अनिल श्रेष्ठ
ये लम्हे, ये पल हम,
बरसों याद करेंगे
ये मौसम चले गए तो,
हम फरियाद करेंगे
इन सपनो की तस्वीरों से,
इन यादों की जँजीरो से
अपनी दिलको कैसे,
हम आजाद करेंगे
ये मौसम चले गए तो
हम फरियाद करेंगे
ये लम्हे तो है बहुत हसिन
इन लम्हो पर कुछ लिखा नही
ये आवाद करेंगे
या बरबाद करेंगे
ये मौसम चले गए तो
हम फरियाद करेंगे
एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्मणबाबु श्रेष्ठको मनलाई खुब छुन्थ्यो । जब उनी आफ्ना कामहरुबाट थकाइ बिसाउन कतै आराम गरिरहेका हुन्थे उनी हरिशरणका यस्तै गीतहरु सुनेर आनन्द लिन्थे । यी गीतहरुले उनलाई एक किसिमको ऊर्जा दिन्थ्यो । उत्साह दिन्थ्यो । र, यी गीतहरुमा उनको मन बहलिन्थ्यो ।
उनी थिए नाम चलेका एक उद्यमी । एक सेलिब्रिटी ।
‘सेलिब्रिटीहरु पनि गीत सुन्छन् ?’
‘गीत, सङ्गीतबाट कोही पनि मानिस अलग रहनै सक्दैन ।’ उनको जवाफ थियो ।
नेपालमा पहिलो पटक केबलकारको निर्माणले उनलाई एकाएक चर्चाको चुलीमा पुरयाइदियो । केबलकारको सफलताले सयौं व्यापारी, उद्योगीहरुको भीडमा उनलाई एकैचोटि एक सफल व्यापारी, एक सफल व्यवसायी र एक सफल उद्यमीको रुपमा पहिलो लहरमा उभ्याइदियो । तर उनको यो सफलताको पछाडिका असफलताको अनगिन्ति कथाहरु भने उनका लागि निकै सङ्घर्षपूर्ण र अविस्मरणीय थिए ।
२०६७ साल कार्तिक १८ गते बुधबार दिउँसो दुई बजे मनकामना दर्शन प्रा. लि. को चेरेसस्थित कार्यालयको लक्ष्मणबाबुको कार्यकक्षमा आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसी, अध्यक्ष कृष्णप्रसाद देवकोटा, वंशीराम प्रधान, सन्तबहादुर केसी, अमृतबहादर कुँवरसहित हामी केही पदाधिकारीहरु चियाको चुस्कीसँगै उनीसँग गफिइरहेका छौं । केही उनका जीवन शैलीका कुराहरु, उनले सुरु गरेको व्यापार, साना–ठूला आयोजनाहरु र आर्थिक लगानीका कार्यहरु, व्यापारमा घाटा र आर्थिक असफलताले बेहोरेका उनका सङ्घर्षका दिनचर्याहरु, केबलकार परियोजनाको कार्य र केबलकारले उनलाई दिएको सफलता र उनको लोकप्रियतासँग जोडिएर हामी यतिबेला लक्ष्मणबाबुसँग कुराकानी गरिरहेका छौं ।
उनी निकै शान्त र स्थिर देखिन्थे । एकरस स्थिति । सायद जीवनभरिको सङ्घर्षले मान्छेमा एकमना भाव ल्याउँदो हो । र, त्यसैले पनि उनीभित्र शान्त चित्त थियो । बोलीमा अलिकति पनि कतै उत्तेजना देखिन्न । मसिनो बोली थियो ।
केबलकारको प्रसङ्गसँग जोडिएको उनको आफ्नो एउटा अलग अनुभव छ ।
एकदिन उनी चितवनबाट काठमाण्डौ जाँदै थिए । कुरिनटार नजिकै रहेको रमाइलो डाँडाबाट झट्ट पारि देखिने दृश्यहरुले उनका आँखाहरु लोभिए । उनले आफ्नो गाडीलाई सडकको एउटा छेउ लगाए । गाडीबाट ओर्लिए । यो ठाउँ र यहाँको भूगोललाई टेकेर उनले धेरैचोटि पृथ्वी राजमार्गको सडकका यी घुम्तीहरुबाट आउजाउ गरे । तर यो ठाउँसँग उनी यसरी कहिल्यै आकर्षित थिएनन् । त्यही रमाइलो डाँडाले उनलाई जीवनमा पहिलोपल्ट निकै मन्त्रमुग्ध बनाएको थियो । एउटा तपस्वीले झैं शान्त मुद्रामा उनले