नरजित राइ
जन्मस्थल छोड्दा
२० अप्रिल २०२३ को बिहान। हामीले यात्राको तय हलेसीसम्मको गरेका थियौं। मुलुक भाईले एकदिन अगाडि नै कोक्रुवाबाट दिक्तेलका लागि बस काउन्टरमा फोन गरि टिकटको अग्रिम बुकिङ गरिदिनु भएको थियो। हामीले बिहानै उठेर यात्राका लागी आ-आपना कुम्लोहरु तयार गर्यौं। कुनै पनि यात्राहरुमा निस्कदा कहिल्यै ढिलाई गर्नु हुन्न, नत्र चिताएको ठाउँमा समयमा पुग्न सकिन्न भन्ने तिता, नमिठा अनुभवहरुलाई पहिले नै चाखी सकेको थिएँ। म यात्रामा रहँदा “लिटिल बिट टाइम मेक अ बिग डिफिरेन्स” भन्ने कुरालाइ सधैं नै सम्झी रहेको हुन्छु। मुलुक भाइले एकदुई पटक ड्राइभर वा काउन्टरमा फोन गर्नु भइ बसका लागि अझै निश्चित गर्नु भयो। गाडीहरू दिक्तेलतिर जाने र बेलुकी आएर बास बस्ने अन्तिम स्टप माने भञ्ज्याङ बजारमा रहेछ। यदी गाउँका यात्रुहरुले बसका लागि अग्रिम बुकिङ गरेर गाउँ र स्थानमा बोलाए बस आउने सुबिधा पनि रहेछ। मलाई गाउँघरका लागि यातायात व्यावसायले गरेको सहयोगी भावनाबाट निकै प्रभावित भएँ। पान्धारे बजारदेखि खिदिमा कोक्रुवा हुँदै माने भञ्ज्याङ सम्म दोहोरो बस,जिप सन्चालन गरिएको भए अझ गाउँघरलाइ सुबिधा हुने रहेछ भन्ने पनि सोचेँ।
म पहिलोपटक जन्मस्थलबाट बसको यात्रा गरिरहेको थिएँ। यो यात्रा जीवनको अविस्मरणीय सुखद क्षण थियो। हामी पहिले-पहिले हिँडेर ठाउँठाउँमा बास बस्दै गन्तव्यमा पुग्थ्यौं । हामीले समयको परिवर्तन अनुसार जिन्दगीलाई चलाउनु पर्ने रहेछ। अहिले बिजुली, बाटो, सन्चार, खानेपानीको सुबिधाले पहाडी गाउँघरहरुमा निकै परिवर्तन भए पनि शहरीमुखी सुबिधाको सोचाइले गर्दा गाउँ घर रित्ती रहेको छ। मैले पहिले र अहिलेको कोक्रुवा गाउँमा धेरै फरक पाएँ। मेरो जन्म स्थल कोक्रुवाका वस्तीहरु झन अझ पातलिएछ।
गुरुजीले पर सडक देखि सात गाउँ नै थर्कने गरि बसको हर्न बजाए। त्यो चर्को हर्न बजाउनुको अर्थ गन्तव्यमा बस आइ पुग्न लागेको संकेत रहेछ। यात्रुहरुलाइ चाँडै तयार भइ निश्चित स्थानमा आइदिनका लागि अनुरोध गरिएको रहेछ। हामी मुलुक भाइको घर परिवारसंग बिदा मागेर गोरेटो बाटो हुँदै ओरालो लाग्यौं। मलाई गाउँमा केही दिन अझै रहेर वरिपरिको गाउँघर घुम्दै र चिनारी गर्दै गफिनु मन थियो। तर जिन्दगीमा घुम्नु ,भेट्नु पर्ने स्थान र आफन्तहरु, हिडाइ र भोगाइ, गपशप गर्ने समय र आत्मीयता भन्ने कुरा भाग्यमा लेखिएको रुटिन अनुसार चल्नु पर्ने रहेछ। यो संसारमा हरेक मानिसको जिन्दगी सायद यसरी नै चली/दगुरि रहेछ।
