स्याङजामा जन्मेर काठमाडौँलाई कर्म थलो बनाएकी रजनी ढकाल कविता, निबन्ध र गीत लेखनमा परिचित नाम हो । उनको दृष्टिचेत समालोचना विधामा अझ प्रखर छ । सिर्जना र समालोचना गरी उनका एक दर्जन बढी कृतिहरू प्रकाशित छन् । नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकको रुपमा कार्यरत ढकालले अढाइ दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएकी छिन। उनले त्रिविबाट ‘गोविन्द गोठालेका कथामा मनोविश्लेषण’ शीर्षकमा नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेकी हुन् । प्रज्ञा सभाकी सदस्य उनी पछिल्लो समयमा साहित्यमा नारी, जनजाति, दलित र सीमान्तीकृत वर्गको पक्षमा लेखिएका साहित्यको अध्ययनमा केन्द्रित छिन । प्रस्तुत छ साताको तीन कविता ।

जीवन गीत

गुनगुनाउँदै जीवन गीत
आफ्नै समयको धूनसँग
सङ्गीतबद्ध छन्
लयहीन आरोपका आवाजहरू !

बरफ जमेको शिशिरको समयजस्तो
चिसो मनलाई पगालेर
तृप्ति लिने सान्निध्यको तृष्णाले
पटक पटक भौँतारिए पनि
बारम्बार रोपिएका बाणलाई
उखेल्दै फाल्दै गरेको आहतस्मृतिले
उक्काउँछन् खाटा परेका
दीर्घ चोटहरू

असारे आलीमा बज्रेको कोदालीको प्रहारजस्तो
आरोपको महायात्राले
खन्दाखन्दै कुँदेको जीवनको लय
अति सुमधुर लागिरहेछ
आफैमा बजेको आत्मविश्‍वासी धून

बानी लागेको छ
पीडामा लगाउने मलमजस्तै
भोगाइको जीवन्त यात्रामा यी आरोपहरूको

र त
बनिरहेछन्
अर्थपूर्ण गाथाहरू
नभए यी कथाहरू
नभए यी अर्घेल्याइँहरू
नभए यी अनन्त भुक्तमानहरू
कसरी कोरिदिनु मैले
आगामी पिँढीलाई
आफ्नो अस्तित्वको महाचित्र ?

आज हिँड्दा हिँड्दै
तिनै डोबहरू खोजेर
सापटी माग्दै जूनको किरण
खोजीखोजी रोपिदिनु छ
ती आरोपी सङ्गीन हृदयहरूमा
र सँगाल्नु छ
तिनबाट खसेको मुलायम शीत
अनि
पखाल्नु छ जडताले जरो गाडेको
यो समाजको अहमलाई !

तिम्री आमा

एकाबिहानै
च्यातिएको स्वाभिमान बोकेर
आउँछन् खबरका सग्ला पानाहरू
आमा हुँ
छोरी हुँ
पत्नी पनि हुँ
पुरुष स्पर्श बिनै
बलात्कृत हुन्छु
रगतपक्ष मेरो मनको
एक चोइटो स्वाभिमान फेरि खस्छ ।

पुरुष मनको गतिलो साँध लागेका
धारिला समाचारहरू
चटाचट ढाल्छन् मेरा आत्मगौरवका मसिना हाँगाहरू
र, सबको आँखाअघि रमिते बनाएर छरिन्छु
छटपटिन्छु, मुर्मुरिन्छु
विद्रोहको तातो वाफ फुस्फुसाउँछु –
खबर लेख्‍नेहरू
झुट टेलिफोन टेप बनाउँदैछन् निर्दोष आमाघरबाट
नारीका इज्जतहरू धुजा धुजा पार्न
अनि बजारमा हटकेक जस्तै बिक्री गर्न
रातारात बनाउँछन् खबरका सनसनीपूर्ण हेडलाइनहरू
मानौँ महिलाहरू, मात्र महिलाहरू
खबर हुन्
बेचिने पत्रिकाका लागि
उफ् !
स्वाभिमानले उठेकी नारीको कथा सुन्न र लेख्न नसक्ने समाज !

