अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी कवि पदमा लिंखा मगर आफ्ना कविताहरुमा निक्कै सचेत हुनुहुन्छ । उहाँको लेखनले पितृसत्तात्मक सोचको बिरोधमा स्पष्ट उभिन सकेका छन् । गीत र गजल लेखनमा पहिचान बनाउदै आएकी , उहाँ कवितामा निक्कै  ससक्त हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

इतिहास

हरेक इतिहासलाई
कलमले भन्दा तरवारले लेखिरहेको छ
हामी भन्छौं कलमले लेख्ने गर्छ
तर इतिहास लेख्नलाई कलम काफी नहुँदो रहेछ
त्यसैले त इतिहासको
हरेक महत्वपूर्ण काल खण्डहरू
तरवार, बारुद, गोली आदिले लेखिन्छन् ।

मैले सुनेको हो
इतिहास टाउकै टाउकोको माला हो रे
त्यसैले पो इतिहास लेख्नलाई
तरवार चाहिन्छ कि !
टाउको छेद्नलाई होस् या त टाउको जोगाउनलाई
तरवार नै अघि सर्दा रहेछन् ।

अहिले समय परिवर्तनको छ
परिवर्तनको चरा रंगीन पखेटा फैलाई
उडिरहेको छ समयको आकाशमा
तर इतिहास लेख्नलाई
कलम काफी नहुँदो रहेछ
इतिहासको बाटो हिँड्दा
कलमका पाइलाहरु पनि चिप्लिँदा रहेछन्  ।

अबको इतिहास मुटुको मालाले बनोस्
जहाँ माया बाँडिउन् घृणा होइन
त्यसै गरी, अब लेखिने इतिहास
योद्धाको नभएर योग्यको बनोस्
इतिहासको पानामा मुटुहरूको फूलमाला सजियोस्
माया फुलुन् चारैतिर……
यसकारण अबको इतिहासमा तरवार होइन  कलमको जयगान होस् ।

नारी

समुद्र हुन् नारी
जति डुबे पनि हुन्छ
उत्रिए पनि हुन्छ
धर्ती हुन् नारी
जति टेके पनि हुन्छ
उफ्रिए पनि हुन्छ
र, आमा हुन् नारी
जति चुसे पनि हुन्छ ।

अनमोल छ
दुई अक्षरको ‘आमा’ शब्द
तर कहिल्यै बन्न सकेन अनमोल
उही दुई अक्षरको
‘नारी’ शब्द
किनकि नारी शब्द एकाएक
चार अक्षर ‘आइमाई’मा रुपान्तरण भयो ।

उखान धेरै बने–
पँधेरे आइमाई गफ
आइमाईको किल्किले
आइमाईको फरिया
आदि आदि.. !

तर कहिल्यै सोचिएन
जन्मिनसाथ नव–शिशुलाई
आमाकै गुन्यूको एक टुक्रामा पोको पारेर
छातीमा टाँस्दै मातृ वात्सल्य पोखेको
सोचिएन त्यही गुन्यूले आफ्नी आमाको इज्जत राखेको ।

आमाले लगाउने गुन्यू कहिले सिंहदरबार पुग्छ
व्यङ्ग्यको साधन बनेर…..
आमाले लगाउने भित्री वस्त्र
यत्रतत्र उपहासमा छरिन्छन् गाईजात्रा बनेर
आखिर आमामा सम्मान छ भने आमाको इज्जत ढाक्ने वस्त्रमा
किन यति धेरै उपहास ?
खबरदार बलात्कारीहरू !
तिमीले बलात्कार गर्ने शिकार
तिम्रै आमाको वर्गमा पर्छिन्
श्रीमतीलाई कमजोर ठानी
पुरुषत्व देखाउने श्रीमानहरू
श्रीमती आमा जस्तै होइनन्  र ?

साँच्चै मन उघारौँ–
देवताका ठाउँ ओगटेका सासूआमाहरू
यो नभुलौँ बुहारी आफ्नै वर्गमा पर्छिन्,
लक्ष्मीको ठाउँ ओगटेका नन्दआमाजूहरू
आफूलाई उही ठाउँमा राखेर हेरौँ
पुरुषले मात्र होइन,
नारीको सम्मान पहिले नारीले नै गर्न सिकौँ
बल्ल पुरुषलाई औँल्याउन थालौँ
आत्मासम्मान नै महासम्मान हो
यसैमा नारीको पूर्णता भेटिन्छ ।

नदीको रुप

नदीमा पानी बग्छ र त
ओरालो बग्छ नदी
आउँदैन उसलाई उकालो चढ्न
न आउँछ बेगलाई टक्क रोकिन नै ।

नदी घामको किरण होइन
केहीले छेक्नसाथ छाया बन्ने
नदी हावाको बेग होइन
पहाडले छेकिएर पछि हट्ने ।

नदीको पानीलाई छेकिए पनि
निकासा त चाहिन्छ चाहिन्छ
नदीले कहिल्यै हाम्रो भाषा बुझ्दैन
हामीले बुझिदिनुपर्छ उसको भाषा ।

त्यसैले त हाम्रो भाषा पढाउन खोज्दा
बहुलाउँछ नदी एकाएक
उहीमाथि झरीले थपिदिन्छ
आगोमा घिउ
उर्लिन्छ अनि बनिदिन्छ थामिनसक्नु ।

माग्छ सहयोग
नाङ्गा पारिएका बेसरम पाखाहरूसित
उसैगरी विकासका नाममा
छियाछिया पारिएका घाइते पहाडहरुसित ।

उसैगरी आफ्नो अस्तित्व लुटिएकी प्रकृति
आउँछिन् मौका छोपेर
सहयोग गर्न कस्सिएर
सोहोर्दै वरिपरिका सारा बस्तीहरू
झर्छन् सबै एकसाथ ओरालो
पुग्छन् नदीको काखमा
गर्छन् फेरि विध्वंस अनि
लिन्छन् बदला एकसाथ ।

हाम्रो चेतना कहिल्यै खुल्दैन
निरन्तर चलिरहन्छ यही क्रम
हिउँद, बर्खा
फेरि हिउँद अनि बर्खा
यसरी नै कुमालेको चक्रझैँ ।

हो हामी सर्वश्रेष्ठ प्राणी मानव जाति
बुझेर बुझ पचाइरहन्छौँ
त्यसैले त सानो स्वार्थको बदलामा
यसरी नै ठूलो मूल्य चुकाइरहन्छौँ
जबसम्म बुझ्दैनौँ नदीको भाषा
जबसम्म बुझ्दैनौँ प्रकृतिको भाषा
हो उही चपेटामा परिरहन्छौँ

त्यसैले त अब
आफ्नो परिचयमा उभिएर
जगाउँ चेतना
मुक प्रकृतिको भाषा बुझेर
बचाउँ प्रकृति, जोगाउँ पृथ्वी 
अनि बाँचौं हामी
भराउँ हरियाली
मनाउँ खुसियाली !

तपाईको प्रतिक्रिया