मैले अन्तिम पटक जन्मघर मुनिको जङ्गल, चिहान डाँडा, आहल डाँडालाइ फर्किएर हेरेँ। यो ठाउँमा आमाआपाले जन्माएर दुख सुखमा हुर्काउनु भइ रमाउदै दगुरेको, गोरेटो, मुलबाटो, बारी, कान्ला, जङ्गल, टारहरुसंग बिदा मागेँ। बाँचिएछ भने फेरि पनि भेट्न आउने बाचा गरेको छु। मलाई घर मुन्तिरको गुराँस, घधारु उत्तिस, कटुसहरुले पात हल्लाउँदै बिदाई गरे झैं लाग्यो। मैले दक्षिण दिशामा उभिएरको स्याल्मे डाँडालाई पुलुक्क हेरेँ। उसलाइ बादलले अंगालो मारीरहेको थियो। मैले स्याल्मे चुलिलाइ नदेखे पनि बिदाइका हात हल्लाएँ। कुनैदिन उसको टाउको र काखमा बसेर रमाउने ईच्छा पनि गरेको छु। मेरो भाग्यमा जिन्दगीको उत्तरार्धमा मात्र जन्मस्थलमा जानू/पुग्नु/घुम्नु/चुम्नु है भन्ने लेखिएको रहेछ। मैले जन्मस्थललाइ हेरेर, घुमेर, माया गरेर, टेकेर ईच्छाहरु पूरा गरेँ।
हामी बिहानको ठिक ६:४० बजे बसमा चढ्यौं। कोक्रुवाबाट दिक्तेल बजार पुग्न करिब ३-४ घण्टा लाग्ने कुरा बसका स्टाफले जानकारी गराए। हामीले मुलुक भाइ र परिवारलाई खान, बस्न, इस्टमित्रहरुसंग भेटघाट, परिचय गराई रमाइलो घुमाइहरुमा सहयोग गर्नु भएकोमा हृदय देखि धन्यवाद दिँदै बिदावारि भयौं। हामीलाई बसले हात्तिसुँढे, गैरीगाउँ, सौरे, ढाडे भञ्ज्याङ हुदै माने भञ्ज्याङ पुर्यायो। म सानो हुँदा बाजे, बजु, आपा, आमासंग माने भञ्ज्याङ बजार भर्न गएको अतितलाइ सम्झिएँ । हाम्रो बस तुरुन्तै दिक्तेलतिर दगुरी हाल्ने भएकाले उत्रिएर माने भञ्ज्याङको रमणीय दृश्यहरुलाइ क्यामेरामा कैद गर्दै ५ मिनेट हेरेर भएपनि पुरानो यादहरुलाई स्मरण गर्ने चाहनाहरु पूरा गर्न सकिन। मैले माने भञ्ज्याङ बजारलाई देख्न मात्र पाएँ। सानो समय लिएर आनन्दमयी यात्राको कल्पना गर्न नहुने रहेछ। मैले मनलाई खिन्न बनाए पनि बाध्यताहरुका अगाडि खिस्रीक्क पर्नु बाहेक कुनै उपाय थिएन। मेरो भाग्यमा बाँचुन्जेल कहाँ र कतिसम्म यात्रा गर्न लेखीएकोछ त्यो सायद पूरा हुन्छ नै होला।
मेरो पहिलो पटक दिक्तेलको यात्रा भएकोले मन निकै प्रफुल्लित थियो। हामीलाई बसले ओरालो र घुम्तिहरुमा उचाल्दै, पछार्दै, थेचार्ने काम लगातार गरि नै रहेकोे थियोे। हामी नौलाखर्क, मातिम हुदै ओरालो लाग्दा पुरानो यादले सतायो। हाम्रो पहिलाको बेंसीको खेत यतै कतै थियो। हामीले खेतीपातीका लागि एउटा डिहि (घर) बनाएका थियौं। मैले बाल्यकालमा खेलेको, रोएको, हाँसेको डिहि पनि अब त माटोमा बिलायो होला। हाम्रो बस ओरालोमा सक्दो धुलो उडाउदै रफ्तारमा नै दगुरी रहेको थियो।
