क्रान्ति सुब्बा, हङकङ ।
हत्यारा आफैंले प्रहरीलाई खबर गरिन
जुन ५ तारीख हङकङको स्थानीय समय बिहान ११.०१ बजे उर रहमान अमिना नामकी एक २९ वर्षीया भारतीय मुलकी महिलाले प्रहरीलाई फोन गरेर आफ्नो पाकिस्तानी पतिले चक्कु प्रहार गरी आफ्ना तीन जना नावालिका छोरीहरुको हत्या गरि भागेको बताइन। ती तीन बालिकाका नाम हुन- वर्ष ५ की जमील आयत उर रहमा, वर्ष ४ की जमील रैना उर रहीमा र वर्ष २ की बीबी आफिया जमील।
ती महिलाले छुराबाट आफू पनि घाइते भएको बताएकी थिइन। उनीहरु शाम शुइ पो, ११५ क्विलिन स्ट्रीटमा रहेको एउटा ८ तले बिल्डिङको पहिलो तल्लामा गत ११ महिना अगाडिबाट बस्दै आएका थिए ।
एउटा बेडरुम र सिटिङ रुम भएको २०० स्क्वायर फिट बराबरको क्षेत्रफल भएको त्यो फ्लाटमा प्रहरीले खानतलासी गर्न थाल्दछ। प्रहरीले बेड रुमको काठको ढोका भित्रबाट लक भएको अवस्थामा फेला पार्दछ। ढोका फोरेर प्रहरी अधिकारीहरु भित्र पस्छ्न। भित्र कोठामा ती २९ वर्षकि महिला शान्त मुद्रामा बसेकी थिइन । उनले हालै कुनै किसिमको संघर्ष गर्नु परेको कुनै संकेत देखिएको थिएन। घटनास्थलमा कुनै हतियार वा लागूपदार्थ पनि फेला परेन।
भित्र तीन जना बालिकाहरु अचेत अवस्थामा ओछ्यानमा भेटिन्छन् । उद्वार टोलीले प्राथमिक उपचारको प्रक्रिया पुरा गरेपछि उनीहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि क्यारिटास मेडिकल सेन्टर लगिएको थियो । दुर्भाग्य अस्पतालमा तिनै जना बालिकाहरूलाई मृत घोषित गरियो।
पाकिस्तानी पति घटनास्थलमा उपस्थित थिएनन् । प्रहरी अधिकारीहरूले उनले अपराध गरेर भागेको आशंका गरेका थिए । प्रहरीको नजरमा उनी अत्यन्तै खतरनाक व्यक्ति साबित भए । त्यसपछि घटनास्थल वरिपरिको एरियालाई प्रहरीले सिल गर्यो । ढाल, असली गोलि भएको हातहतियार सहितको प्रहरी जत्था संदिग्धको खोजी गर्नमा खटियो ।
रिपोर्टका अनुसार अस्पतालमा भर्ना भएका तीनै जना वालिकाको शरीरमा छुरा प्रहारको कुनै घाउ देखिएको थिएन । शंकास्पद व्यक्तिले उनीहरुको घाँटी थिचेर हत्या गरेको हुन सक्ने अधिकारीहरुले आशंका गरेका थिए ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरी अधिकारीहरूले प्रहरीलाई खबर गर्ने महिलाको मानसिक अवस्था ठिक नभएको पत्ता लगायो । उनको पतिले उनीहरूलाई चोट पुर्याएको रिपोर्ट पनि झुठो भएको प्रहरीले पत्ता लगायो र रिपोर्ट गर्नु अघि नै उनको पतिले होईन ऊनी आफैंले तीन छोरीहरूलाई सास थुनेर मारेको आशंका प्रहरीले गरेको थियो ।
