वर्तमान समयको शक्तिशाली कवि मुक्तान थेबा आफ्नो समकालीनहरु माझ खरो कविको रुपमा परिचित छन् । उनको लेखनले आदिवासी सौन्दर्य , समानता , मानव अधिकार र शुसासनको निम्ति जिकिर गरेको हुन्छ । पछिल्लो समय नागरिक आन्दोलनसँग नजिक हालै प्रकाशित भएको उनको कविताकृति मान्सीया आदिवासी सौन्दर्यमाथि लेखिएको एक शक्तिशाली कविता कृति हो । बिशेषगरी तामाङ सभ्यता, संस्कृति, पहिचान, प्रथामा केन्द्रीत यी कविताहरुले मानवताको वकालत गरेका छन् । प्रस्तुत छ साता तीन कविता ।

गोरुसिङे ‘ञ’

झट्ट हेर्दा
गोरुको सिङ
‘ञ’को फुर्को जस्तै छ ।

वर्णमालामा ‘ञ’लाई
गोरुको सिङ नै किन बनायो ?

मेरो भाइले बोक्ने गुलेली पनि त त्यस्तै छ ।

किन लेखेन गुलेली फुर्के ‘ञ’ ?

एकोहोरो वर्णमाला घोकिरहेको छ गुन्जमान

कापुरी ‘का’
खारायो ‘खा’
गाई गोडे ‘गा’
गोरु सिङगे ‘याँ’

”एला थे गोर्सिङे याँ से लबा जा तिला ओई गुन्जमान ?
ह्याङ्ला फुर्केला रुसेह्राङ थाप्पा कि आथाप्पा होइ?
(तिम्रो त्यो गोरुसिङे ‘ञ’ले गर्छ चाहिँ के ओई गुन्जमान ?
हाम्रो फुर्केको सिङले जस्तै हान्छ कि हान्दैन )?”

गोरुको काँधमा जुवा नार्दै छ हाजिरमान।

“हाई…….
(खै) ?”

गोरुसिङे ‘ञ’को सिङ हुन्छ कि हुँदैन ?
वर्णमाला घोक्दै गरेको गुन्जमान अन्जान छ ।

हाजिरमानलाई थाहा छ
तिखे गोरुको धक्कु ठुलो हुन्छ ।

हाजिरमानले कहिल्यै कुनै कक्षामा हाजिर गरेको छैन ।

भकारो सोहोर्न
डाले झार्न
सोत्तर कुट्काउन
दुध दुहुन
हलो तास्न
पाखो बारी जोत्न
डोको ,सोली , भकारी बुन्न ,
घर छाउन
कुटो , कोदालो ,बन्चरो , आरा , खुर्पा चलाउन , हाजिरमानले कहिल्यै कुनै कक्षामा हाजिर गर्नु परेन ।

हाजिरमान
सिङ समातेर हान्ने गोरु तह लगाउन सक्छ ।
जुवा नारेर जोत्नसक्छ ।
बाँझो फोर्नसक्छ ।

हाजिरमानले समाउन नसकेको सिङ
सत्ताको सिङ हो ।

थाहा छैन हाजिरमानलाई कि
कति भयानक हुन्छ सत्ताको सिङ ?

गुन्जमानहरुलाई गोरुसिङे ‘ञ’ घोकाउनेहरुसंग छन् –
तिखा-तिखा सिङ ।

त्यही सिङले घोच्दाघोच्दा
भित्तामा पुगेर चेप्टिएको हो उसको आख्खे(बाजे) ।

त्यही सिङमा उनेर
रक्ताम्य लडेको छ- उसको आफ्नो वर्णमाला ।

त्यही सिङमा उनेर
लम्पसार पछारियो- उसको आबाको बैँस ।

गोरुसिङे ‘ञ’
देश ओगट्ने गोरुहरुको सिङ हो ।

सत्ता एक सिङ हो ।

गुलेलीसंग डराउँछन् –
गोरुसिङे ‘ञ’ घोकाउनेहरु ।

कोरा एक कल्पना

महाराजहरुलाई पनि लाग्दो हो
दुई-चार रात
‘रैती’हरुको झुपडीमा निदाइदिउँ ।

सामन्तहरुलाई पनि लाग्दो हो
केहि टुक्रा रोटि
‘दास’हरुसंगै खाइदिउँ ।

संभ्रान्त/कुलीनहरुलाई पनि लाग्दो हो
केहि छाकको भोक
ज्यामिहरुसंगै साटिदिउँ ।

मालिकहरुलाई पनि लाग्दो हो
टालेको आँङ बोकेर
मजदुरसंगै मेसिनमा औँलाहरु नचाउँ ।

जमिनदार/महाजनहरुलाई पनि लाग्दो हो
खुम्चिएको आधापेट मिच्दै
हली, ज्यामिहरुसंगै खेतका गराहरुमा घोप्टिदिउँ ।

हाकिम साबहरुलाई पनि लाग्दो हो
कहिलेकाही
बुढो पालेले झैँ केहि टुक्रा रोटी नुनसंग रोटि चोपिदिउँ ।

एक ‘महापुरुष’लाई पनि लाग्दो हो
एक दिन
म पनि श्रीमतीको अन्डरवेर धुइदिऊँ ।

एक ‘महान’ दानीलाई पनि लाग्दो हो
म पनि यो ‘भिखारी’संगै
केहि रात सडकमै सुतिदिऊँ ।

फगत यी
निमेसभरिमा फुटेर बिलाउने
बलेँसीमा उठ्ने भावनाका फोकाहरू हुन् ।

यथार्थ:
–जात हो
–जात व्यवस्था हो
–वर्गसत्ता हो ।

ढोँड लौरो हुन सक्दैन

जब ऊ
सेलिब्रेटि हुँ भन्छ
भुइँबाट छुट्छ ।
जब ऊ
म सबैको साझा हुँ भन्छ
आफैँसंग छुट्छ ।
जब ऊ
मात्रै कला खोज्छ, कला मात्रै देख्छ
पहिचान गुमाउँछ ।
जब ऊ
सबैको प्रिय, सर्वस्विकार्य बन्छु भन्छ
विचारहिन बन्छ ।
तपाईं उसलाई के भन्नुहुन्छ
त्यो म जान्दिनँ
बस् म उसलाई
सुकेको ढोँड भन्छु ।

तपाईको प्रतिक्रिया