रमेश केसी
‘ओरिजिन’ पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ।
‘दी दा भिन्ची कोड’ उपन्यास प्रकाशित उप्रान्त सर्वाधिक बिक्री हुने उपन्यासकार डान ब्राउन ‘ओरिजिन’ सम्म आइपुग्दा विचारहरूका उपन्यासकार बनेका छन् । दी न्युयोर्क टाइम्समा दुई महिनासम्म सर्वाधिक बिक्री भएको नम्बर एक पुस्तक ‘ओरिजिन’ भविष्यवादी उपन्यास हो। ल्याङ्डोन सिरिजको दोस्रो उपन्यास `दी दा भिन्ची कोड’ को रहस्य समाधान गर्न सफल हार्वर्ड युनिभर्सिटीका विम्बशास्त्री रोबर्ट ल्याङडोन भन्ने पात्र पुर्व प्रकाशित चार वटा उपन्यासमा धारावाहिक रूपमा देखा परेका छ्न र यो पाँचौ पुस्तक ‘ओरिजिन’ मा पनि उनी दोहोरिएका छन् ।
‘ओरिजिन’ उपन्यास साइन्स फिक्सनको नजिक रहे पनि मूलतः धर्म र विज्ञानको द्वन्द्व देखाउने र त्यस द्वन्द्वमा विज्ञानको जीत हुने भविष्यवाणी गरिएको थ्रिलर उपन्यास हो। अहिलेको कालखण्डमा विज्ञानको नयाँ नयाँ आविष्कारले संगठित धर्मलाई चुनौती दिएको छ। केही दशक अघिसम्म सत्यका रूपमा स्थापित धार्मिक मान्यताहरूलाई विज्ञानले चुनौती दिएको सत्य हो। यही चुनौती दिने उपन्यासका प्रमुख पात्र एडमन्ड किर्च मानव जातिको उत्पत्तिमा ईश्वरको कुनै भुमिका नरहेको प्रमाणित गर्न तयार कम्प्युटर वैज्ञानिक र भविष्यशास्त्री हुन् ।
उपन्यासले स्पेनमा रहेको धर्महरूको संसदमा भ्रमण गर्छ र त्यहाँ उपस्थित इसाई, यहुदी र इस्लाम धर्मगुरुहरूलाई धर्मको राज्यको अन्त्यको दिनगन्ती भइसकेको बताउँछ । ती धर्मका धर्मगुरुहरूमध्ये दुईको हत्या हुन्छ भने एकको आत्महत्याबाट समाप्ती हुन्छ ।
जब एडमन्ड किर्च आफ्नो आविष्कार संसारका करोडौँ मानिसलाई अनलाइनमार्फत बताउने स्थितिमा पुग्छन् तब एक अज्ञात क्याथोलिक कट्टरपन्थीबाट उनको हत्या हुन्छ । उनको मृत्यु गुगेनहेम म्युजियममा थ्रीडी प्रिन्टेट बन्दुकबाट हुन्छ । यसको आरोप पाल्मारियन चर्चमाथि लाग्छ। पाल्मारियन चर्च भूमिगत धार्मिक संगठन हो। स्पेनको राजामाथि पनि हत्या गरेको आशंका गरिन्छ।
हार्वर्ड विम्बशास्त्री रोवर्ट ल्याङडोन किर्चको आविष्कारको खोजीमा लाग्छन। किर्चले पत्ता लगाएको मानव जातिको उत्पत्तिसम्बन्धी रहस्य उसको सुपर कम्प्युटरमा ल्याङ्डोनले भेट्छन । जम्मा ४५ शब्दको कविता जस्तो त्यो कोड हुन्छ । ल्याङडोनको यो खोजमा गुगेनहेम म्युजियमकी निर्देशिका आम्र भिदालले साथ दिन्छिन्, जसको स्पेनको राजासँग विवाहका लागि मगनी भएको हुन्छ । स्पेनको फासीवादी इतिहास, कृत्रिम बुद्धिको सम्भावना र असर, १९५० को अर्गानिक रसायनशास्त्र, क्याटलनको वास्तुकला, पाल्मारियन चर्चको उदयबीच लेखक ब्राउनले पात्रहरूलाई खेलाडी बनाउँछन्। यसरी खेल्दै उपन्यासको ‘कौतूहलतासँगै खेलको अन्त्य हुन्छ ।
उपन्यासमा ल्याङ्डोनको डाइलग यस्तो छ – “मानिस एउटा फरक जीवको रूपमा विकसित भइरहेको छ,” उनले भने। ” वायोलोजि र टेक्नोलोजीको फ्युजनमा हामी एक हाइब्रिड प्रजाति बनिरहेका छौं ।”
एडमन्ड किर्च सबैभन्दा रोचक पात्र हुन। ऊ जीव वैज्ञानिक रिचर्ड डकिन्स, पत्रकार चिन्तक क्रिस्टोफर हिचन्स र स्नायु वैज्ञानिक स्याम ह्यारिसका अनिश्वरवादी दर्शनसँग नजिक हुन्छ । माथि उल्लिखित अनिश्वरवादीहरूको पुस्तक उसको कोठामा भेटिन्छ ।