सानो छोरो
छोटा छोटा शब्द गुँथेर
अर्थका सपना बुन्न थालेको छ
आँखाभरि औत्सुक्य बोकेर
काखमा थुपुक्क बसेर सोध्छ
आमा यो के लेखेको ?
म शब्दहीन हुन्छु
पटक्कै मन हुन्न आफ्नै झुकेको शिरको अर्थ बुझाउने ।

अर्को दिन पनि अखबारका पानाहरू
लुटिएको अस्मिता बोकेर आउँछन्
फेरि उसै गरी प्रश्‍न गर्छ छोरो
कनिकुथी अक्षरहरू जोडेर
नारी अस्मिताको हरणको अर्थ सोध्छ ऊ
फेरि फुट्छ मेरो एक ढिस्को आत्मगौरव

यो सानो छोरालाई हुर्काउन्जेल
यसले बुझ्ने बनुन्जेल
यस्ता खबरहरू नलेखिन
अर्को सङ्घर्षको बाटो थालेकी छु
म उसका भर्खर भर्खर कलम चलाउन थालेका
कलिला हातहरू सुम्सुम्याउँदै बोल्छु
ऊ कथा झैँ सुनिरहन्छ

मेरो प्यारो छोरा
तिमी पुरुष भएर उठेपछि
लेख्न सक्ने भएपछि
नदोहोरिएलान् यी अपराधी खबरहरू
अब तिम्री आमा गिरि बनेर उठेकी छ
कहिल्यै नझुक्ने उचाइको
एउटा पहाड हो ऊ
उसले सुरु गरिसकेकी छ
यो करागारबाट मुक्त हुने निर्बन्ध सपना
जीवनका थायमरू सिँढीहरू टेक्दै
ऊ पार्वती मात्रै हैन पर्वत हुन उठेकी छ

सुनौला तिमीले कुनै दिन
शाब्दातीत शान्तनुका यो समाजका कथाहरू
त्यस दिन तिमी जंगल जंगल भौँतारिँदै
भर्भराउँदो गुराँस बनेकी
आमालाई भेट्न आउनू
त्यतिबेला तिमीसँग यी कुरूप खबरहरू
केही रहने छैनन्
तिम्री आमा अब वानीरा भएकी छ ।

पाइलाहरू

टेकेर यही माटोमा
सुरु गरेको हुँ
जीवन धरतीको महायात्रा
अभावबाट भावतिर लैजान
आफै सुरु गरेको हुँ
अनन्त खोज

अन्त्यहीन चिथोराइसँग
नथकाई कहिल्यै आफूलाई
सिकेको हुँ जुझ्न र जुझिरहन
र त बनेको हो
मेरा कर्मशील पाइलाले
यो चेतन महाबस्ती

लखेटिरहने समयलाई
पाखा लगाएर
चिर्दै चुनौतीको धार
खोजिरहेको हुँ
आफ्ना उत्कृष्ट संभावनाहरूलाई

सिकेर पाठ
सबैलाई न्याय दिने धरतीसँग
आफूलाई पनि ओडाएको हुँ
मानवीयताको सुकिलो वस्त्र

आज आफैले बसाएको बस्तीलाई
साक्षी राखेर
चुपचाप सुरु गरेको छु
अर्को महायात्रा

भाइरसको सन्त्रास
प्रलयको पर्खाइमा
मुख बाएर उर्लिरहेछ
तर पनि
छोडेको छैन
आफ्नो धर्म
र त हिँडिरहेछु !

बन्दी बन्न दिएर बस्तीलाई
नगरी विरोध कसैसँग
मात्र सम्झिरहेछु
हृदयभित्र हरपल अङ्कुराउने
जीवनको संभावना
खोज्दै छु म
यो समयको ओखती
यिनै पाइलाहरूसँग

सायद बनाउन
अर्को बस्ती
प्रकृति र मान्छेको समधारमा
ध्यानस्थ छु यात्रामा
र त चुपचाप छु आफैसँग
जीवनरक्षाको खोज
यी मनका पाइलाहरूसँग
फेरि सुरु गरेको छु यात्रा !

तपाईको प्रतिक्रिया