प्रहरीकहाँ पहिलो फोन कल पुग्नु भन्दा चार मिनेट अघि अर्थात बिहान १० बजेर ५७ मिनेट जाँदा प्रहरीलाई एक जना अर्को पुरुषले पनि फोन गरेका थिए । उनले आफ्नी दिदीले चक्कु बोकेको हुन सक्ने बताएका थिए ।र दिदि स्वयं र वरिपरिको मान्छेको लागि यो खतराजनक स्थिति हो भनेका थिए। प्रहरीले पछि यो कल पनि ती तीन बालिकाको हत्यासंग संबंधित भएको पत्ता लगायो।
घटना हुनुअघि छिमेकीले यस फ्लाटबाट कुनै आवाज आएको सुनेका थिएनन् । जसको अर्थ त्यतिबेला घटनास्थलमा आमा र तीन जना छोरीहरु बाहेक अरु कोही पनि थिएनन् भन्ने बुझिन्छ ।
सुरुमा यो मुद्दालाई “शारीरिक रूपमा हानि पुऱ्याउने आक्रमण” को रूपमा वर्गीकृत गरिएको थियो तर
पछि यसलाई “कर्तव्य ज्यान मुद्दा ” मा परिवर्तन गरियो । त्यसपछि ती महिलाको मानसिक स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल पठाइयो। र प्रहरी घटनाको विस्तृत अनुसन्धान गर्न तिर लाग्यो । ती महिलाका भाइले प्रहरीमा रिपोर्ट फाइल गरेका थिए ।
मध्याह्न १२ बजेतिर तीन बालिकाका बुबासँग सम्पर्क गर्न प्रहरी सफल भयो । उनी प्रहरीकहाँ ट्रक कुदाएर आएका थिए र अनुसन्धानमा सहयोग गर्न उनलाई घटनास्थलमा लगिएको थियो । घटनास्थलमा लगभग आधा घण्टा बिताएपछि उनलाई अन्यत्र लगिएको थियो। उनको पेशा ट्रक चालक थियो ।
यसैबीच प्रहरी अधिकारी, सामाजिक कार्यकर्ता र अनुवादकको टोलि घटनाको अनुगमन गर्न अस्पताल पुगेका थिए ।
घटनाको कारण
अमिनालाई सोधपुछ गरेपछि प्रहरी अधिकारीहरूले उनीहरुको वैवाहिक जीवनमा खटपट रहेकोे पत्ता लगायो । आफ्नो पति अर्कै केटीसंग लागेको छ भन्ने खबर आफ्नो साथीहरूबाट बारम्बार उनले सुन्दै आएकी थिइन ।
उनको पतिको कुनै परस्त्रीसंग सम्बन्ध गहिरिएपछी अन्ततः उनीहरुको विवाह टुटेको थियो। उनीहरुले सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेर एक वर्ष अघि देखि नै अलग अलग बस्न थालेका थिए । आफ्ना तीन जना छोरीहरुलाइ अमिना आफै हुर्काउन चाहन्थिन । अरुको हातबाट आफ्ना छोरीहरूको हेरचाह भएको सोच्न पनि सक्दिन थिइन। त्यसैले यदि अदालतले तीन छोरीहरु हेर्ने जिम्मा पतिलाई दियो भने त उनको सर्वस्व गुम्ने भयो। सायद यस्तै कुराले मनको बाघले उनलाई खाइरहयो। त्यसैले न रहे बाँस न बजे बाँसुरी भने झैँ उनले सन्तापको मुल जड आफ्ना छोरीहरूको जीवन लीला नै समाप्त गर्ने निर्णय गरिन र यो त्रासदीयुक्त अपराध घटाइन। अनि अपराधको झूटो आरोप पति माथि थोपर्ने प्रयास गरिन। जसले गर्दा अनुसन्धानको दायरामा अधिकारीहरूले उनको पतिलाई पनि ल्याएका थिए ।