त्यही रमाइलो डाँडामा उभिएर पर देखिने ती अग्ला डाँडाहरुलाई नियालिरहे । उनी उभिएको छेउबाटै पृथ्वी राजमार्गको चिल्लो सडक कुदिरहेको थियो । तल बगिरहेको थियो त्रिशुली नदी । पारि नदीको किनारलाई छाडेर खेतका मसिना तरेली परेका गराहरु र हावामा बहेलिरहेका धानका बोटहरु देखिन्थे । खेतका गराहरुलाई काखमा राखेर उभोँतिर सालघारीको बाक्लो जङ्गल र त्यसको हरियाली थियो । अझै उँभो एउटा अग्लो डाँडो देखिन्थ्यो । त्यसका पहराहरु देखिन्थे । र, त्यसको सिरानमा देखिन्थ्यो मनकामना बजार । अनि देखिन्थ्यो निलो आकाश । तल नदीबाट उठेको चिसो हावा पहराहरुमा ठोक्किएर सडकसम्म आइपुग्थ्यो । र, उनलाई रोमाञ्चित बनाउँथ्यो । यी सबै दृश्यहरुले उनको मन पल्लवित थियो । निकैबेर यो सौन्दर्यले उनको आँखालाई बाँधिरह्यो ।
उनी स्वप्नदर्शी थिए । र, उनको मनले झट्ट कल्प्यो– ‘यो ठाउँबाट मनकामनाको मन्दिरसम्म रोप वे सञ्चालन गर्न सके कस्तो हुँदो हो !’ उनको आँखामा यी अग्ला डाँडाहरुमा बतासिँदै कुदिरहेको केबलकारको चित्रहरु खेलिरहे ।
उनी थिए दृढ निश्चयी । अर्कोचोटि आफ्नो साथमा एकजना इन्जिनियर लिएरै उनी फेरि रमाइलो डाँडा पुगे । र, इन्जिनियरलाई आफ्नो मनोकामना बताए । उनी यी पहराहरुमा आफ्ना सपनाहरु कोर्न चाहन्थे । अनि उनीहरुले त्यहीँ बसेर कोरे नेपालको पहिलो केबलकारको पहिलो नक्सा । यसरी आफ्ना सपनाहरुलाई पुरा गरेरै छाड्ने दृढ इच्छाशक्ति भएका सफल उद्यमी थिए उनी अर्थात लक्ष्मणबाबु श्रेष्ठ ।
लक्ष्मणबाबु श्रेष्ठको जन्म वि. सं. १९९२ कार्तिक २३ गते गोरखाको हटियाथोकमा भएको थियो । उनको बुबाको नाम प्रेमनारायण श्रेष्ठ र आमाको नाम देबकुमारी श्रेष्ठ थियो । उनको बुबा एक कपडा व्यापारी थिए । र, उनीहरुको परिवारलाई त्यसबेला चौबिसकोठी व्यापारीको रुपमा चिनिन्थ्यो । गोरखा राज्यलाई पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व शाह राजाहरुले कान्तिपुर उपत्यका र गोरखा राज्यको व्यापार सम्बन्धलाई गाँस्न पाटनबाट केही नेवार व्यापारीहरुलाई झिकाइ चौबिसकोठीको रुपमा गोरखामा कपडाका व्यापार शुरु गरेका थिए । त्यही पुर्ख्यौली पेशालाई पछ्याउँदै उनका बुबाले पनि काठमाण्डौबाट कपडा ल्याई गोरखामा बिक्री गर्थे । तनहुँ, धादिङ, लमजुङ र चितवनसम्म उनीहरुको कपडाको व्यापार चल्थ्यो । उनीहरुको ठूलो कपडा कोठी थियो ।
लक्ष्मणबाबु श्रेष्ठ, उनका पाँच दाजुभाइहरु मध्ये काइँला थिए । सबै दाजुभाइहरु सगोलमा थिए । दिदीहरु तीनजना । उनी तीन वर्षको हुँदा उनले बुबाको असामयिक निधन बेहोर्नु परयो । बुबाको मृत्युको सबैभन्दा ठूलो दोष उनीमाथि आइलाग्यो । उनी कार्तिकमा जन्मिएका थिए । औंसीको जन्मदिन परेको थियो । सबैले उनलाई औंस्याहा परेको भन्थे । यस्तो जन्मदिन परेको छोराले बाउ टोक्छ भन्थे रे गाउँलेहरु । यो संयोग र काकतालीले लक्ष्मणबाबुलाई छाडेन । बुबाको मृत्युपछि आमाले उनको मुख हेर्नसम्म छाडे । यो विषादपुर्ण घट्नाले उनको कलिलो मस्तिष्कका बेस्सरी आघात पुरयायो । सानो छँदा सबैले बाउ टोकुवा भनेको सुनेपछि एकान्त पाउँदा ऐना अगाडि एक्लै उभिएर उनी आफ्नो मसिना दाँतहरुलाई छाम्थे र सोच्थे– ‘मैले कसरी बुबालाई यी दाँतहरुले टोकें हुँला ।’ धेरैबेरसम्म उनी एक्लै बसेर झोक्राइरहन्थे । बुबाको सम्झनाले उनलाई नरमाइलो बनाउँथ्यो । उनले यसलाई जीवनभरि कहिल्यै बिर्सन सकेनन् ।
