आफ्ना समकालिन बीच लोकप्रीय कवि प्रकाश रम्घालीका कविताहरु मन्द बिष झैं छन् । प्रेमको गहिरो अनुभूतिहरुमा डुबेका उनका कविताको शब्दहरुले पाठकलाई सोच्न बाध्य गराउछ की बियोगका कविताहरु पनि यति सुन्दर हुन्छ र ? उनका कविताहरु वास्तावमै निस्वार्थ प्रेमका निशानीहरु हुन् जसलाई हरेक प्रेमी र पाठकले जतनसाथ आफुसँग राख्न चाहन्छ । प्रस्तुत छ साताको तीन कविता ।
हिउँद
फूल जत्तिकै मनोहरर…..
पहाड,पर्वत जत्तिकै सुन्दर
सम्झनाको खल्तीबाट खसेका एक एक क्षणहरूलाई टिपेर
सोध्दै नसोधी –
एकान्त धागोमा उनिरहेछु तिमीलाई ।
छ त्यहाँ, मेरा बर्षौदेखिका अनिदा रात
र, भन्न नसकी आफैतर्फ सर्माउँदै फर्किएका शब्दहरू
छ त्यहाँ, नपुजिएको मेरो ईच्छाको ईश्वर
र पनि, हुर्काईरहेछु मेरो लोकतान्त्रिक हृदय ।
त्यो खोला त्यो पहाड र पर्वत
ती मन्दिर र त्यहाँ बजिरहेका घण्टीहरू
ती सपाट मानिस र तिनले बोकेर हिँडिरहेका निर्दोष अनुहार ।
यो हिउँदको छिप्पदो रात
र, बेहोसीमा खाटबाट खसेको आधा शीर
अभाव र न्यास्रो बोकेर भूइँमा पल्टिरहेको बाटो
र, एकदम जाडोले जिउमा शीतको काँडा उमारिरहेको मैदान !
म एक गीत, कविता जस्तो केही तिमी
त्यो सुदूर अतीतको बर्खे फाँटमा
के बिँघ्न उँघिरहेछु ! लौ के बिँघ्न झुलिरहेछु !
झ्यालको सिटमा राखेर
घाम अस्ताउने बेला आकाश खसेजस्तो
टाढा-टाढाबाट देखिने अनेक-अनेक भ्रमहरूबीच
एउटा मीठो सम्झनामा— यात्रारत छु……
त्यो बिसौनी जस्तो निधारमा
उद्यीप आभामा मुस्कुराईरहेको टीका
सम्झदै छु …..
बिहानीको ताजा बतासले ब्यूँझिएर
गुँडबाट चराले मुन्टो उठाएजस्तो परेँली
सम्झदै छु ……
ओर्लनू छ मैले
मदेशको कुनै अपरिचित गाउँमा
एकदिन भए पनि बूढो हुन नदिन
आफूलाई झ्यालको सिटमा राखेर
सुस्तरी छुँदै-छुँदै आईपुगेँ— ती नदी र पहाडहरू ।
अब यो रात पो, सिङ्गै बाँकी छ !
आफूलाई एक्लो हुनबाट जोगाउन
मसँग भएका, सबै-सबै उपायहरू सक्किसकेको छ ।
समयको ईच्छा
हिँड्दा- हिँड्दै
थाकिसके, भरियाजस्ता औंलाहरू ।
बिसाउनु थियो थाकेका आँखा
चौतारी छैन, कसैको अनुहारमा अहो !
एकछिन् पर्खिए पनि हुने पर्खन तयार छैनन् कोही
हतार छ –
त्यो घामलाई पनि, भेट्नु छ फेरि अर्को क्षितिज ।
आफ्नै आनन्दको एकान्तबासमा उभिदाँ उभिदैँ
पोखिन्छु कैलेकाहीँ – शब्दको बिछ्यौनामा
जतनले उठाएर राख्छ कुनै सिपालु कविले
नौला मानिसदेखि आकर्षित केटाकेटीझै- कवितामा ।
समयको ईच्छा नहुँदासम्म
एक्लो र निरस जीवनको
छैन कतै— मन बिसाउने, चौतारी ।