अपराध गरेपछि अमिनाले युन लङ जिल्लाको काम तीन भन्ने स्थानमा बस्ने आफ्नी आमालाई फोन गरेर आफूले ‘नानीहरूको हत्या गरेको’ स्विकारेकि थिइन्।
त्यसपछि उनको आमाले बिहान १० बजेर ५७ मिनेट हुँदा आफ्नी छोरीको मानसिक अवस्था बिग्रिएको र हिंसातर्फ उन्मुख भएको आशंका व्यक्त गर्दै प्रहरीलाई फोन गरेकी थिइन् । त्यसबेला विशेषगरी तीन जना बच्चाहरूको सुरक्षाबारे उनी ज्यादै चिन्तित थिइन्।
अघिल्लो रात अर्थात जुन ४ तारीख आइतबार आफ्नी आमा, कान्छा भाइ र तीन छोरीसँग बसेर अमिनाले खाना खाएकि थिइन । त्यसबेला खाना खाइरहेको बेला उनले घरीघरी असामान्य व्यवहार देखाएकी थिइन । उनको बोली र व्यवहारमा एकरुपता थिएन । भुतप्रेत आएको कुरा गरेकी थिइन् ।
तर उनको अनौठो व्यवहार र कुराकानीबाट प्राप्त छनकलाई कसैले वास्ता गरेनन। मानसिक रोग हुनसक्छ भन्ने शंका पनि गरेनन् । अमिनाको भाइले उनलाई र उनका तीन जना भतिजीहरूलाई खाना खाएपछि त्यो रात घर पुर्याइदिएका थिए ।
पारिवारिक शुत्र अनुसार विगत केहि दिनदेखि उनको व्यवहार असामान्य भएको थियो । एक्लै बर्बराउने, कहिले भूत आयो भन्ने गर्थिन । तर उनको मानसिक स्वास्थ्यको लागि यो भन्दा अगाडि डाक्टरलाई देखाएको कुनै रेकर्ड थिएन । यद्यपि उनको मानसिक अवस्था भने ठिक नभएको अनुमान गर्न सकिन्थ्यो । कान्छी छोरी जन्मिएपछि उनि डिप्रेसनमा गएको पनि पारिवारिक शुत्रले बताएको थियो ।
आखिर दुःखद घटना घटेर छाड्यो । घटनाको अनुसन्धानपछि २९ वर्षीया अमिनालाई हत्याको आशंकामा घटना घटेकै दिन दिउँसो ३ बजे पक्राउ गरी टाउकोमा कालो कपडाको मुखुण्डो राखेर लगिएको थियो ।
मृतक नानीहरूसंग आमाको सम्बन्ध
अमिना एक बेरोजगार महिला थिइन् । सरकारबाट प्राप्त सामाजिक सुरक्षा भत्ताको भरमा तीन जना नानीहरू हुर्काउदै गुजारा चलाइरहेकी थिइन् । तीन जना नानीहरू र आमाको सम्बन्ध पनि एकदम राम्रो थियो । ५ वर्षीया बालिका जमिल आयत र ४ वर्षीया बालिका जमिल रैना घर नजिकको नाम च्यङ स्ट्रिटमा रहेको एक किन्डरगार्टनमा पढदै थिए । स्कुल लाने र ल्याउने काम अमिना आफैंले नै गर्थिन। २ वर्षकी बालिका जमिल बिबिले स्कुल सुरु गरेकी थिइनन् ।
भाषाको समस्याका कारण उनीहरु छरछिमेकीसंग खासै हेलमेल हुन सकेका थिएनन् । बच्चाहरू मात्र कहिलेकाहीं छिमेकीका बच्चाहरु सँग खेल्दथे।
काउलुन वेस्ट रिजनल क्राइम युनिटका सुपरिटेन्डेन्ट एलन चुङले घटना भएकै दिन सोमबार अपरान्ह ४ बजे पत्रकारहरूसँग कुरा गर्दै भारतीय नागरिक ती महिला कुनै मानसिक रोगबाट पीडित भएको कुनै प्रमाण नभएको बताएका थिए ।