लक्ष्मणबाबुलाई पढ्ने असाध्यै इच्छा । उनलाई गणित असाध्यै मन पर्थ्यो । तर गाउँको स्कुलमा गणितको पढाइ हुँदैनथ्यो । गाउँमा सामान्य प्राथमिक स्कुल मात्र खुलेको थियो जहाँ एकाक्षरी मात्र पढाइन्थ्यो । यो पढाइले उनको पढ्ने तृष्णालाई मेटेन । उनले आफ्नो बाल्यकालको केही समय गोरखाको चिनियाखर्कमा रहेकी ठूली दिदी चेतकुमारी मल्लको घरमा बिताए । दाइले व्यापार थाम्ने भएपछि उनी पढ्न काठमाण्डौ हिँडे ।
१३ वर्षको उमेरमा उनले काठमाण्डौको शान्ति विद्यागृहमा एक कक्षामा भर्ना भए । उनको पढाइ उति साह्रो अब्बल थिएन, सामान्य थियो । तर पनि उनको कक्षा फड्किने क्रम भने अनौठो थियो । एक कक्षा पढे । जाँच दिए दुई कक्षाको । पास भएर तीन कक्षा भर्ना भए । तीन कक्षा पढे । जाँच दिए चार कक्षाको । पास भए र भर्ना भए पाँच कक्षामा । पढाइप्रतिको उनको विचित्रको यो लगाव र आत्मविश्वास देखेर स्कुलका शिक्षकहरु नै दङ्ग पर्थे । कुनै नयाँ कामप्रति उनी सधैं व्यग्र र चिन्तनशील रहन्थे । आफ्नो कामप्रतिको उनको यही आत्मविश्वास, लगनशीलता र इमान्दारीताले नै उनलाई सफलता र ख्याति दियो ।
बि. सं. २०१३ सालमा उनले जुद्धोदय पब्लिक हाइस्कुल, काठमाण्डौबाट एस. एल. सी. पास गरे र त्रिचन्द्र कलेजबाट बि.ए. सम्मको अध्ययन सके । राजनीति शास्त्र र अर्थ शास्त्र उनको मनपर्ने विषय थियो । पढाइ छाडेरै एकताका उनी जागिर खोज्न हिँडे । जागिरमा उनको रुचि थियो । सरकारी जागिर भनेपछि छुट्टै आकर्षक हुन्थ्यो । उनले पुलिसको इन्सपेक्टरमा नाम निकाले ।
तर उनका दाजु किसनबाबुका इच्छाबेगर उनले पुलिसको त्यो जागिर खान सकेनन् । अर्को पटक उनले सेनाको सेकेण्ड लेफ्टिनेन्ट पदका लागि जाँच दिए । पास भए । तर विदेशमा आफूलाई तालिममा पठाउने कोटामा अर्कैलाई पठाएपछि सेनाको त्यो जागिर पनि उनले छाडिदिए ।
पढाइ धान्न जागिर खोज्दै हिँडेका थिए उनी । २०१७ सालको गोरखापत्रमा प्रकाशित ठेक्का सम्बन्धि एउटा विज्ञापनले भने उनको जीवनलाई अर्कै मोडतर्फ धकेलिदियो । गोरखापत्रले चितवनमा सरकारी कृषि कार्यालयका भवनहरु बनाउने ठेक्कापट्टाको दरखास्त माग गर्दै सूचना आव्हान गरेको थियो । कुन सोचमा उनले दरखास्त हालिदिए । संयोगले ठेक्का उनलाई परयो । उनी अलमल्ल परे । उनी पढ्दै गरेका विद्यार्थी थिए । न उनी ठेकेदार थिए, न कुनै ठेकेदारी पेशाको अनुभव । न उनीसँग कुनै पुँजीको बन्दोबस्त । उनी जिल्ल परे । उनले आफ्नो इमानलाई ढाँट्न सकेनन् । लुखुरलुखुर चितवन झरे र आफ्नो ठेकेदारी सम्हाले । उनको ठेक्काले घाटा बेहोर्नु परयो । फेरि पनि उनको कामबाट प्रभावित भएका सरकारी कर्मचारीहरुले उनलाई एकपछि अर्को भवन निर्माणका कामहरु सुम्पन थाले । सामान्य कामदारदेखि सरकारी उच्च तहका कर्मचारीसम्म उनको व्यवहार उत्तिकै मित्रवत र प्रेमपूर्ण रहन्थ्यो । उनले सधैं सामान्य जीवन बिताए । सबैसँग उनको स्वभाव सरल थियो ।