दिक्तेलको बाटोमा धुलो उडाउदै
बाटोको अन्तिम ओरालो साप्सु खोला रहेछ। साप्सु खोला दुधकोशीलाइ भेट्न गीत गाउँदै अविरल बगीरहेको थियो। साप्सु खोला माथि ३० मिटर लामो पक्की पुल बनेको रहेछ। हाम्रो बस साप्सु खोलादेखि उकालो घुम्ती हुदै बिस्तारै दिक्तेल बजार तिर दगुरि रहयो। त्यसै त बसभित्र उखरमाउलो गर्मी, झन धुवाँ, धुलो मिश्रित कुइरीमन्डलको हुलले यात्रुलाई स्वागत गरि रहेको थियो। कुनै कुनै ठाउँमा धुलोका कणहरु यति उड्थ्यो कि बाहिरको कुनै पनि दृश्यहरुलाई बसको झ्यालबाट देख्न सकिन्न थियो। यात्रुहरू हेर्दाहेर्दै एकापसमा चिन्न नसकिने भैसकेका थिए । धुलो,धुवाँले सबैको रुप नै परिवर्तन गराई दिएको थियोे । मैले दुइवटा माक्स फेरिसक्दा पनि धुलोका कणहरु मजाले नाकभित्र प्रवेश गरि फोक्सो तिर जान खोज्दै थियो। आफू नाकको रोगी भएकाले राति देखि नाक बन्द भइ समस्या पो उत्पन्न होला कि भनी निकै सजग हुदै चिन्तित पनि भएँ।
कुनै कुनै ठाउँमा बाटाका घुम्तिहरु अति नै साँगुरा,अप्ठ्यारा र खतरापूर्ण थिए। गुरुजीले बसका पाङ्ग्रालाई घुम्तिहरुमा सहि ट्रयाकमा घुमाउन पछाडी सारेर स्ट्रीङलाइ फनफनी घुमाइ रहेको देख्थेँ । म डराएर वास्ता नगर्न आँखा चिम्लथेँ। हामी बसमा नै भएकाले जे जस्तो परिस्थिति आए पनि सहनु नै थियो। बाटोको वरपर भिरालो जङ्गलहरुमा साल र कटुसका रुखहरु झ्याप्पै फुलेर बैँस देखाइ,पराग सेचनका लागि मौरी, चराचुरुङ्गी, भमराहरुलाइ आकार्षित गरिरहका थिए। हामीलाइ बसले
लतार्दै, पछार्दै, थेचार्दै, धुवाँ, धुलो चखाउँदै भए पनि बल्लतल्ल दिक्तेल बजार पुर्यायो। हामी सुरक्षित साथ दिक्तेल बजार आइपुगेकोमा ढुक्क हुदै खुसी भयौं। हामीलाई “मझुवागढी रुपाकोट नगरपालिका स्वागत गर्दछ” भन्ने प्रवेश द्वार नजिकै बसले उतारेको थियो। हामीलाइ अर्गानिक पाउडरले राम्ररी नै स्वागत गरेकाले एकापसमा झण्डै चिन्न नसकिने भएका थियौं। हामीले कपडा, झोलामा टाँसिएको धुलोलाइ बेस्सरी टक्टकायौं।धुलो बुरुरु उडेर पुनः अर्को ठाउँमा टाँसियो। हामी भुत झैं देखिने भएपनि २-४ सट फोटोहरु दिक्तेल बजारलाइ पृष्ठभुमि बनाएर खिच्यौं।
हामी कुनै होटलमा गएर शरीरमा टाँसिएको धुवाँ, धुलोलाइ मजाले पखाली सफा हुने शुरमा थियौं। हाम्रो दिक्तेलमा वास नहुने भएकाले यतै कतै होटलमा नुहाएर बसको धुवाँ, धुलोलाई बन्दोबस्त गर्ने र खाना पनि खाने शिवसंग सल्लाह गरेँ । हामी कोक्रुवामा हुँदा विष्णु कुमार दाजुले दिक्तेलको एउटा होटलमा फोन गरि जेपि जी बास बस्न आइपुग्छौं है भन्नू भएको