर भिरमा झुन्डिएको चिण्डोको जिन्दगी जिएको हो तिमिले
तिम्रो पहाड निचोरेर बगेको छ नदिहरु नुन बोकेर सुन बोकेर हिरा ज्वाहरत सोहोरेर
तिमी चुपचाप छौ कोदो फलाउदै फुलतरुल गोड्दै
त्यै रक्सी पिएर जितेको युद्धहरुले तिमिलाई पिठ फर्काइ गयो
तेइ रक्सीले निर्माण गरेको सम्झौताहरुले तिम्रो नाम
बहिर्गमन गरि गयो
दु:खद भन्दा दु:खद त्रासद भन्दा त्रासद समयहरु रक्सीको बलमा अन्जान भुली गयौ बैगुनी माया जस्तो
तिमिमा एक चिम्टी इख नराखी धोएर पखाल्यो तिम्रो अहमलाई
इखालु बन्नै नदिने रक्सीको जङ्गलमा हुर्किरह्यौ तिमी
कसरी थाह नभएको तिमिलाई हरेक सृजनाहरु पनि इखले निर्माण हुन्छ
र बिखले जोगिन्छ
न इख छ तिमिसँग न बिख छ
हरेक अस्तित्व पनि इखको उज्यालो आशामा बाँच्छ
चेतनाको लहरा झाँगिन पनि इखालु बन्नु थियो तिमिले
मार सहनु र मौका पर्खनु पनि शान्त बस्नु थियो तिमिले
तर तिमिलाई चुपचाप बस्नै दिएन
तिमी भड्किनु हुन्न थियो रक्सीको महाजङ्गलमा
तिमी बग्नु हुन्न थियो रक्सीको भेलमा
तिमी आल्हादित नहुनु पर्थ्यो रक्सीको सुगन्धित परागमा
सानो प्रहारमा समेत भत्की हाल्थ्यौ उम्लि हाल्थ्यौ  पोखिएर सिद्धिन्थ्यौ तिमि
विपक्षीहरुमा खुलेआम पर्दाफास हुन्थ्यौ तिमी
दहि हुन दूध पनि शान्त बस्नु पर्छ जसरि
हत्केलामा पानी थाम्न शान्त हुनु पर्छ तिमि
कति भयङ्कर गलतहरुलाई सहजै माफी दिने तिम्रो अन्तर्निहित रक्सीको ल्याकत
अरुले तिम्रो सानो गलतमा उखेले तिमिलाई डोबसहित
उठाएन माङ्गेना तिम्रो नुहेको शिरलाई
त्यसकारण रक्सी नपिउनु आदिवासी पहाड यो तिम्रो
प्रगतिको बिम्ब होइन
तिमी जानू छ धेरै अगाडि
कसरी तिम्रो आत्मा रक्सीको  मनसँग छुट्दै छुटेन
यो त सोघा र मनुष्यको आत्माझैँ छुटिजानु पर्थ्यो
अब छुट बहुत अबेर भयो

अरुले भनेजस्तो सांस्कृतिक बिम्बले सर्लक्कै उभो पनि लाएन कहिल्यै तिमिलाई
मात्र चाखेर चखाउनु थियो यो संसारलाई
र, लोकल रिदममा नचाउनु थियो यो धर्तीलाई
तर घुमेन ब्रह्माण्ड तिम्रो रक्सी आर्थिक प्रगतिको संगीत बोकेर
यो त अपमानित भएर फर्की आयो बुम्रयाङ जस्तो तिम्रो अड्डामा
सरल सोझो सपाट यो ब्रह्माण्डको ब्राण्ड हुँदै होइन
तिमी चलाख धुर्तहरुको माझमा उभिन पनि
रक्सी नपिइ होसमा रहनु पर्छ हमेसा तिमि 
तिम्रो लिगलिगकोटको अन्तिम दौडमा रक्सी खाएको नक्कल गर्नेहरुले अझैसम्म घेरिएको छौ
कि तोड्नु सक्नु पर्थ्यो समयलाई रक्सीको रागले
कि लठ्याउनु सक्नु पर्थ्यो यो संसारलाई रक्सीको इन्द्रेणीले
चारैतिर बालुवाको चउर हुनसक्छ एक्कासी उठ्न सक्छन् हतियारहरु
किन सत्ताका उन्मादिहरु घोचिरहेका छन् विभेदको भालाले तिम्रो नैसर्गिक स्वत्वमा
बनाइरहेका छन नरकसहितको मुक्तिको भाष्य
तिम्रो जड्याहा ईश्वरले समेत धोका दिएको हो तिमिलाई
स्वयं ईश्वर नै मातेपछि के हुन्छ न्यायिक राज्य
तिम्रो चैनको लामो बिरासत बगीगएको हो रक्सीको नदिमा
तिम्रो बहादुर इतिहास समेत हराइ गएको हो रक्सीको पर्खालमुनि
रक्सी ईस्वर होइन रक्सी न इमान हो
रक्सी न प्रेम हो रक्सी न सत्ता हो
तिमी रक्सी नपिइ
मष्तिष्कको खुट्टा टेकेर
चेतनाले उभिनु चौबाटोमा
त्यहाँ चिन्नु छ तिमिले तिमी खास अघि बढ्ने
समयको थुर खस्दै गरेको पहराको मुनि
सिस्नो घारिको बीचको तिम्रो मुक्तिको मुल बाटो

तपाईको प्रतिक्रिया