“प्रारम्भिक अनुसन्धानबाट प्राप्त नतिजा अनुसार तीनै जना बालिकाको आमासँग त्यस्तो खराब सम्बन्ध रहेको पुष्टि भएको छैन।” चुङले भने।
अस्पतालबाट डाक्टरको प्रारम्भिक रिपोर्ट प्राप्त गर्नुभन्दा एक वा दुई घण्टा अघि बिहानै बच्चाहरू मारिएको आफूले बुझेको कुरा चुङले बताए । उनले अगाडि भने : “आमाले नै आज बिहान आफ्ना तीन छोरीहरूलाई आफ्नै हातले घाँटी थिचेर मारेको हुन सक्ने सम्भावनालाई हामी इन्कार गर्न सक्दैनौं ।”
संदिग्धले आफ्नी आमालाई फोन गरेर बच्चाहरूलाई आफैले मारेको स्वीकार गरेकी थिइन । त्यसपछि महिलाका भाइले प्रहरीमा उजुरी दिएका थिए उनले भने।
घटनास्थलबाट प्रमाणका रूपमा रगतले लतपतिएका सिरानीहरु बरामद गरिएको थियोे र बालिकाहरुको नाक र मुखमा रगत जमेको थियोे ।
प्रहरीले बच्चाका बाबुलाई फेला पारेपछि उनीहरु छुट्टाछुट्टै बस्थे भन्ने कुरा पत्ता लगायो – चुङले भने। तर उनीहरू बीच हालै भनाभन भएको कुनै प्रमाण फेला नपरेको र उनीहरू “धेरै समय अघिदेखि” एकापसको सम्पर्कमा नरहेको उनले स्पष्ट पारे ।
पति/पत्नि बीच कुनै भावनात्मक विवादमा थियोे वा थिएन भन्ने बारे प्रहरीले अनुसन्धान गर्ने बताएको थियो ।
त्यसो त समाज कल्याण विभाग (वेल्फेयर डिपार्टमेन्ट ) संग परिवारको सम्पर्क थियो पहिला। तर उनीहरुको फाइल गत वर्षको अन्त्यमा बन्द भैसकेको पनि चुङले बताए। ” घरेलु हिंसा संबंधी यो एउटा गम्भीर घटना हो, जसमा तीन जना निर्दोष वालिकाले ज्यान गुमाएका छन्। प्रहरी बलले सबै किसिमका घरेलु हिंसा, विशेष गरी मानव जीवन र गम्भीर चोटपटकसंग जोडिएको केसलाई ठूलो महत्त्वका साथ हेर्दछ” चुङले भने।
प्रहरी ऊनी समक्ष पुग्दा उनको शारीरिक तथा मानसिक हाउभाउ सामान्य र स्थिर थियो । तिनले हेर्न लायकको कुनै त्यस्तो दृश्य सिर्जना गरेकी थिइनन। ऊनीसंग घटना हुनुभन्दा अघि कुनै मनोरोगको उपचार गरेको रेकर्ड थिएन। र परिवारमा यो भन्दा पहिले कुनै पनि किसिमको घरेलु हिंसा संबंधी घटना घटेको कुनै रेकर्ड नभएको चुङले स्पष्ट पारे।
स्मरणीय छ हङकङमा १७ दिन भित्र भएको तीन वटा हत्या कान्ड मध्ये यो तेस्रो थियो । युन लङमा सौतेनी आमालाई चेन स (विद्युतीय आरा)ले सौतेनी छोराले काटेर मारेका थिए । डायमन्ड हिलको प्लाजा हलिउडमा एक लेस्बियन दम्पतीलाइ एउटा अज्ञात पुरुषले चुप्पीले हानेर मारेका थिए ।
अस्पतालको दृश्य
