स्थायी घर वालिङ स्यॅाङ्जा हाल किर्तीपूर काठमाडौंमा बसोबास गर्ने पत्रकार तथा लेखक, उर्जा खबरका सम्पादक लक्ष्मण वियोगी नेपाली पत्रकारिता र साहित्यमा स्थापीत नाम हो । उहाँका कविताहरुले प्रकृति , मानवता र समानताको निम्ति आवाज ओकोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

तब न मान्छे बाँचिरहला !

पातहरू झरेर निख्रिनु
रूखहरू नाङ्गिनु
खडेरीको प्रतिक होइन ।

त्यो त ऋतु–चक्रको साबुन दलेर
प्रकृतिको पानीले
धोइएको, नुहाइएको हो ।

बिहानीको शीतल हावा
मन्द–मन्द स्पर्शले फुरफुर नाँच्दै रमाउँछन्
ती अनगिन्ती फूल–मञ्जरीहरू ।

यिनै त हुन्,
पात, हाँगा र रूखले
नुहाएपछि पहिरिने भित्री वस्त्रहरू ।

हिमालमा बास बसेर
झरेको कलिलो घाम
पात–पातमा थकाई मार्छ
तब ,रूखहरू फेरि वयष्क हुन्छन् ।

तिनले जलकणसँग दौरा किन्छन्
माटोसँग सुरुवाल त्यहीँ बुनिन्छ्न्
तिनै वस्त्र पहिरिएर उभिन्छन्
हिमालको काँधभरि
पहाडका भीर–पाखाभरि
बेँसी र मैदानका चारकोस भरिभरि !

त्यहीँ झुम्मिन्छन्
डाँफे–मुनाल
कोइली र जुरेली
ढुक्कुर र कोकले
मयुरका जोडीहरू ।

लहरामा रेटिएर बजेको मायावी सारङ्गीको धुन
छहराको छङछङ खोलाको कलकल
जोर मादल सुनेर रोदीघरमा नाच्छन् वनपंक्षीहरू ।

यही,
मधुवनको मुरली सुन्दै मधुरसमा झुम्दै
मिलेर जोगाउनु छ,
यो आदिम सभ्यताको लीला
तब न मान्छे मान्छे भएर बाँचिरहला !

छोरा तँ घर कहिले जान्छस् ?

घटस्थापनाको गोधुली साँझ
आकाशमा खुर्पे जून नउदाउँदै
आमाको गला बज्थ्यो–
मैले साइतमै जमरा राखिसकेँ
छोरा तँ घर कहिले आउँछस् ?

जून तीनतारे भन्दा माथि आइसके
चराहरूले मालसिरी गाउन थालिसके
पाखाबारीभरि ढकमक्क
सयपत्री र गुर्दौली फुलिसके
खेतभरि धानका बाला झुलिसके
छोरा तँ घर कहिले आउँछस् ?

बाटाघाटा फाँडफुँड पारिसके
भत्केका गौंडा टालिसके
चौतारी चिनिसके
पधेरामाथि चौतारीमा
झ्याउरे गाउनेहरू आइसके
मादलका तनी कसकास पारिसके
छोरा तँ घर कहिले आउँछस् ?

लाहुरेहरू फर्किँदैछन्
छहरा छाँगाले भाका फिराउँदैछन्
बाबियो काटेर पिङ बाट्दैछन्
भञ्ज्याङमा रोटेपिङ हाल्दैछन्
भन् न छोरा,
तँ घर कहिले आउँछस् ?

बेली र चमेलीजस्तै फरासिला
ठूली र कान्छी पनि आइसके
यसपालि, तिहारसम्म बस्छन् अरे
तलाई टीको लाइदिएर
मात्र फर्किनी भन्छन्
घरै बुकी बसाएजस्तै भएको छ
छोरा तँ घर कहिले आउँछस् ?

आमापछि बाको पालो आयो

अब बर्खा रोकियो,
बाढी–पहिरो झर्दैन
बाटाहरू सुकिला भइसके
छुट्टी हुन धेरै दिन बाँकी नहोला
टिकट काटीहाल
झोला–झाम्टा कसीहाल
अँ भन् त,
तँ घर कहिले आउँछस् ?

माथि देउरालीमा
खोडखोडेको खाल बसिसक्यो
दुवा र तिया दाउ थाप्नेहरू जमिसके
लिङ्गे पिङ हल्लाइसके
रोटेपिङ मच्चाइसके
तर, हेर्न न यहाँ घर रित्तै छ
तेरी आमाबिना म पनि रित्तै छु
छोरा तँ घर कहिले आउँछस् ?

बा–आमा
नफर्किने बाटो गएपछि
घर रिक्तता ओढेर रोइरहेको होला
त्यो घर पनि कहाँ रहेछ र !
मन्दिर पो रहेछ
बा–आमा साक्षात भगवान
भगवान नै नरहेपछि
मन्दिरको के अर्थ !

छानो च्यातिएपछि, धुरी ढलेपछि
घरका घाम–जून अस्ताएपछि
शून्यताको बज्र खस्दो रहेछ
विलापको शङ्ख बज्दो रहेछ
त्यसले भन्दो हो–
तँ नआए पनि फरक पर्दैन
दशैं आइसक्यो

हो अचेल,
न घरले बोलाउँछ
न करले जा भन्छ
धेरै कालपछि– यसपालि
रहरहरू निमोठेर
शहरतिरै टोलाएको छु

आँखाभरि आँशुका
फूल फुलेका छन्
मनभरि–
विषाद, वेदना र विरह झुलेका छन्
भावनाहरू दुखेका छन्

घरीघरी लाग्छ–
हावाले आकाशवाणी लिएर आउँछ
र, सुइयँ सुसेल्छ–
हामी नभए पनि
तेरो नाइटो गाडेको ठाउँ त्यही हो
जरो बिर्सिस् भने
तैंले हामीलाई बिर्सिन्छस्
आफैंलाई बिर्सिन्छस्
अब, दशैं आइसक्यो
छोरा तँ कहिले घर जान्छस् ?

के हो नयाँ ?

घामका फूलहरू शिरमा सिउरेर
उभिएका हिमचुली र पहाडहरू
मारुनी, झ्याउरे र सालैजो
गाइरहने, छहरा–खोलाहरू ।

तोरीबारीमा कम्मर मर्काएर नाचीहिँड्ने
पुतलीका हूल,ऋतु फर्किएजस्तै
फर्केर आउने फूलका रङहरू
केही र कुनै पनि नयाँ छैनन् ।

पोहोर जस्तै फुलेको छ–
त्यो गुराँस, त्यो टाँकीको फूल
हिजो जस्तै, भञ्ज्याङ्मा एक्लै
झुलेको छ, लाँकुरी ।

समयको सापो हालेर
सधैँ उदाएजस्तै
झुल्केको एउटा शिशु बिहान
ऊपनि त नयाँ होइन !

ती महिना, गते, र बारहरू
फेरि–फेरि फर्किइरहन्छन्
खिल बनेका प्रियसीका यादझैँ !

खै के छ र नयाँ ?

कोल्टो फर्केको
तन तनक्क तन्केर
खिसिक्क हाँसे झैँ
भित्ताको क्यालेण्डरले
गिँजा तन्काउनु
नयाँ हो र !
ऊ पनि अर्को चोटी
फेरि फर्किन्छ त !

मलाई थाहा छैन–
समयको घाम मुन्तिर
जीवनको आँगनमा सुकाइएका
खुम्चिँदै गएका उमेरका
विस्कुनहरू मात्र नयाँ हुन कि !

तपाईको प्रतिक्रिया