निजामती पेशामा आवद्ध रहेका कवि खेम साम्पाङ राई कवितामा उत्तिकै समर्पित छन् । सुदुर पूर्वको इलाम जिल्लाबाट समकालीन कविता जगतमा चुपचाप कलात्मक , दार्शनिक र सामाजिक बिसङ्गतीका कविता सृजना गर्नु उनको बिशेषता हो । उनका कविताहरुले पहाडबाट झरेको झरना जस्तो पाठकमा बिचारको एक जादुमयी मनोदशा उत्पन्न गराउँदछ । प्रस्तुत छ साताको तीन कविता ।

प्रेम र संवेदना

अविराम गति रहेछ
प्रेमको सफर
जो हृदयको हरेक कापहरुबाट पलाएर बगिरहने
संवेदनाको संगीन संवाद रहेछ ।

प्रेम भन्नु त केवल
मनदेखि मनसम्मको कोमल सफर न हो
आज हेरक मनहरु कैद छन् आफैभित्र
सफरका गोरेटाहरु भत्किएका छन् सबै
मनका ढोकाहरु खुल्दैनन् कतै
आजकल हुनै छाड्यो
मान्छे-मान्छेबीच प्रेमील संवाद
कि मान्छे र यन्त्र
कि यन्त्र र मान्छे
कि यन्त्र-यन्त्र
आज यान्त्रिक भएर पो निस्कियो मान्छे पनि ।

यो यान्त्रिक दुनियामा
वर्जित छ दया, माया, करुणा र प्रेम
मान्छे-मान्छेबीच आज
संवेदनाहीन संवाद मात्र जीवित छ
कुनै बेला मान्छेले सदाएको मेशिनले आज
हरेक मान्छेलाई
सदाइरहेछ यसरी ।

प्रेमको परिभाषा आज
व्यस्तताले दिइरहेछ
प्रत्येक सहरमा
न रस छ
न सुगन्ध छ
न भावना छ
न कोमल छ
न आत्मियता नै
छ त केवल नीरस भई
संवेदना गुमाएर
निरर्थक बाँचिरहेको यान्त्रिक मान्छे
जो खिया लागेको मेशिन झैं
घ्याच-घ्याच
घ्याच-घ्याच गर्दै
संसार बाँचिरहेछ एक्लै ।

कहिले हुने हो
यो दुनियामा फेरि
सोफिया जस्तै कारुणिक मान्छेहरुको जन्म ?

विचारको खेती

विचार नारयो उसले
तिमी हली न हौ
र त
हलो जोत्यौ विचारको ।

बन्दुक बनायो उसले
तिमी आदेशपालक न हौ
र त
युद्ध छेड्यौ मैमाथि ।

म ढलेको छालामाथि
सदियौं वर्षपछि
उम्रिएको एउटा युगीन विचार
लगभग जोत्नलाई तयार छ
के तिमी हली बन्छौं ?

अस्तित्व

जीवनको दोसाँध नपाएर
यार्सागुम्बा पिरोलिरहेछ सँधै !

सारा पुतलीहरू
झुसिलकीरामा बद्लिए झैँ
आज मान्छेका रूपहरू किन फेरिरहेछ यसरी ?
यहि मान्छेको भीडबाट
एउटा टाकुरामा उभिएर
आफ्नै जीवनको क्यानभास खिच्न

म को हुँ ?

के हुँ ?
आफ्नै असली तस्बिर
बनाइरहेछु यतिबेला ।

तपाईको प्रतिक्रिया