अस्पताल पुगेपछि मृतक नानीहरूकी काकी भावुक भएकी थिइन । उनले अनुसन्धानकर्ताहरूको आपत्तिलाई समेत बेवास्ता गर्दै मिडिया सामु खडा भएर बालिकाहरुका आमाबाबु लगभग एक वर्ष पहिले अलग भैसकेको रहस्य खोलिदिइन । र हालमा नानीहरूको हेरचाहको जिम्मा अदालतले कसलाई सुम्पन्छ भन्ने कुराको पर्खाइमा थिए उनीहरु। उनले यस्तो जघन्य अपराध घटाउने आत्मघाती भाउजूप्रति आक्रोश पनि प्रकट गरेकी थिइन् ।
हङकङका एक मुख्य इमाम मोहम्मद अरशदले ती महिलाका पतिले घटनाहुनुभन्दा केही महिनाअघि आफूसँग सम्पर्क गरी आफ्नो वैवाहिक जीवन बचाउन सहयोग मागेको बताएका थिए ।
अरशदका अनुसार हाल आफ्नी आमासंग बस्दै आएका उनको पतिले आफ्नी श्रीमती अब आफूसँग बस्न नचाहेको र विवाहेत्तर सम्बन्धका कारण आफ्ना छोराछोरीलाई भेट्न नदिएको गुनासो गरेका थिए ।
समाज कल्याण विभाग (सोसल वेल्फेयर डिपार्टमेन्ट ) का एक प्रवक्ताले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती महिला र उनका तीन छोरीको केसलाई गैरसरकारी संस्थाको पारिवारिक केस हेर्ने विभागले हेरिरहेको बताएका थिए ।
हङकङमा अल्पसंख्यक जातिको पिडा
हङकङ मुलतः एउटै जातिको बाहुल्यता रहेको समाज हो। यहाँका लगभग ९१.६% मानिसहरू चिनियाँ मुलका छ्न। उनीहरु हान जातीय समुहका चिनियाँ हुन। सन् २०२१ को जनगणना अनुसार हङकङमा करिब ६ लाख १९ हजार ५ सय ६८ जना गैरचिनियाँ जातिहरु बसोबास गर्छन् । यो संख्या भनेको कुल जनसंख्याको ८.४ प्रतिशत हो । गैर-चिनियाँ समूहका सबै सदस्यहरू हङकङमा स्थायी रूपमा बसोबास गर्दैनन्।
सन् २०२१ को जनगणनाको तथ्यांक अनुसार हङकङमा अल्पसंख्यक जातिको जनसंख्याको आँकडा यस प्रकार छ।
.इन्डोनेसियन – १,४२,०६५
.फिलिपिनो – २,०१,२९१
.ह्वाइट (गोरा)- ६१,५८२
.इन्डियन – ४२,५६९
.पाकिस्तानी – २४,३८५
.नेपाली – २९ ,७०१
.जापानी – १०,२९१
.थाई – १२,९७२
.अन्य एशियाली – २४,५८८
.अन्य – ७०,१२४
हङकङका अल्पसंख्यक जातिले भोग्नुपरेको एउटा मुल समस्या भनेको भाषिक कठिनाइ हो। हुन त हङकङ सरकारले अल्पसंख्यक जातिको हकहित र उत्थानका लागि यथाशक्य आवश्यकिय कार्यक्रम ल्याउन पछि परेको छैन । तथापि सरकारको प्रयास पर्याप्त नभएको प्रतिक्रिया अल्पसंख्यकको हकहितका लागि आवाज उठाउने संस्थाहरुले उठाउने गरेका छ्न। त्यसमाथि अझ शाम शोइ पोमा भएको नरसंहारले पुन एकपटक हङकङका अल्पसंख्यक तिर सबैको ध्यानाकर्षण भएको छ।
हङकङ युनिसनका महासचिव जोन चे विङ–लिङका अनुसार हङकङमा अल्पसंख्यक जातिका परिवारहरूले अनेकौं समस्याहरुसंग सामना गर्नु परिरहेछ। एउटा मुल समस्या हो आर्थिक कठिनाइ जसको प्रत्यक्ष प्रभाव उनीहरूको मानसिक र मनोवैज्ञानिक स्वास्थ्यमा पर्ने गर्दछ। हङकङमा यी परिवारहरूको लागि पर्याप्त मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध छैन । उपलब्ध भएता पनि भाषिक र सांस्कृतिक भिन्नताका कारण यस्ता सेवाहरूको पहुँचमा पुग्न अल्पसंख्यकलाई हम्मे पर्छ । फलस्वरूप उनीहरूको समस्याहरूलाई आफू एक्लैले सामना गर्नुपर्ने स्थिति छ।
