नेपाली साहित्यको प्रसिद्ध नाम बूँद राना आफैमा कालजयी नाम हो । विशेष गजल लेखनमा प्रसिद्ध राना युवा पुस्तामाझ पनि त्यतिकै लोकप्रिय हुनुहुन्छ । हाल साढे ६ दशकको हाराहारीमा हिंडिरहेका रानाले अत्यन्तै प्रेमील र रसिक गजल लेखेका छन्। जीवनको अनुभवलाई लेखनमा हुबहु उतार्न खप्पिस उहाँका गजलमा रैथानेपन भेटिन्छन् । रानाको यो पल्ट हामीले कविता प्रस्तुत गरेका छौं। प्रस्तुत छ साताको तीन कविता ।
कविताको मूड
अक्षरहरू ग्रेनेडका गोला बोकेर
शब्दहरू स्टेनगनको टेगर समातेर
वाक्यहरू रकेट लंचर उचालेर
यति खेर भीषण युद्धको मूडमा छ मेरो कविता ।
मित्र !
यता उताका कुरा गरेर
भो न अल्मल्याऊँ
भो न बिथोलौं
कविताको ध्यान
गर्न दिऊँ युद्ध बन्न दिउँ दिग्विजयी कविता ।
कठै हाम्रा काँध
बोक्नु पर्ने त जिम्मेवारी हो
सिनो बोक्न विवस छन् कठै हाम्रा काँधहरू
खाला गए पनि
बोकी बोकी फहत्तु हाला भए पनि
बोक्न छाडेका छैनन् सिनो
लाग्छ-
काँध भनेकै सिनो बोक्नका लागि हो ।
कतै गाह्रो साह्रो पर्दा थापिनु पर्ने काँध
सिनो बोक्नमै मस्त छ
अभिशप्त कर्तव्य निर्वाहमा छ व्यस्त ।
गज्जब छ –
सिनो देख्तैन आँखाले
न त नाकले नै भन्छ सिनो गह्नायो
सद्दे शरीरका यी अंग कामै नलाग्ने भएछन्
किन ?
कसरी ?
कल्ले ?
प्रश्न छ र उब्जिनै रहनेछन् बेलामौका केंकुली कस्न ।
घटाउ र जोडमा भन्नै पर्दा निचोडमा
जिन्दगी छ दोसाँधमा
सिनो मिल्काउने वा स्वयंलाई सिध्याउने
सिनो बोकी हिंडेका छौं काँधमा ।
आच्छु छु छु जाडो
केको फासफुस
डर लाग्दो पुस
सिरग र कम्बल
भए झासझुस
मच्चाए छ राडो आच्छु छु छु जाडो ।
टाढा टाढासम्म
कुहिरो छ डम्म
घाम छैन देख्नु
केले आङ सेक्नू ?
आइलाग्यो घाँडो आच्छु छु छु जाडो ।
जडौरीको जोहो
गरौं भन्ने को हो
थोत्रो भयो पारा
जागौं अब सारा
थुती फाल्न काँडो आच्छु छु छु जाडो ।