थियो। त्यो दिन दिक्तेल पुग्न नसकिने भएकाले होटल बुकिङलाई क्यान्सिल गरेका थियौं। हामी दिक्तेलमा पुगेपछि विष्णु दाईले पुनः जेपि दाइलाई फोन गर्नु भइ होटलको ठेगान सोध्नुभयो। हामी ठेगानलाइ पछ्याउँदै र ठाउँ ठाउँमा सोधपुछ गर्दै “रुपाकोट होटल एण्ड लज” मा पुग्न सफल भयौं। हामीले होटलमा खाना पकाउन लगायौं। हामी धुस्रै फुस्रै भएकाले नुहाउनका लागि बाथरुम खोज्दा साहुजीले बाथरुमहरु रहेको स्थान देखाइ दिनु भयो। हामी आनन्दले नुहाइ,धुवाइ गरि सुकिलो मुकिलो भयौं। हामी र जेपि परिवार बीच परिचय, चिनाजान र आपसी साइनो गरागर गरियो। हामी आफन्त पनि पर्ने रहेछौं। वहाँ होटल व्यवसायी संघ खोटाङको अध्यक्ष पनि हुनुहुँदो रहेछ। कपडा ब्यापारबाट व्यवसाय शुरु गरि अहिले होटल एण्ड लज व्यवसायमा आइ पुग्नु भएको रहेछ। हामीले वहाँलाई हलेसीका लागि होटल बुकिङ र तुवाचुङ्गमा केहि घण्टा जिप रोकि दिनु पर्ने शर्तमा जिप रिजर्भ गर्न लगायौं। वहाँले सबै काम तुरुन्तै गरि दिनु भएकोमा सहयोग प्रति हार्दिक आभार व्यक्त गर्यौं।
हाम्रो लागि खाना पाकि सकेकाले मागि मागि, थपी थपी खाना स्वादले खायौं। हामी समय बचत गर्नका लागी दिक्तेलबाट हलेसी तर्फ हिंडि हाल्ने भइयो। शिवले खाना,नुहाइ धुवाइ गरेको सहित जेपि दाईसंग बिल मागिन। जेपि दाइले खानाको पैसा नलिने कुरा गर्नु भयो। जिविकाको लागि ब्यापार भएकाले बिलका लागि जबर्जस्त गरियो। कुनै पनि ब्यापार व्यवसायहरुमा आफन्त, इस्टमित्र भन्ने कुरा गर्नु हुदैन भन्ने मान्यता रहेको छ। तर खानाको पैसा मरिगए लिन मान्दै मान्नु भएन। हामीलाई एकदमै लाज, सरम र अपठ्यारो महसुस भए पनि जेपि दाईको कुरालाई मान्न बाध्य नै भयौं। हामी त जेपि दाइको होटलमा पाहुना पो लाग्न पुगेछौं। हामीले जेपि दाइलाई सहयोगका लागि हार्दिक धन्यवाद बाहेक केही दिन सकेनौं। कुनै यात्राहरुमा गहिरिएर नाता सम्बन्धि सोधपुछ गर्नु हुदैन रहेछ भन्ने पाठ पनि सिकियो। यसो हुँदा कहिलेकाहीं अपठ्यारोमा पनि परिने रहेछ।
हामी दिक्तेल बजारको केही ठाउँहरुमा घुम्ने कुरा भए पनि समय अभावले घुमेनौं। मैले “खोटाङ जिल्ला दिक्तेल बजार ” भन्ने गीतलाइ सम्झिएर मनमनै गुनगुनाएँ। गुरुजीले हलेसी जाने कालोपत्रे बाटोमा जिपलाइ सक्दो दौडाइ रहेका थिए। खोटाङको वातावरणमा बाक्लो तुवाँलोको उपस्थितिले वरपरका रमणीय दृश्यहरुलाइ राम्ररी नियाल्न सकिएन। हामी माथिल्लो नुनथला, रावाबेशी, बिजुले हुदै अर्खौले अपराह्न ठिक ३:३० बजे पुगेका थियौं।
हलेसी तीर लाग्दा
