कवि भगवती बस्नेत नेपाली साहित्यमा स्थापित नाम हो । कविता लेखन र साहित्यिक पत्रकारिता सकृय उहाँको कविताहरुमा प्रेम र अनुरागको संयोजन पाईन्छ । कथा, कविता , गीत र मुक्तक लेखनमा सकृय उहाँ पत्थर गजल साधना सम्मान , अनेसास भानु बर्ष उत्कृष्ट लेखक ,भानुभक्त काव्य पुरस्कार, विश्व नारी नेपाली साहित्य स्वर्ण पदक , भानुभक्त आचार्य स्वर्ण पदक लगायतका सम्मानबाट सम्मानित हुनुहुन्छ । हाल स्रष्टा र साहित्य कार्यक्रम प्रस्तोताको रुपमा एभिन्यूज टेलिभिजनमा कार्यरत भगवती बस्नेतलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ साताको तीन कविता ।

म एकनाश बगिरहुँ

चिहाएर हेर आफैँभित्र
कति विसंगति छोपिएका छन्…..
त्यो खोक्रो आदर्शमा कहिलेसम्म बाँचौ ?

मनका रहर र चाहनाहरु गुम्स्याएर
संस्कारको खोल ओडेर
आडम्बरी अन्धविश्वासको मान्यतामा
यसरी कहिले सम्म आफैलाई बाधौं ?

भित्रभित्र जल्नु भन्दा
विरहमा बल्नु भन्दा
अराजक नै सहि बोलेर शीतल पार्छु जलन
मेरो संस्कार
मेरो मान्यतामा
प्रश्न चिन्ह लगाउने तिम्रो कुसंस्कारको
एकाएक स्खलन गराउछु म ।

कुठाराघात गर्दिन चाहना गुम्स्याएर राख्दिन
कल्पनामै सही स्वछन्द उडिदिन्छु
कसैले महसुस नगरुन् मेरो भावना
कसैले पुछ्न नसकुन मेरो आँसुहरु
म एकनाश बगिरहुँ ।
सागर गर्भमा समाहित भएर
खुल्ला आकाश चरीझैँ स्वच्छन्द उडेर
पवनझैं निर्बाध बहन सकूँ
मलाई मेरो स्वतन्त्रता प्यारो सबभन्दा प्यारो छ ।

धड्कन

पल पल आइरहन्छ तिम्रो याद
घामको स्पर्श
हावाका झोका
झरिका बाछिटा
जुनेली रात
सबैले याद बिउँझाउँछ ।

चाहेको सबै थोक कहाँ पाइन्छ
कल्पनाले चन्द्रमालाई छुन्छ
तर छुन सकिन्न कहिले
केवल हेरेर रमाउने हो ।

तिमी आकाश म धर्ती
एकअर्कोलाई कसरी छुनु ?
मनै न हो, दुखिहाल्दो रैछ
कुनै बाटो म एक्लै कुनै बाटो तिमी एक्लै ।
प्रेममा –
न कारण हुन्छ
न अपेक्षा हुन्छ
न त धोका नै हुन्छ
हुन्छ त केवल प्रेम मात्र प्रेम
म त्यही प्रेममा यो जीवन बिताउन सक्छु ।

सम्झनाको ईन्द्रावती

ती रूमानी यादहरूमा
हरदम मन छचल्किन खोज्छ ,बहकिन खोज्छ
फेरि सम्हालिन्छ आफै
थाहा छैन –
मेरा बाटो हेरिरहने ती स्वप्निल आखाँ
आजकाल कुनै अरु दृश्यलाई हेरेर कसरी रमाउँछ ?
मेरा लागि धड्कने स्नेहिल धड्कन
कसरी अरूकै खुशीलाई सुमसुम्याउँदै मुस्कुराउॅंन सक्छ ?

ती अधर –
मैले छापेको नवरंगी मायाका डोबहरू
कसैले पुछिदिएझैं लाग्छ
लाखौं गल्ती गर्ने यो मन
तिमीलाई चटक्क्क बिर्सिने गल्ती गर्न सक्दैन
मुटुभित्र सजिएर बर्षौं बर्षदेखि बसेको तिम्रो तस्वीरलाई
कुनै पनि मूल्यमा हटाउन सक्दैन मेट्न सक्दैन ।

तिमीले बिर्सिएर के भो र ?
त्यो तिम्रो कुरा हो
त्यो तिम्रो रोजाई हो
त्यो तिम्रो खोजाई हो
तर मेरो मनको पहाडमा त
तिम्रो सम्झनाका ईन्द्रावती कलकल कल्कलाउॅंदै बगिरहन्छ
छलछल छचल्किंदै सुसाईरहन्छ हलपल
सायद यो कहिले नटुट्ने माया हो ।

तपाईको प्रतिक्रिया