रोशन परियार
आफूले आफूलाई भन्दा ज्यादा प्रेम गरेर वर्षौंसम्म बिताएको सहजीवनको एक प्रिय पात्रलाई आँखाअगाडि लास बनेर तेर्सिएको हृदयविदारक दृश्यलाई बिर्सन सकिएन। “अवसाद” कविता पढेर।
युगौंदेखिको पितृसत्तात्मक संस्कारलाई चुनौती दिँदै आइमाई बस्ने नयाँ घरको परिकल्पनालाई यथार्थ रुप दिन खोज्ने हिम्मतलाई बिर्सन सकिएन। “आइमाई बस्ने घर” कविता पढेर। केहि हरफ यस्ता छ्न-
‘युगौंदेखि आमाहरूको घर थिएन
हजुरआमालाई सानैमा उफ्रने, प्याउलिने
कलिलैमा हजुरबासँग जोडी बाँधिदिए रे
डोलीमा राखेर घर पठाए रे
हजारौं हजुरआमाहरू
बाजेहरूका घर रुँगेर
बाजेहरूका सन्तान स्याहारेर,
मृत्युसँग अँगालो मारे, ‘
रोग लागिसकेपछिको शरीरबाट टाढिएका साथीभाइ , मरिसकेका रहरहरू तथा फाइदा बेफाइदाको तराजुमा जोखिने आफन्तहरूको निरासाजनक व्यवहारलाई बिर्सन सकिएन। “ऐठन हुने सपनाको शहर” कविता पढेर।
सपनाको सहरबाट
एक हुल मानिसहरू
अब फेरि सपना नदेख्ने वाचा गर्दै
आफ्नो माटोको सुगन्ध खोज्दै
फर्किरहेछ, सपनालाई
जहाँ देखेको त्यहीँ छाड्दै
कोरोना कालको भयावह अवस्थामा जिन्दगीले मृत्यु नजिकै देखिरहेको बेला एउटा हितैषी मित्र आफ्नै रेखदेखमा रहँदा रहँदै पनि थाहै नदिइ आफूबाट विदा भइ कहिल्यै नफर्किने गरी गएको दुःखद दस्तावेजलाई बिर्सन सकिएन। “कोरोनाले मर्दिन भन्थ्यौ साथी” कविता पढेर।
जाने बेला गए पनि भनेनौ साथी
तिमी गएपछि
मसँग पनि कोरोना पोजेटिभ छ
तिमीलाई त बचाउन सकिनँ साथी
तर तिम्रो सम्झना बाँचिरहेको छ,
मसँगै गुन्जिरहने छ सधैँ
तिमीले भनिरहन्थ्यौ
“कोरोनाले मर्दिनँ साथी ।”
अनेकौं चोट , पीडा र तिरस्कारहरूको वाणलाई सहन गर्न सक्ने शक्तिलाई आफ्नै नामबाट गरिएको पत्थरको नयाँ नामाकरणलाई बिर्सन सकिएन। “छाल र चट्टान” कविता पढेर।
आफ्नै मदहोसीमा लठ्ठिएर आफूभित्रको उच्च प्रेमभावलाई बताससँगको संसर्गमा मात्तिएको चरम काल्पनिक प्रेमाकांक्षालाई बिर्सन सकिएन। “छिल्लिएका हावा” कविता पढेर।
घरी च्यादर हट्दिन खोज्छ
घरी मैसँग घुस्रिन खोज्छ
क्षणमै चुपचाप
यी छिल्लिने हावाहरू
क्षणमै चकचक
झस्किदै छु !
यो एक्लोपन अनि
एकान्त बासको फाइदा लिन
तम्तयार हुने हावा
कतै तिमी नै त होइन ?
सदियौंदेखि चलिआएको वैवाहिक परम्परालाई नयाँ प्रयोगका साथ दुलाहा भित्र्याउने साहसलाई सम्मानका साथ बिर्सन सकिएन। “तिमीलाई बेहुला बनाइ भित्र्याउने मन छ ” कविता पढेर।
आरिस गर्ने र डाह गर्नेहरूको जमातलाई राम्रोसँग पाठ सिकाउन सक्ने क्षमतालाई पनि बिर्सन सकिएन। “पल्लीको झ्याल” कविता पढेर।
सदैव हेयको जीवन जिउनु पर्ने , सदैव हेला र वेवास्ताको पात्र बन्नुपर्ने , सदैव आफ्नो इच्छा मारेर अरुको इच्छा बचाइ दिनुपर्ने जस्ता वास्तविकतालाई स्वीकारेर भ्रमकै रुपमा भएपनि एकपल नै सही खुशीको अनुभव गर्ने कुरालाई बिर्सन सकिएन। “प्रिय तिमी मातेर आऊ” कविता पढेर।
मौनताभित्र पनि चर्को हल्ला हुन्छ या त मौनता मै पनि जीवनको उत्कृष्ट लय गुन्गुनाउन सकिन्छ भन्ने काव्यिक चेतनालाई बिर्सन सकिएन। “समय र म” कविता पढेर।
समग्रमा जीवनका अनुभूति र सचेतनाका विषयहरू प्रति गहिरो चिन्तनले संग्रहित ‘फर्गेट एस्टर्डे’ कैयौं मुद्दाहरूको उठान पनि हो , आन्दोलन पनि हो। प्रेमको उत्कृष्ट लय पनि हो मेरा लागि।
पुस्तक : फर्गेट एस्टर्डे
विधा : कविता
लेखक : मीना श्रेष्ठ
प्रकाशक: क्रान्ति मिडिया प्रालि , हङकङ
मुल्य : व्यक्तिगत : रु २५०/ संस्थागत : रु ५०९