पुस्तकमा १९ औं शताब्दीका अर्का अनिश्वरवादी दार्शनिक फ्रेडरिक नित्सेको प्रसंग पनि बारम्बार आउँछ । उपन्यासमा क्रिप्टोग्राफी कोड र कन्सपेरेसीको प्रसंग पनि आउँछ। ‘हामी कहाँबाट आएका हौं र हामी कता गइरहेका छौं’ भन्ने प्रश्नले लखेटिएर मानव उत्पत्तिको रहस्य पत्ता लगाउने एडमन्ड किर्चमा अहिलेका अविष्कारकहरू इलोन मस्क र स्टिभ जब्स आदिको प्रतिविम्ब देख्न सकिन्छ । अर्को पात्र ल्याङ्डोनलाई लेखक स्वयं हुन् पनि भनिएको छ। डान ब्राउन आफूलाई अनिश्वरवादी भए पनि धर्मको विरोधी भने नभएको बताउँछन् ।
ल्याङडोन उपन्यासमा भन्छन्, ‘विज्ञान र धर्म प्रतिस्पर्धी होइनन्, दुइटा भिन्न भाषा हुन्, जसले एउटै कथा भन्छ ।’ उपन्यास स्पेनको विलबाबो र बार्सिलोनाको धार्मिक, वास्तुकला र सांस्कृतिक पृष्ठभूमिमा सजिएको छ । अन्त्यमा किर्चको अविष्कारको घोषणाले संसार अचम्मित हुन्छ। उसले ‘ईश्वरविहीन ‘ओरिजन’ को आविष्कार गरेको हुन्छ, जसलाई संसारका करोडौं मानिसले अनलाइनमा हेर्छन् । यसरी किर्चको सपना ल्याङ्डोनले साकार पार्छन् ।
पश्चिमी संसारमा धर्म र विज्ञानको बीच द्वन्द्व चलेको वैज्ञानिक ग्यालिलियोको ब्रह्माण्डशास्त्र सम्बन्धी आविष्कार पछि हो । अहिले पनि यो द्वन्द्व जारी छ । यस मामिलामा विशेष गरी क्याथोलिक चर्च अनुदार हुँदै आएको छ ।
उपन्यासमा क्याथोलिक चर्चको अन्धविश्वास र गैरवैज्ञानिक चिन्तनलाई प्रहार गरिएको छ । एडमन किर्चको आविष्कारले क्याथोलिक चर्च मात्र होइन; इस्लाम, यहुदी र अन्य धर्मका सृष्टिसम्बन्धी अवधारणालाई समाप्त पार्छ । उपन्यासकार डान ब्राउन २१औं शताब्दीको लडाकु अनिश्वरवादको पक्षमा देखिएका छन् । मानव उत्पत्तिसम्बन्धी विकासवाद र सिर्जनावादको बीचको लडाइँमा उपन्यास विकासवादको पक्षपोषण गर्छ। बौद्धिक तर्क र वितर्क तथा विज्ञानका सन्दर्भहरूले भरिएको यो उपन्यास उत्तरआधुनिक कृति हो । ईश्वरले विज्ञानसँग सामना गर्न सक्दैन भन्ने सन्देश भएको यस उपन्यासका लेखक डान ब्राउनले चर्चको संगीतबाट प्रभावित भएर यो उपन्यास लेखेको बताएका छन्। गणितका प्राध्यापक पिता र कट्टर इसाई धर्मावलम्बी माताका पुत्र ब्राउनले सानैदेखि आफू धर्म र विज्ञानको विषयमा स्पष्ट हुन नसकेको बताउँदै सो द्वन्द्वले पनि यो उपन्यास लेखाएको टिप्पणी गर्छन् ।
अमेरिकाका भविष्यशास्त्री रे कुर्जवेल र अमाजोन कम्पनीका मालिक जेफ बेजोजजस्ता मानिसले गर्ने सम्भाषणहरू पुस्तकमा यत्रतत्र छरिएका छन् । यो पुस्तक अहिलेको समकालीन ईश्वर र विज्ञानबीचको विमर्शको प्रतिनिधि साहित्य बनेको छ । कन्स्पेरेसी नेट डलकमले निरन्तर सूचना दिइरहने प्रसंगलाई हेर्दा यो पुस्तक सूचना क्रान्तिका पुस्ताहरूलाई पनि ध्यानमा राखेर लेखिएको संकेत मिल्छ। यो अनिश्चयको युगमा विचारहरूको लडाइँमा ब्राउन किर्च पात्रमार्फत अनिश्वरवादी चिन्तन प्रवक्ता बनेका छन् । रहस्यमय हत्या र सनसनीखेज घटनाहरूको यो उपन्यास अत्यन्त कसिलो संरचनामा लेखिएको छ।
लेखक स्वयंले एक वार्तामा भनेका छ्न- मलाई लाग्छ धर्मले आफुलाइ तर्क भन्दा पर रहेको दावी गरेर कुनै फाइदा गरेको छैन । हो ! धर्मले संसारमा धेरै असल कार्य गरेको छ तर यो विकसित भएन भने निश्चितरूपमा यो मर्ने छ।
यस पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ ।
लेखक : डान ब्राउन
प्रकाशक: फ्यान्टम प्रेस
पेज : ४६१
मूल्य : १,२७८ ने.रु.
प्रथम प्रकाशित मिति : अक्टोबर ३, २०१७