महामारीको समयमा पनि अल्पसंख्यक जातिका परिवारहरूले शारीरिक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरूबाट गुज्रनु परेको थियो । चेले यी मध्ये धेरै परिवारहरू पहिलेदेखि नै आर्थिक रूपमा संघर्ष गरिरहेको उल्लेख गर्दै महामारीको समयमा गरिएको एक सर्वेक्षणले अल्पसंख्यक जातिका परिवारका आधा उत्तरदाताहरूले बेरोजगारीको सामना गर्नुपरेको बताएका थिए ।
कुचुक्क परेको साँगुरो घरमा मानसिक तनाव झेल्दै आफ्नो बालबच्चालाई विशेषगरी आमाहरुले हुर्काउनु पर्ने समस्या कतिपय परिवारले सामना गर्नुपरेको छ।
“एउटा सानो कोठामा परिवारको भिमकाय बोझ थामेर बाँच्नु परेको अवस्थामा हामीले कसरी उनीहरुको मानसिक स्वास्थ्य राम्रो हुने आशा गर्न सक्छौं?” चेले भने । वास्तवमा समयको अन्तरालसंगै दिमागमा जमेको एकमुष्ट दबाबले भावनात्मक रूपमा टुट्ने स्थिति पैदा गर्दछ। फलस्वरूप मानसिक स्वास्थ्य संबंधी अनेकौं समस्याहरू निम्तिने अवस्था आउने गर्दछ।
हङकङमा मानसिक स्वास्थ्य सेवाहरू पहिल्यैबाट सीमित रहेको तथ्य अभिव्यक्त गर्दै चेले भने – भाषिक अवरोधका कारण अल्पसंख्यक जातिहरु त्यो सिमित सुबिधा उपभोग गर्नबाट बन्चित रहनु परेको छ । सबैभन्दा दुखलाग्दो कुरा के छ भने अल्पसंख्यक जातिको परिवार कै लागि भनेर विशेष तरिकाले डिजाइन गरिएका मानसिक स्वास्थ्य सेवाहरू हङकङमा उपलब्ध छैन भन्दा पनि हुन्छ। त्यसैले धेरै जसो त्यो समुदायका सदस्यहरु आफ्नै सिमित समुदायभित्र खुम्चिएर बस्नु परेको छ। परम्परागत मुल्य मान्यता बोकेर हिडेको परिवारमा बिशेष गरि महिलाहरुलाई संमानजनक तरिकाले बाँच्न संघर्ष गर्नुपर्ने हुन्छ। समाजले हेर्ने संकुचित दृष्टिकोणका कारण महिलाहरूले आफ्नो समस्याहरु खुलेर राख्न सक्दैनन् । साच्चिकै समस्या आइपरे पनि मदत माग्न हिचकिचाउँछन्। फेरि सहयोगको तड्कारो आवश्यकता रहेको बेला समेत उपलब्ध स्रोतसाधनसम्म पहुँच पुग्ने सम्भावना न्यून रहेको स्थिति छ।
