राजा पुनियानी कवि, लेखक, गीतकार, अनुवादक, सम्पादक र कलाकार हुन् ।सुकना, दार्जीलिङवासी उनी नेपाली, अंग्रेजी, हिन्दी र बंगालीमा लेख्छन् । पञ्जाबी बुबा र नेपाली आमाबाट जन्मेका – उनले आफ्नो मातृभाषा नेपालीमा लेख्न खोजे । उनले पहिलो कविता ‘आमा’ सन् १९८४ मा चार कक्षामा पढ्दा लेखेका थिए । उनको नेपाली कविताको शृङ्खला `अर्को लश्कर´ ( द अदर काराभान ) २०१३ मा मानवी पब्लिकेशन्स, कालिम्पोङबाट प्रकाशित भएको थियो। उनको दोस्रो पुस्तक तङसिङ, नेपाली इको – कविताको सङ्ग्रह, सम्बोधन प्रकाशन, सिलगढीबाट मार्च, २०२२ मा प्रकाशित भएको थियो। वर्तमानमा उनी सुरेन्द्र ईन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, सिलगुढीमा सहायक प्रोफेसरका रूपमा कार्यरत छ्न भने प्रकाशन संस्था बुक-एन्टका निर्देशक पनि हुन। आफ्ना कवितामा निर्धक्क देखिने उनका कविताहरुले बिद्रोह , परिवर्तन र मानवताको निम्ति वकालत गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

अक्षर

जसरी नाङ्गिन्छ रूख
एक दिन
जब उसको अन्तिम पात पनि झरेर जान्छ

जसरी हराउँछ
हातको हातमै हेर्दा हेर्दै
पानी, पसीना र पैसा

जसरी कहिल्यै ननिभ्ला जस्तो लाग्ने घाम पनि
एक दिन
खरानी बन्छ
ब्ल्याक होल बन्नलाई

त्यसरी नै क्षर नहुने अक्षरले पनि
एक दिन
क्षर भएर जानु छ

जति दिन अक्षरले अक्षर भइरहनु हो
त्यतिञ्जेल अक्षरले
अक्षरसँग गाँसिएर बनाइदिन्छ
शब्दहरू

शब्दहरूले
लहरै लहर जोड़िदिन्छन्
वाक्यहरू

वाक्यहरूले
खापै खाप बोकिदिन्छन्
अर्थहरू

कता हराउँछ हँ !
अक्षरको अर्थ चैं
अर्थहरूको अनकन्टार वनमा ?

मान्दै मान्दैन सोध्न
सबाल्टर्न अक्षर

ऐनामा हेर्दा रामसाइँली

आफ्नै ऐनामा
आफ्नै अनुहार
नदेखिहेको
समय हो यो

उसलाई लाज पनि लाग्दैन
उसले आत्महत्या गर्ने आँट पनि गर्दैन

पानी होइन ऊ तेल खान्छ
टेक्नोलोजी फुल्यो उसले थिचेको धर्तीमा
विकासको हत्केलामा उसले भाषाको वीर्य चुहायो

ऊ जन्मिएकै दिन
जन्मिएको थियो
हिसाबकिताबको मायाप्रेम

ऊसँगसँगै हुर्केको थियो
नापतौलको शिक्षा
तोलमोलको लड़ाइँ
लेनदेनको त्याग
घम्साघम्सीको बस्ती

उसले बाँच्न त जानेन जानेन
मर्न पनि सकेन
अब ऊ के गर्छ हँ
ए रामसाइँली?

सडक-लाइभ

उइले उइले मान्छे बोक्थ्यो सड़कले
अचेल बजार बोक्छ

उइले पसीना सोस्थ्यो
अचेल रगत चुस्छ।

सड़कले राजनीति गर्छ झण्डा बोक्छ नारा हाँक्छ
सड़कमा गाड़ी हाँकिन्न
कारखाना खुल्छ अब सड़कै-सड़क।

सड़कले मान्छेको इतिहास बोक्थ्यो
अब विज्ञापन बोक्छ।

एक दिन सड़कले जङ्गल खायो
त्यसपछि बस्ती, गाउँ र शहर खायो।

सड़कले मान्छेको खुट्टा त खायो खायो
एक दिन गिदी पनि माग्यो।
र आज सड़कले टायर खाने दिन हो यो
जब समस्त चक्काहरू वनवास गएका छन्
र हर्नहरू गुफा पसेका छन्।
सड़क मातेको दिन
सड़कमा गहिरो कुवा खनिन्छ
सड़कको टाउको घुमेको दिन
सड़कमा जताततै खाड़ल खनिन्छ
सड़कलाई उल्टी आएको दिन
सड़कको नाममा चिहान खनिन्छ।

तपाईको प्रतिक्रिया