भारतमा बसेर नेपाली भाषामा लेखीरहेका कवि नवीन पौडयालको कविताहरुले माटोको सुगन्ध बोकेको छ । बिस्वास र जन्मभूमिको माया र चिन्ता उहाँको कविताको प्रमुख बिषयबस्तु हुन् । भाईचारा , एकता सदभावको अभिव्यक्तिहरु उहाँको कविताको अर्को विशिष्टता हो प्रस्तुत छ साताको तीन कविता ।
हामी धीर बनौं
विपन्नताको परिधिभित्र चेप्टिएका
समस्याको भुँवरीमा पेलिएका
शोषणले शोषित भएर युद्ध किल्लामा छटपटाउँदै
पानी पानीको आर्तनाद् श्रवण गर्ने बाजे बलभद्र झैं
हामी अब धीर बनौं ।
महासमरमा अग्रिम मोर्चाका
रोजीरोटीको चपेटामा परेका
आफ्नो शरीर युद्ध वेदीमा
बलिदान दिने भाड़ाका गोर्खा सिपाही
बन्दुकको नालमा जिन्दगी राखेर
भीषण सङ्कटको पनि वास्ता नराखी
अघि बढ्ने वीर गोर्खा भई हामी अब वीर बनौं ।
अन्याय र अत्याचार नसहने
विदेशी शोषणको भण्डाफोर गर्ने
मातृभूमिको आशिर्वाद थाप्ने नेताजी सुवासझैं बनौं।
विद्रोहको ज्वालामुखी पडकाउने
हृदयमा दुन्दुभी बजाउने लेनिन बनी अघि सरी हामी अब धीर बनौं।
मेरो गाउँ
न सज्जन बस्छन् न सचेत
न विवेक राख्छन् न बुद्धि
कहिले नमिल्ने कैले नबुझ्ने
मितले तिमी यस्तो नगर भन्दा नमान्ने
शत्रुले यस्तो गर भन्दा लम्पट भएर मान्ने
सुन र नुन एकै ठान्ने
शत्रुका मतियारलाई माया गरेर पाल्ने
अर्कै अनुहारलाई आफ्नै ठानेर राख्ने
आफैलाई मास्नेलाई माया गर्ने
शत्रुलाई मित्रु र मित्रुलाई शत्रु देख्ने
मेरो गाउँ कति महान ?
शत्रुले गुहेलाको पात शिरमा सिउरीदिँदा
सुनको शिरपोस ठानी कृतज्ञ हुने
जति प्रयास गरे पनि भ्यागुतो कुवाको कुवा हुने
जत्ती ठेले पनि शिशिफसको ढुङ्गो जहीको तहीँ
गाउँको एकतालाई केले छेल्छ छेल्छ
गाउँमा चिसो बतास मात्रै चल्छ
गाउँलाई दुख्दा गाउँ मज्जाले रुन पाएको छैन
गाउँले मज्जाले हाँस्न पाएको छैन ।
गाउँ बिमार छ राम्रो वैद्य पाएकै छैन
गाउँ कैलेकाहीँ सपनामा धताउने गर्छ
सपनामा नै क्रान्तिकाे कुरा गर्छ
सपनामै सि आर पीहरु आएर गोलीकाण्ड गर्छन्
सौचालय
तर पनि मेरो गाउँमा शान्ति छ
मेरो गाउँलाई दुख्दा ऐयासम्म भन्न पाउँदैन
आफ्नै अनुहारका खेतालाहरु आएर
चाल नपाउँदो गरि चोट लाउँछ्न
आफ्नै अनुहारको दलालहरुको रगरगी छ
आफ्नैलाइ बेच्ने कुरा हुँदा पनि मेरो गाउँ चुपचाप छ
कति उदार मेरो गाउँ कति महान ?
ब्वाँसाले आएर गालामा चाट्दा पनि माया गरेको ठान्ने
आफ्नो धरतीलाई चारैतिरबाट खनेर
सिमाना मिचेको समेतलाई ममता मान्ने
हाँसी हाँसी खुला चुनौतीपूर्ण स्नेह बोल्ने समेतलाई
प्रसादीको रूपमा सहर्ष स्वीकार गर्ने
मेरो गाउँ कति उदार कति महान ?
हाँसी हाँसी आई चिमोट्नेलाई सलाम
माया गाँसी गाँसी निमोठिदिनेलाई सलाम ।
कोलकाता
कोलकाता एउटा कङ्क्रीट। जङ्गलको नाम हो।
यो जंगलमा अनौठा जानवर बस्छन्
ती सूत्रबद्ध छन्
रेलको लिकैलीकमा हिँडछ्न
ती सियालदाह र सल्टलेकका एकोहोरे लाइनका बसगाडी जस्तै छन्
कोलकाताको जीवनशैलीमा साँघुरो मानसिकता
र बोली व्यवहारमा कर्कशता छ
कोलकाताले काम बनाउन मह मिसाएर बोल्छ
काम सकिएपछी नचिनेझैं गर्छ
कोलकाताले बाहिरी दुनियाँलाई गन्दैन
कोलकातालाई पनि अब दुनियाँले गन्दैन
कोलकाता पटक्क बुद्धिजीवी होइन
उ बुद्धिजीवी हो भने किन कर्कश तर्क गर्छ?
जडता र शुन्यतालाई कीन तोड्न सक्दैन ?
कालोलाई कालो र सेतोलाई सेतो किन भन्न सक्दैन ?
अतीतको तिम्रो गौरवलाई किन पालन गर्न सक्दैन ?
कोलकाताले बाहिरको दुनियाँ बुझ्दैन
दुनियाँको मीठो स्वर सुनेको छैन
ताल र सुर बुझेको छैन
कुवाको भ्यागुतोसरह कोलकाता दिन रात टर्टराइरहन्छ
अतीतको गौरवले धपक्क बलेको तिम्रो अनुहार
अब त मुजामुजा परेर चाउरिएको छ
कोलकाता त आजसम्म १९११ कै गौरवमा मख्ख परिरहेको छ
जिन्दावाद मुर्दावाद गरेरै जुनी कटाइरहेको छ
कोलकाता लिक लिकमा हिँड्छ
कोलकाता बाठे छ, बेसी तार्किक छ चलाक छ
तर पनि तीन बल्ड्याङ लडिरहेको छ
अझै कति बल्ड्याङ लड्ने हो त्यो कोलकाता नै जानोस ।