नेपाल केवल टेलिभिजन महासंघमा निर्देशकको रुपमा कार्यरत साहित्यकार राधेश्याम लेकालीको जन्म इलामको मालापथमा २०१५ सालमा भएको हो । उहाँको साहित्यका विभिन्न विधामा सिर्जना र सम्पादन गरेर तीन दर्जन भन्दा बढी कृति प्रकाशित भइसकेको छ । देशको विभिन्न साहित्यिक संस्थाहरुको निर्णायक तहमा भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँका लेखनीले समाजमा रहेका विभिन्न समस्याहरुलाई उजागर गर्नुको साथै सामाजिक न्याय , प्रेम र सद्भावको निम्ति अपिल गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता :

सत्ता सहमति

झरेर सहमति गरेछ
अब साँढे भइ धाक दिन थाल्नेछ
बुनेको होला सपना
अब हैकम चलाउन सक्नेछ ।

बुझेन उसले तल झरेर
कहिले पनि ठूलो भइदैन
थुकेको थुक चाटेर
कहिले पनि प्रतिष्ठा पाइदैन ।

एकपटक स्वाभिमान गिरे पछि
शिर उठाउन सकिदैन
तलुवा चाटेर चाकरी बजाउदैमा
सोचेकै पाइन्छ भन्न सकिदैन ।

हैसियतै भएन भने
पद नै पाएर पनि सम्हाल्न सकिदैन
अरुको बुई चढेर
शिखर चुम्नेलाई कदापि बहादुर भनिदैन ।

उड्नलाई आफ्नै पखेटा चाहिन्छ
यो कुरा गाठी बाँध्नु
अगि बढ्नलाई पनि
आफ्नै दम चाहिन्छ यो सत्य बुझिराख्नु ।

पहाडहरू जलिरहेछन्

अटल विश्वास ढृढताका साथ
शिर ठाडो पारेर
उभिएका शान्त पहाडहरू
यति बेला
ज्वालमुखी बनेर
शून्य हृदयले
धमिला आकृतिहरूमा
घृणा, आक्रोस र वेदना पोखिरहेछन्
हो, यति बेला
खरानी, आँशु र टाटा रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।

सूर्यको न्यानो अँगालेर
सुमधुर हावाको मीठो अनुभूतिमा
बादलुसँग लुकामारी खेल्ने
प्रकृतिको अनुपम सुन्दरताले
सुन्दर देखिने पहाडहरू
आज धुँवाको मुश्लो,
हुरी र बतासले
कुरूप बनेका छन्
हो, यति बेला
खरानी, आशुँ र टाटा र रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।

गुराँस र लालुपाते सिउरेर
धान, फापर, र तोरीको लह–लहमा
सधैँ रमाउने पहाडहरू
विकृति र विसङ्गतिहरू समेटर
निर्मल आकाशमा
बाजहरू उडाइरहेछन्
घिनलाग्दो विनाशमा
बाँसुरीको नमिठो धुन
अलापिरहेछन्
यति बेला
जङ्गल गन्हाएर
स–साना नानीहरू
सास फेर्न नसकी निसासिएर
करूणा झारिरहेका छन्
चराहरूले बँसाई सरिरहेछन्
हो, यति बेला
खरानी, आँशु र टाटा रगतमा
अनुवादित भई पहाडहरू जलिरहेछन् ।

पहाडमा झरनाहरूबाट
रगत झरिरहेकाछन्
पहाडका सुन्दरताहरू
यति बेला
विरूप देखिएका छन्
पहाडमा शान्ति होइन
कोलाहल मच्चिएको छ
पहाडका सुन्दर गीतहरू
नारा र आक्रोस भएका छन्
पहाडको न्यानोपन र आत्मियता
चिसो व्यवहार र घृणा भएका छन्
खेतहरू बाँझै छन्
गाई बस्तुहरू भोकै छन्
चट्याङ जस्ता चर्को आवाजहरूमा
नानीहरू निदाउन सकिरहेका छैनन्
कस्ता चिसा मनहरूको प्रवेश भयो
स्वच्छ , निर्मल र शान्त पहाडहरूमा !

यति बेला पहाडहरू
आक्रोसमा चिच्याइरहेछन्
हो, यति बेला
खरानी, आँशु र टाटा रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।

म्यानमार आगो ओकल्दैछ

आज म्यानमारमा
निरंकुशताले नग्न नृत्य गरेको छ
आज म्यानमारमा
सेनाको क्रुरताले पराकाष्टा नाघेको छ
हो आज
म्यानमारी सेनाले
दमनको फणा उठाएको छ ।

हो,
प्रजातन्त्रका लागि सेनाको हैकमका विरुद्ध
न्यायप्रेमी जनता
ज्वालामुखी भएर उठेका छन
म्यानमारी क्रुर सेनाको दमनका विरुद्ध
शान्तिकामी जनता
मुस्लो भएर उठेका छन
हो यतिबेला
म्यानमार आगो ओकल्दैछ
म्यानमार न्याय खोज्दैछ ।

म्यानमारी सेनाको अत्याचारले
मानवीय मूल्य र मान्यताको
घोर अपमान गरेको छ
म्यानमारी सेनाको ज्यादतीले
मानवता कहालीलाग्दो बनाएको छ
अपराधी शैलीमा नागरिक अपहरण गरेर
हत्या गरिएको छ ।

अबोध बालकहरु
स्कुल जान सकिरहेका छैनन्
नत उनीहरुले
मनग्यै खेल्न पाएका छन
घरमा आमाहरु
शान्तिसित बस्न पाएका छैनन्
नत उनीहरु
ढुक्कले निदाउन सकेका छन
बुबाहरु
निर्वाध काममा जान पाएका छैनन्
नत उनीहरु
शान्तिसित रमाउन सकेका छन ।

यतिबेला सेनाको प्रकोपले
म्यानमारमा बुद्ध हारेको छ
यतिबेला सेनाको दमनले
विश्व लज्जित बनेको छ ।

हो यतिबेला
मुस्कुराइरेका अबोध बालकहरुलाई
गोली हानिएको छ
आमा र दिदीबहिनीलाई
अपमान गर्दै लाजमर्दो व्यवहार गरिएको छ
जनताको टाउको छानी छानी
गोली दागिएको छ ।

यतिबेला
गैह्रकानुनी तवरमा स्वतन्त्रताको आवाज
गैह्रकानुनी तवरमा प्रजातन्त्रको आवाज
गैह्रकानुनी तवरमा मानवताको आवाज
सबै सबै निस्तेज गरिएको छ
आज म्यानमार रोएको छ
आज म्यानमार आक्रोसित छ
आज म्यानमार आगो ओकल्दैछ ।

सत्ता स्वार्थको खेलले
निम्त्याएको यो अवस्थाका विरुद्ध
अब
सबै न्यायप्रेमी जनता
एक हुनै पर्छ
सबै मानवताप्रेमी जनता
गोलबन्द हुनै पर्छ ।

तपाईको प्रतिक्रिया