काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनल लगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषदको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम हुन्छ र उपाध्यक्षको जिम्मेवारी कस्तो हुनेरहेछ भन्ने अनुभव गराउँन बालिकाले पनि चाहे भने हरेक काम गर्न सक्ने कुरा बताउदैँ उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

उपाध्यक्ष बानियाँले राष्ट्रिय बालअधिकार परिषदको स्थापनाको उद्देश्य र लक्ष्य कार्यक्रमबारे जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउँनपर्ने आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यस वर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गर्ल्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

अभियानका महासचिव तिलोत्तम पौडेलले ११ अक्टोवर दिनलाई विश्वभरका बालिकामा समर्पित गर्दै दिवस मनाउने सन्दर्भमा नेपाली बालिकाहरू पनि आफ्ना माग, आवश्यकता र भावना मञ्चहरूमा प्रस्तुत गर्न सक्ने क्षमता बढ्दै गएको बताएका छन् ।

सो अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँगको ऐक्यवद्धतामा एक दिनका लागि पद हस्तान्तरण र सांसदसँग छलफल कार्यक्रम गरी बालबालिकाको सवाललाई नीति निर्माण तहसम्म पुरयाउने जमर्को गरेको बताए ।

तपाईको प्रतिक्रिया