क्वेलिन स्ट्रिटमा घटेको त्रासदीपुर्ण घटनाले अल्पसंख्यक जातिका परिवारहरूको लागि अविलम्ब राम्रो मानसिक स्वास्थ्य सेवा र उचित सहायता प्रदान गर्नु पर्दछ भन्ने सन्देश प्रवाह गरेको छ। जसको लागि संबंधित स्वास्थ्य सेवाको मार्गमा तगारो भएर बसेका भाषिक अवरोध र सांस्कृतिक भिन्नता जस्ता समस्याहरूलाई सम्बोधन गर्नुपर्ने देखिन्छ । यसका अलावा मानसिक स्वास्थ्य संबंधी आइपर्ने समस्याबारे सुसूचित गराउने अभियान चलाउन आवश्यक छ। आर्थिक कठिनाइ, साँघुरो आवासमा बस्नुपर्ने बाध्यता, साना नानीहरूलाई हुर्काउनु पर्ने उत्तरदायित्व जस्ता थुप्रै समस्याहरु सामना गर्नु परिरहेका अल्पसंख्यक जातिका परिवारलाई यावत समस्यासंग जुध्न आवश्यक शिक्षा साथै स्रोतसाधन उपलब्ध गराउन उत्तिकै महत्त्वपूर्ण भएको कुरा उनले उठाए।
हङकङ सरकारले यस्ता मुद्दालाई अविलम्ब सम्बोधन गर्नुपर्ने विचार हङकङका विद्वत बर्गले पनि राखेका छन । जातीय अल्पसंख्यक समुहका परिवारहरूलाई राम्रो मानसिक स्वास्थ्य सेवा र आवश्यक सरसहयोग गर्न यथोचित कदम चाल्नु पर्छ भन्ने कुरामा उनीहरुको जोड रहेको छ।
तथ्याङ्क अनुसार हङकङमा अल्पसंख्यक जातिहरूको संख्या पछिल्लो दशकमा ७०% ले बढेको छ। तर हङकङमा संचालित २४ वटा सामुदायिक मानसिक स्वास्थ्य केन्द्रहरूमा यस समुदायबाट सेवा लिनेको संख्या केवल १% भन्दा कम रहेकोे देखिन्छ । यस मानेमा यी अल्पसंख्यक समुहका परिवारमा व्याप्त मनोरोगको ठुलो हिस्सा ओझेल मै बसेको प्रतित हुन्छ ।
प्रबुद्ध वर्गले सरकारलाई अल्पसङ्ख्यक जातीय समुहको वास्तविक समस्या बुझ्नको लागि सोही समुदायका व्यक्तिहरूलाई स्वयंसेवकको रूपमा नियुक्त गर्न आग्रह गरेका छन्।
यस घटनाले घरेलु हिंसा सम्बन्धि गम्भीर विषयलाई पनि उठान गरेको छ। प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र जोखिममा पर्न सक्ने साथीभाइ वा परिवारका सदस्यहरूको हेरचाह गर्न र यस्ता विपत्तिहरू हुन नदिन सामुदायिक सतर्कताको भावना विकास गर्न र समयमै व्यावसायिक सहयोग लिने कुराको सुनिश्चित गर्न आग्रह गरेको थियो ।
६ जुन
बालिकाहरुका बुबा र काकीसहित अन्य नातेदार र साथीभाइ जुन ६ तारीख बिहान ९ः१० बजे क्वाई चुङ सार्वजनिक शवगृहमा शव पहिचान गर्न पुगेका थिए । बिहान १०:२० बजे चुपचाप निस्कनुअघि उनीहरू त्यहाँ करिब एक घण्टा बसेका थिए ।
कान्छी छोरी जन्मिएपछि ती महिलामा भावनात्मक अस्थिरता आएको र वैवाहिक जीवन तिक्त हुदै गएको हुनसक्ने बुझिएको थियो । फलस्वरूप पति संग छुट्टीएर बस्ने दिन आएको थियोे ।
प्रहरीले घेराबन्दीमा राखेको क्वेलिन स्ट्रीटको त्यो खण्ड जुन ६ तारीख दिउँसो २ बजे तिर मात्र खुला गरेको थियो । फ्ल्याटको ढोका पनि खुला गरिएको थियो।नानीहरूको स्कूल ब्याग र जुत्ता अपार्टमेन्टभित्र अझै पनि लडिरहेको देखिन्थ्यो।