हामीले हलेसी पुग्नु अगाडी नै हेर्नै पर्ने मुख्य ठाउँ तुवाचुङ- जायजुम रहेको थियो। हामीले गुरुजीलाइ एक घण्टाका लागि पर्खिन अनुरोध गर्यौं। हामी सिमेन्टेड अखेटाहरुमा टेक्दै उकालो लाग्यौं। यो हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर -१० अर्खौले स्थित मलाथुम्की डाँडामा अवस्थित रहेछ। तुवाचुङ किरात जातिका लागि धार्मिक, सांस्कृतिक र ऎतिहासिक स्थल रहेको छ। यहि ठाउँमा आदिम किरात चेली तयामा खियमाले धागो बनाइ तानको आविष्कार गरि कपडा बुन्ने र ऊनीहरुका भाइ हेछाकुप्पाले खेतीपातीको शुरुआत गरे भन्ने मिथकहरु रहेका छन।
हामी फोक्सो फुलाएर स्यास्या गर्दै लमतन्न फैलिएको डाँडामा पुग्यौं। त्यहाँको रमणीय वातावरण देख्ने बित्तिकै सबै थकाइहरुलाइ बिर्सियौं। त्यो डाँडाको वरिपरिका झाडीहरुमा आ- आफ्नै शुरमा झ्याउकिरिहरु एकनासले मधुर स्वरमा गीत गाइरहेका थिए। त्यहाँको वातावरण गर्मी भएपनि तल भीर मुनिबाट मन्द मन्द गतिमा चलेका हावाले शितलता प्रदान गरिरहेको थियो।
हामी हेछाकुप्पा, तयामा खियमाको प्रतिमा र वरिपरिको दृश्यहरुलाई पृष्ठभुमि बनाउदै मनलाग्दी भिडियो र फोटोहरु खिच्दै रमायौं। त्यहाका ढुङ्गाहरुका आकार, पहाडी बनावट, तयामा खियमाले तान बुनेका तानढुङ्गालाई देख्दा किरात उदगमस्थलका मिथकहरु सत्यतामा आधारित रहेछन झैं लाग्यो। त्यो डाँडाको दुईतिर डरलाग्दो भिर भएकाले मानव सुरक्षाको (सेफ्टी) दृष्टिकोणले तारबार लगाउन अती आवश्यक रहेछ। त्यहाँ तारबारका लागि केही खम्बाहरु गाडिए पनि लथालिङ्ग छोडिएको रहेछ। हामी हङकङमा बसोबास गरिरहेका किरात राईहरुबाट पनि किरात उदगमस्थल तुवाचुङ जायजुमलाई संरक्षण, सम्बर्द्धन गर्न सहयोग गरेका थियौं। त्यहाँ वाबु आकारको स्तम्भमा सहयोगदाताहरुको नाम ठेगाना, सहयोग रकम (शिलालेख) लिपिबद्व गरिएको रहेछ। आफ्नो पनि शिलालेखमा नाम लेखिएको पाउदा खुसी भएँ।
हामीलाई गुरुजीले तारान्तार तल सडकबाट फोन गर्न थाल्नु भयो। हाम्रो एक घण्टा त झिमिकैमा बितेछ। हामीलाई तुवाचुङ डाँडाको दृश्यहरुमा अझै रमाउने ईच्छा,चाहना भए पनि बाटो लाग्नु पर्ने बाध्यता नै थियो। हामी मन र दिमाग भरी प्राचीन किरात उदगमस्थल तुवाचुङलाई बोकेर बाटोमा ओर्लियौं। हामीलाइ गुरुजीले भुटभुट्टिदै पर्खिरहेको अनुमान गरें। गुरुजीले गाडी स्टार्ट गरेर सक्दो रफ्तारमा जिपलाइ हलेसी तर्फ दौडाउन थाले। सडक दायाँबायाँका दृश्यहरु छिटो छिटो पछाडी सर्दै गए। उनले होटल “सिलोसा ईन एण्ड लज” महादेवस्थान, हलेसीमा छाडी दियो। यो होटललाइ दिक्तेलबाट जेपि दाइ मार्फत अग्रिम बुकिङ गरेका थियौं।