अन्ततः ठेकेदारी पेशालाई नै आफ्नो मुख्य पेशा बनाएपछि उनले २०३३ सालमा चितवन कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा. लि. (चितवन–कोइ) नामको कम्पनी दर्ता गरे । चितवन कोइ अन्तरगत उनले चितवन मिल्क, सगरमाथा हाइड्रो पावर, चितवन कन्ट्रक्सन, आर.वि. इन्टरप्राइजेज, मनकामना दर्शन प्रा. लि.का कामहरु सञ्चालन गरे । उनले ठूला विल्डिङ कन्ट्रक्सन र हाइड्रो पावरका धेरै कामहरु गरे । तर यी सबै कामहरुले उनलाई सोचेजस्तो आर्थिक मूनाफा दिन सकेन । उनले थुप्रै व्यवसायिक असफलताहरु बेहोरे । यी सबै असफलताहरुका बिच उनको जीवनको उत्तरार्धमा उनलाई सजिलै चिनाउने काम भने मनकामना केबलकारले गरयो ।
‘हाम्रो मुलुकभित्र यतिधेरै यी डाँडाहरु छन् । यिनलाई उपयोगमा ल्याएर वल्लो डाँडादेखि पल्लो डाँडासम्म मान्छेले चराजस्तै सररर उडेर पुग्ने सक्ने स्थिति कसरी होला ।’ उनी कल्पना गर्थे । उनले आफ्नो त्यो कल्पनालाई मनकामना जाने केबलकार हालेर पुरा गरे ।
सन् १९९८ को वर्षलाई नेपाल सरकारले पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरयो । नेपाल सरकारको उद्देश्य यही वर्षभित्र धार्मिक पर्यटकीय दृष्टिले आकर्षणको केन्द्रको रुपमा रहेको आँबुखैरेनीदेखि मनकामनासम्म केबलकारलाई सञ्चालनमा ल्याउने थियो । तर केबलकार बनाउने कामको जिम्मा पाएको ठेकेदारले भने प्रत्येक वर्ष केबलकार परियोजनाको लाइसेन्स नवीकरण मात्र गर्ने तर काम चाँहि सुरु नगर्ने भएपछि नेपाल सरकारले बाध्य भएर उसको ठेक्काको लाइसेन्स नै रद्द गरयो । सरकारले दोस्रो पटक दरखास्त आव्हान गरेको केबलकार परियोजनाको ठेक्का लक्ष्मणबाबुले पाए । केबलकार परियोजना निर्माणको ठेक्का पाएको त्यो क्षण उनी जीवनमै सबैभन्दा धेरै खुशी भए । त्यो उनको सपना थियो ।
केबलकार निर्माणको लागि उनको कम्पनी चितवन कोइ र अष्ट्रेलियाको सबैभन्दा ठूलो केबलकार निर्माता डोपलमायर कम्पनी बीच सम्झौता भयो । डोपरमायर कम्पनीले विश्वभरि नै आठ हजार भन्दा बढी यस्ता केबलकार निर्माण गरेर सञ्चालन गरिसकेका थिए । केबलकारको सम्पूर्ण सम्भाव्यताको सघन अध्ययन गरिसकेपछि चितवन कोइ र डोपलमायरले आफ्नो काम शुरु गरयो । पहिले आँबुखैरेनीदेखि ३ किमी पर गोरखाको सिमलगैरीबाट सञ्चालन गर्ने भनिएको केबलकार चितवनको कुरिनटार नजिकै रहेको रमाइलो डाँडामा सरयो ।
‘यसरी ठाउँ सार्नु ठेक्काको सम्झौता विपरित थिएन ?’ हामीले सोध्यौं ।
‘गुगलबाट अध्ययन गरेर हेर्दा सिमलगैरीभन्दा कुरिनटारबाट मनकामनाको दुरी कम र निर्माणको लागत इस्टिमेटको हिसाबले पनि परियोजना कम खर्चमा सम्पन्न हुने देखियो । पृथ्वीराजमार्गको छेउमै रहेको कारण गाडीबाट सजिलै देखिने, यात्रु र दर्शनार्थीहरुको सजिलै आवतजावतले पनि प्रचारप्रसारको दृष्टिकोणले यो ठाउँ उपयुक्त थियो । पछि ठेक्का सम्झौतापत्रमा पनि हामीले लोकेशन सच्यायौं ।’ उनले भने ।