एक जना छिमेकीको भनाइ अनुसार तिनि एक असल र विनम्र महिला थिइन् । छोरीहरूसँग पनि उनको सम्बन्ध राम्रो थियो ।
अमिना हरेक दिन बिहान ११ बजे आफ्ना तीन जना नानीहरूलाई लिएर घरबाट निस्कने गर्थिन। उनका नानीहरू धेरै आकर्षक र प्यारा भएको पनि ती छिमेकीले बताए ।
अमिनालाई च्यङ शा वान प्रहरी चौकीबाट प्रहरी अधिकारीहरूले जुन ६ तारीख दिउँसो क्यारिटास मेडिकल सेन्टरमा लगेका थिए र थप उपचारका लागि उनलाई साँझ ७ बजेतिर क्यासल पीक अस्पतालमा स्थानान्तरण गरिएको थियो।
जुन ७
यो मुद्दा जुन ७ तारिख बिहान काउलुन सिटी म्याजिस्ट्रेटको अदालतमा पेश गरिएको थियो। रिपोर्टका अनुसार अमिनालाई उपचारको लागि क्यासल पीक अस्पतालमा लगिएका कारण उनी त्यो दिन अदालतमा उपस्थित भएकी थिइनन्।
न्यायाधीशले अभियोजन पक्षको अनुरोधलाई सुनेर १२ जुनसम्मका लागि मुद्दालाई स्थगन गरे । यस अवधिमा हत्याको तीन वटा आरोपको सामना गरिरहेकी प्रतिवादी उर रहमान अमिना प्रहरी हिरासतमा रहने निर्णय सुनाइएको थियोे । यदि प्रतिवादीको स्वास्थ्य अवस्था सामान्य भयो भने तोकिएको मितिमा बयानको लागि अदालतमा उनलाई उपस्थित गराइनेछ भनिएको थियो ।
१२ जुन
घटनापछि अमिनालाइ क्यासल पीक अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनको अवस्थामा सुधार आएपछि उनलाई शुक्रबार , जुन १२ तारीखका दिन काउलुन सिटी म्याजिस्ट्रेट्स कोर्टमा ल्याइएको थियो।
सुनुवाइको क्रममा न्यायाधीशले अभियोजनपक्षको अनुरोधलाई मध्यनजर गर्दै जुन २६ तारीख सम्मको लागि पुनः मुद्दा स्थगन गरेका थिए । त्यसबेला सम्ममा
प्रतिवादीको दुई वटा मनोरोग रिपोर्टहरू आइसक्ने भएको थियोे र सो अबधिसम्म प्रतिवादीलाई उपचारको लागि सिउ लाम मनोरोग केन्द्र मै राखिने भएको थियो ।
जुन २६
तिन वटा हत्याको अभियोग लागेको अमिनालाई जुन २६ तारीख काउलून सिटी म्याजिस्ट्रेट्स कोर्टमा दाखिल गरिएको थियो । मानसिक रूपमा बयानको लागि प्रतिवादी फिट भएको ठहर दुई जना मनोचिकित्सकको जाँचले गरेको आधारमा उनलाई अदालत समक्ष ल्याइएको थियोे ।
अभियोजन पक्षले अनुसन्धानलाई पुरा गर्न मुद्दाको सुनवाइ सार्न अनुरोध गरेको थियो । सीसीटीभी फुटेज,अटोप्सी रिपोर्ट, र साक्षीहरूको बयान लिनको लागि अरु थप समय मागिएको थियो ।
प्रतिवादी पक्षले मुद्दा स्थगनको अनुरोध प्रति कुनै आपत्ती जनाएन। र जमानतको लागि पनि आवेदन दिएनन। न्यायाधीशले अभियोजन पक्षको अनुरोधलाई स्वीकार गरि सेप्टेम्बर ४ सम्मका लागि मुद्दा स्थगन गरेको थियो । त्यसबेलासम्म प्रतिवादीलाई हिरासतमा नै राखिनेछ भनिएको थियोे ।