घाम पिर्ल्लिक्कै डुब्न केही समय बाँकी नै थियो। हामी हलेसी गुफा, हलेसी महादेव मन्दिरमा घुम्न निस्कियौं। हामी “तृधार्मिक तपो: भुमि” लेखिएको प्रवेश द्वारबाट मन्दिर परिसरमा प्रवेश गरियो। बौद्ध मार्गीहरुले एक डाँडा देखि अर्को डाँडै भरी बाक्लो ध्वजा पताका टाँगेर हलेसी बौद्ध धर्मावलम्बीहरुको पवित्रस्थल रहेको जानकारी गराइ रहेका थिए। हामी पहिले हलेसी गुफामा पुग्यौं। त्यो निकै ठुलो र फराकिलो अदभूत सुरुङ्ग रहेछ। त्यो थोरै ओरालो र अलिकति उकालो गएपछि ह्वाङ्ग खुल्ला आकाश देखिने साच्चै अदभूत अचम्मको गुफा रहेछ। हामी प्रकृतिको आश्चर्यजनक सृजना प्रति छक्क र मख्ख भयौं। आफ्नै धुनमा लामाहरु किताब पढेर मन्त्रोच्चारण गरिरहेका थिए। हामीले थोरै भएपनि दान दातव्य दिएर आशीर्वाद माग्यौं।
हामी हलेसी गुफाको बायाँ पट्टिको अखेटा हुदै हलेसी महादेव मन्दिर तिर लाग्दा शिवलाई एउटा कुकुरले खुट्टामा लुट्पुटिदै, चाट्दै लगातार पछ्याइ रहयो। शिवलाई कुकुरले अनुनय गर्दै खानेकुरा मागि रहेको थियो। शिवले अलिक पर पसलमा गएर त्यस कुकुरलाइ बिस्कुट किनेर खुवाउदा खुसीले पुच्छर हल्लाउँदै आभार प्रकट गर्यो। त्यहाँ अन्य कुकुरहरु पनि न्याउरो अनुहार बनाएर पुच्छर हल्लाउदै नजिकै जम्मा भए। म र शिवले सबैलाई कुकुरहरुलाई बिस्कुट भक्कु खुवाइ तिनीहरुको खाने ईच्छालाई पूरा गरि दियौं। हामी गुफामा रहेको हलेसी महादेवको मन्दिर भित्र प्रवेश गरि देवी देवताको पुजा गर्यौ।
यहाँ किरातकालमा किराती राजा होलैसुङले राज्य गरेका हुनाले उनैको नामबाट ठाउँको नाम होलैसुङ भएपनि अपभ्रंस भइ हलेसी रहेको भन्ने भनाइ रहेछ।
यहाँ सन्ध्याकालिन पुजाको प्रारम्भमा दमाहा र झ्याम्टा साकेला शिलिको तालमा झैं बजाएर शुरु गर्दा कहाँ साकेला नाच्दै रहेछ भनी केहि छिन त झुक्कियौं। हलेसी गुफा र हलेसी महादेव मन्दिरको उत्पत्ति कसरी भयो भन्ने बारे विभिन्न मिथकहरु रहेछन। साली, शिवले सन्ध्याकालिन आरती पुजामा भाग लिने ईच्छा गरिन। त्यहाँ १,५०० रुपैया दस्तुर तिरे पछि दुइजनाले सन्ध्याकालिन आरतिमा भाग लिन पाउने नियम रहेछ। शिव र बुहारीले सन्ध्याकालिन आरतीमा भाग लिई आफ्नो ईच्छालाई पूरा गरिन। हामी दर्शक भएर आरतीलाइ नजिकबाट हेरि रहयौं। हामी आरती सकिए पछि पुनः हलेसी महादेवलाइ बिहानै दर्शन गर्न आउने बाचा सहित बेलुकी ८:०० बजे “होटल सिलोसामा” फर्कियौं।
२० जुलाई २०२३
४ साउन २०८०, तु क्वा वान,
हङकङ