उनको केबलकार परियोजना निर्माण कार्यको दुःख पनि सानो छैन । ठेक्का सम्झौताको समयसीमाभित्र उनलाई केबलकारको निर्माण कार्य सम्पन्न गरिसक्नु थियो । यति ठूलो परियोजना सुरु गर्नु सानो पुँजीले सम्भावना थिएन । उनी परियोजनाका सबै कागजहरु बोकेर ऋणका लागि बैंकहरु पुग्थे । तर यति ठूलो परियोजनाका लागि उनलाई ऋण दिन कुनै पनि बैंकहरु तयार थिएनन् । बैंकहरुबाट पाएको दुःख र सास्तीका कथाहरु उनीसँग अलग्गै छ ।
नेपालका ठूला उद्योगी भनिएकाहरु उनलाई असहयोग गरेर उनको यो परियोजनाको कार्यलाई असफल बनाउन खोजिरहेका थिए । कहिलेकाहीँ यस्ता क्षणहरुले उनलाई निराश बनाउँथ्यो । तर पनि उनी आफ्नो कार्यमा कहिल्यै हतास भएनन् । केबलकार उनको सपना थियो । उनी आफ्नो लक्ष्यमा डटेरै लागिरहे ।
ये लम्हे तो है बहुत हसिन
इन लम्हो पर कुछ लिखा नही
ये आवाद करेंगे
या बरबाद करेंगे
ये मौसम चले गए तो
हम फरियाद करेंगे ।
हरिशरणका यी गीतहरुले उनले आफू कहिल्यै थाकेको अनुभव गरेनन् ।
‘दुःख आइलाग्दा गीतहरुले पनि कहिलेकाहीँ साथ दिन्छ ।’ उनी मन्द मुस्कुराए ।
सन् १९९८ नोभम्बर २४ अर्थात् २०५५ मङ्सिर ८ गते परियोजनाको सम्पूर्ण काम सम्पन्न भएर केबलकार सञ्चालनमा आयो । तत्कालीन युवराज दिपेन्द्र शाहले यसको उद्घाटन गरे ।
नेपालमै पहिलो पटक केबलकार सञ्चालन गरेर पर्यटकीय प्रवर्द्धनमा उल्लेखनीय योगदान गरे बापत स्व. राजा वीरेन्द्रबाट लक्ष्मणबाबु श्रेष्ठलाई सुप्रबल गोरखा दक्षिणबाहुबाट सम्मानित गरयो । उनलाई नेपालको तर्फबाट अष्ट्रेलियाको लागि अबैतनिक राजदुतका रुपमा अष्ट्रेलियाको सरकारले नियुक्त गरयो । विभिन्न देशका कुटनैतिक अधिकारीहरुबाट उनको कामको प्रशंसाहरु आइरहे । रातारात केबलकारबाट मनकामना मन्दिर जाने दर्शनार्थीहरुको भीड बढ्यो । यसले लक्ष्मणबाबु श्रेष्ठको प्रशंसकहरु मात्र बढेनन्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै उनको ख्यातीलाई चुल्याइदियो । कामप्रतिको इमान्दारीता, अथक परिश्रम र निरन्तर साधनाले उनलाई एकजना सफल उद्यमीको रुपमा सबैतिर परिचित बनाइदियो । मनकामना केबलकार नेपालको आर्थिक समृद्धिमा एउटा नौलो र क्रान्तिकारी कदम बन्यो । यसले नेपालको प्रविधिको विकासलाई एक पाइला अघि बढायो ।
उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए ।
७८ वर्षको उमेरमा बि. सं. २०७० साल फागुन १ गते उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा उनको निधन भयो ।
सधैं केबलकारमा आउने दर्शनार्थीहरुको भीडले गुलजार देखिने रमाइलो डाँडा लक्ष्मणबाबु श्रेष्ठको मृत्युको खबरले एकलास देखिन्थ्यो । लक्ष्मणबाबुले छाडेका पदचापहरु लिएर त्यो रमाइलो डाँडा एफ. एम. रेडियोहरुबाट एकान्तको धुनहरु बजाइरहेको थियो ।